मुख्य विषयहरू:
- एलर्जीको समस्या भएका व्यक्तिहरूलाई फाइजर बायोएनटेक खोप बारे चेतावनी
- अमेरिका, क्यानडा, इजरायल लगायत अन्य मुलुकहरूमा कोभिड-१९ भ्याक्सिनको तयारी जारी
- सबै कोभिड-१९ सङ्क्रमितको शवलाई आगोमा अन्त्येष्टि गर्ने श्रीलङ्काको नियम प्रति आपत्ति प्रकट
ब्रिटेनमा फाइजर-बायो एन टेकको कोभिड-१९ खोप प्रयोगको पहिलो दिनमा नै दुई व्यक्तिहरूमा खोपले नकारात्मक असर गरे पछि, एलर्जीको समस्या रहेका मानिसहरूलाई उक्त खोप नदिइने त्यहाँको औषधी नियामक निकायले बताएको छ।
गत मङ्गलवार देखी ब्रिटेनले हजारौँको सङ्ख्यामा वृद्ध वृद्धा तथा अग्र मोर्चामा रहेका स्वास्थ्य कर्मीहरूलाई खोप लगाउन सुरु गरेको थियो। तर, युकेको राष्ट्रिय स्वास्थ्य सेवा एनएचएसका दुई कर्मचारीहरूमा खोपको प्रयोग पछि एन्एफील्याकटोइड (anaphylactoid) नामक एलर्जी देखा परे पछि उक्त चेतावनी जारी गरिएको हो।

ती दुई व्यक्तिहरूलाई विगतमा पनि एलर्जीका समस्या रहेको अस्ट्रेलियाका उप प्रधान मन्त्री माइकल म्याककोर्म्याकले बताए।
उता संयुक्त राज्य अमेरिकामा अमेरिकी खाद्य तथा औषधी प्रशासन अर्थात् एफडिएबाट स्वीकृति प्राप्त भए पछि यस हप्ताको अन्त्यसम्म फाइजरको कोभिड-१९ भ्याक्सिन आइपुग्ने न्यु योर्कका गभर्नर एन्ड्रयू कुवोमोले बताएका छन्।
खोप वितरणका लागि नर्सिङ होमका कर्मचारी र निवासी, तथा उच्च जोखिममा रहेका अस्पताल कर्मचारीहरूलाई प्राथमिकता दिइने उनले बताए।
एफडिएले फाइजर-बायो एन टेक भ्याक्सिन प्रयोगका लागि सुरक्षित र प्रभावकारी रहेको भनी एक रिपोर्ट सार्वजनिक गरेको छ। र आज बाहिर सल्लाहकारहरूको एक प्यानलले उक्त रिपोर्टको समीक्षा गरी खोप आपत्कालीन प्रयोगका लागि उचित छ कि छैन भन्ने बारे सल्लाह गर्ने छन्।
उक्त समीक्षाको फैसला शुक्रबार या शनिबारसम्म आइसक्ने र आउँदो आइतबार या सोमबार खोप प्रयोग गर्न थालिने अनुमान गरिएको छ।
यसै बीच, युएसको लगभग आधा जन सङ्ख्या मात्र खोप लगाउन सहमत रहेको एक नयाँ सर्वेक्षणले बताएको छ। हालसम्म अमेरिकामा कोभिड-१९ सङ्क्रमितको सङ्ख्या एक करोड ५३ लाख पुगेको छ, र दुई लाख ८७ हजार जनाले सङ्क्रमणका कारण ज्यान गुमाएका छन्।

युके र बाहरेन पछि क्यानडाले फाइजर खोप प्रयोगका लागि स्विकृती दिएको छ।क्यानडाको स्वास्थ्य नियामक निकायले लिएको फैसला पछि अब खोप वितरणको तयारी जारी छ।
उता साउथ कोरिया, साउथ अफ्रिका र नर्थ अमेरिकामा भने कोरोना भाइरस संक्रमणको दर तीव्र रूपले बढिरहेको देखिन्छ।
त्यस्तै, इजरायलका विदेश मन्त्री गाबी अश्कनाजीले स्वास्थ्य कर्मचारी तथा उच्च जोखिममा रहेका मानिसहरू पछि प्यालेस्टिनीहरुका
कोभिड-१९ खोप उपलब्ध गरिने बताएका छन्। सर्वसाधारणहरूका लागि डिसेम्बरको २७ तारिख देखि खोप उपलब्ध हुने प्रधान मन्त्री बेन्जामिन नेतानयाहुको भनाइ छ।

अहिले सम्म इजरायलमा कोभिड-१९ का कारण तीन लाख चालिस हजार जना सङ्क्रमित रहेको र २,९३२ जनाको मृत्यु भएको इजरायली स्वास्थ्य मन्त्रालयले जनाएको छन्।
यसै बीच, सहायता संस्था अक्सफ्यामले आर्थिक रूपमा बलिया देशहरूले सन् २०२१ को अन्त्यसम्म आफ्नो जनसङ्ख्यालाई पुग्ने भन्दा दुई गुना बढी खोपहरूको बन्दोबस्त गरिसकेको, र यसका कारण थुप्रै गरिब क्षेत्रमा मानिसहरू मारमा पर्ने गुनासो गरेको छ।
अक्सफ्याम र अन्य सङ्घ संस्था हरूले सरकार र औषधी कम्पनीहरूलाई खोपको वितरण सबै ठाउँ समान रूपमा भएको सुनिश्चित गर्न उपयुक्त कदम चाल्न आग्रह गरेका छन्। औषधी कम्पनीहरूले प्रायः सर्वसाधारण हितलाई भन्दा आफ्नो फाइदालाई प्राथमिकता दिने अक्सफ्यामकी स्वास्थ्य नीति प्रबन्धक एना मेरियोटले बताइन्।
उता श्रीलङ्काले कोरोना भाइरसका कारण ज्यान गुमाएका १९ मुसलमान व्यक्तिहरूको शवलाई इस्लाम धर्मको विपरीत अन्त्येष्टि गर्ने बताएको छ।
श्रीलङ्कामा गत अक्टोबर देखि कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आठ गुना बढेर २९,३०० पुगेको छ, १४२ जनाले आफ्नो ज्यान गुमाएका छन्।
मुसलमान धर्म अनुसार मृत शरीरलाई आगोमा अन्त्येष्टि गर्न निषेधित भए तापनि, गत बुधवार पाँच जना मुसलमानहरूको त्यसरी अन्त्येष्टि गरिएको थियो। यस घटना पछि मुसलमान समुदाय र नागरिक समाज समूहहरूले श्रीलङ्काको अन्त्येष्टि नीति विरुद्ध सर्वोच्च अदालतमा १२ वटा मुद्दा दायर गरेका थिए।
यो पनि पढ्नुहोस्:

कोरोना अपडेट: विश्वमा प्रत्येक दिन १० हजारको मृत्यु
तर अदालतले ती याचिकाहरू अस्वीकार गरी, अस्वीकार गर्नुको कारण भने खुलाएको छैन। यस तरिकाबाट आफ्नो अन्तिम संस्कार होला कि भन्ने डरले अब मानिसहरूले आफ्नो सङ्क्रमण लुकाएर राख्न सक्ने एक सामुदायिक प्रवक्ताले बताए।
केही उच्च दर्जाका बौद्ध भिक्षुहरूले मृत सङ्क्रमितको शवले जमिनको पानीमा सङ्क्रमण फैलाउन सक्ने बताए पछि गत अप्रिल देखि श्रीलङ्काले आगोमा अन्त्येष्टि गर्ने नीति ल्याएको थियो।
विश्वभर ६ करोड ८७ लाख भन्दा बढी कोभिड-१९ सङ्क्रमित रहेका छन् र १५ लाख भन्दा धेरैले आफ्नो ज्यान गुमाई सकेका छन्।
यो पनि पढ्नुहोस्:

अस्ट्रेलियामा कोभिड–१९: थाहा पाउनै पर्ने जानकारी नेपाली भाषामा
आफ्नो भाषामा कोरोना भाइरस बारे पछिल्ला जानकारी र स्वास्थ्य एवं सहायता सेवाहरूको बारेमा जान्न sbs.com.au/coronavirus मा जानुहोस्।






