आगामी वर्ष हुन गइरहेको नेपाल र अस्ट्रेलिया बिचको दोस्रो खेलका लागी नेपाली खेलाडीहरू बिहीबारको खेललाई हेरेर रणनीति बनाउने नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक युहान कलिनले बताएका छन्।
अक्टोबर १० बिहीबारका दिनको नेपाल र अस्ट्रेलिया बिचको खेलमा ५-० को हार बेहोरेको नेपालले यस खेलबाट धेरै कुरा सिकेको बताउँदै नेपाली टोलीका प्रमुख प्रशिक्षक युहान कलिनले आगामी खेलमा यही अनुभवका आधारमा खेल योजना बनाउने बताएका हुन्।
मार्च ३१, २०२० हुन गइरहेको विश्व कप र एसियाली कप फुटबल प्रतियोगिता अन्तर्गतको छनौट खेलको दोस्रो खेलका लागी घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ।
खेल पश्चात् भएको पत्रकार सम्मेलनमा अस्ट्रेलिया विरुद्धको आगामी खेल रणनीति कस्तो हुन्छ भन्ने प्रश्नमा उनले ठट्टाको शैलीमा भने, "राम्रो खेल रणनीति बनाए पनि सम्भवतः यहाँ भन्न हुँदैन होला।"

उक्त खेलमा नेपालले क्रसहरूमा सुधार गर्ने र आफू भन्दा धेरै नै अग्ला खेलाडीहरूलाई कसरी सामना गर्नुपर्छ भनेर पनि हेरिने उनले बताएका छन्
बिहीबारको खेलमा निकै अग्ला डिफेन्डरका कारण नेपाललाई गाह्रो भएको पत्रकार सम्मेलनका क्रममा कलिनले बताए।
अस्ट्रेलियाली प्रशिक्षक ग्राहम आर्नोल्डले नेपाली खेलाडीहरूको प्रदर्शनबाट आफू प्रभावित भएको बताएका छन्।
२० मिनेटको हाराहारीमा ३ गोल खाइसक्दा पनि अन्तिम समय सम्म उही जोसका साथ खेलेको भन्दै नेपाली खेलाडीहरूको उनले प्रशंसा गरेका छन्।
"खेल अन्त्यको सिठ्ठी बज्दा सम्म उनीहरूले समान रफ्तारमा आफ्नो राष्ट्रका लागी खेले।"
नेपाली खेलाडीहरूको उच्च मनोबलको प्रशंसा गर्दै उनले उनीहरू प्रति नेपालीहरूले गर्व गर्नु पर्ने बताए।

ग्राहमले बिहीबारको खेलमा नेपाली प्रशिक्षकले खेलाडीहरूको स्थानान्तरण अत्यन्त राम्रोसँग गरेको बताएका छन्।
त्यस्तै युहानले भने आगामी खेलमा खाली स्थानमा खेलाडीहरू कसरी राख्ने भन्नेमा अझ बढी ध्यान दिइने बताए।
आगामी वर्ष नेपालको घरेलु मैदानमा हुने खेलमा मौसम र समय अन्तरले अस्ट्रेलियाली टोलीलाई कत्तिको असर पार्ला भन्ने प्रश्नमा ग्राहमले युरोपबाट अस्ट्रेलिया भन्दा नेपाल आधा दुरीमा भएकाले त्यो झन् राम्रो हुने बिचार राखे।

अधिकांश अस्ट्रेलियाली खेलाडीहरू युरोपबाट खेलका लागी अस्ट्रेलिया आएका थिए।
खेल हुनुभन्दा दुई दिन अगाडी मात्र उनीहरू अस्ट्रेलिया आइपुगेको भए पनि यात्राको थकानका बाबजुद पनि खेलाडीहरूको प्रदर्शन सन्तोष जनक रहेको उनको भनाइ थियो।
राजधानी क्यानबेराको जीआईओ रङ्गशालामा भएको बिहीबारको खेलमा खराब सुरुवात गरेको भए पनि दोस्रो हाफ पछि नेपालको खेल राम्रो रहेको खेल प्रेमी दर्शकहरूको भनाइ थियो।
खेल पूर्व नेपाली टोलीका कप्तान किरण चेम्जोङ्गले पनि नेपालीहरूको मन जित्नु नै आफ्नो प्रमुख उद्देश्य रहने बताएका थिए।
नेपालले यस अघि कुवेत सँग ७-० को हार बेहोरेको थियो भने चाइनिज ताइपे सँगको खेलमा २-० को जित हासिल गरेको थियो।
७ गोल खाएको कुवेत र अस्ट्रेलिया सँगको खेललाई तुलना गर्दा कुवेतसँगको हार निकै दुखद रहेको युहान कलिनले बताएका छन्।
उनका अनुसार कुवेतमा नेपाली टोलीबाट गल्तीहरू भएको तर अस्ट्रेलियाको हकमा नेपालले राम्रो खेल प्रदर्शन गर्दा गर्दै पनि प्रतिस्पर्धी टिम आफूहरू भन्दा धेरै राम्रो भएका कारण पराजित भएको हो।

उनले भने, "यो स्विकार्नु पर्छ कि कहिले काहीँ प्रतिस्पर्धी टिम आफू भन्दा बलियो हुन्छ।"
नेपाली प्रशिक्षक कलिनले पहिलो ६ मिनेट भित्रै गोल खाएको नेपालले २३ मिनेट भित्र ३ गोल खाइसक्दा आफूहरू हतोत्साहित भएको बताएका छन्।
तर उनले खेल अवधिभर नै खेलाडीहरूले भरपुर मेहनत गरेको बताए।
"अस्ट्रेलिया अत्यन्त कडा प्रतिस्पर्धी हो, चाइनिज ताइपे र कुवेत भन्दा एक स्तर माथिको टिमसँग खेल्नु हाम्रो लागी राम्रो अनुभव पनि हो।"
बिहीबार राती भएको खेलमा रङ्गशालामा उपस्थित कुल १८,५६३ दर्शक मध्ये ठुलो सङ्ख्या नेपाल समर्थकहरूको रहेको थियो।

युहानले स्थानीय नेपाली समुदायको समर्थन शान दार रहेको पनि बताएका छन्।
उनले भने, "हामी सिड्नी आए देखि नै नेपाली समुदायको समर्थन अत्यन्त राम्रो थियो।"
नेपालसँगको यो खेलमा जीत हात परेको अस्ट्रेलियाले आफ्नो समूहमा पहिलो ओगट्न सफल भएको छ। उसको अर्को खेल चाइनिज टाइपे विरुद्ध कावोशिउङ्गमा १५ अक्टोबरका दिन हुने कार्यक्रम छ।





