अस्ट्रेलियाको तथ्याङ्क विभागले सार्वजनिक गरेको पछिल्लो जनगणना रिपोर्ट अनुसार अस्ट्रेलियामा बस्ने नेपालीहरूको जनसङ्ख्या पाँच वर्षको अवधिमा दोब्बर भएको छ।
यसको मतलब सन् २०१६ देखि सन् २०२१ को १० अगस्टका दिनसम्म थप ६७,७५२ नेपालीहरू अस्ट्रेलियामा बसोबास गरिरहेको देखिएको छ।
यसो त कोभिड–१९ महामारी अघि बर्सेनि उल्लेख्य सङ्ख्यामा नेपाली बिद्यार्थीहरुको आगमन हुने गरेकोमा कोरोनाभाइरस सङ्क्रमणलाई कम गर्न अस्ट्रेलियाली सरकारले करिब दुई वर्ष बोर्डर बन्द गरेपछि भने अस्ट्रेलियामा नयाँ आउने विद्यार्थीको सङ्ख्या शून्य जस्तै बनेको थियो।
सन् २०२१ को डिसेम्बरबाट खोप लगाएका विद्यार्थीहरुलाई प्रवेश दिएसँगै नेपालबाट आउने विद्यार्थीको सङ्ख्या झनै बढेको छ।
सिड्नी र मेलवर्न जस्ता ठुला सहरमा मात्र नभएर अन्य राज्यहरूमा पनि नेपालीहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि देखिन थालेको छ।
क्यानबेरा र टास्मेनियामा नेपाली भाषीहरूको बसोबास बढेसँगै अङ्ग्रेजी पछि बढी बोलिने भाषामा नेपाली दोस्रो नम्बरमा परेको छ।
टास्मेनियामा नेपालीहरूको सङ्गठन नेपाली सोसाइटी अफ टास्मेनियाका अध्यक्ष खगेन्द्र सत्याल नेपालीहरूको जनसङ्ख्या वृद्धिले उत्साहित भएको बताउँछन्।

उनका अनुसार होबार्टमा मात्रै १० हजार मानिस छन् जसले नेपाली भाषा बोल्छन्।
“होबार्टमा मात्र होइन, लन्चेस्टन, डेभोनपोर्ट, बुर्ने, स्ट्यान्ली र स्ट्रानमा उत्तिकै नेपालीहरू छन्,” सत्यालले भने।
अस्ट्रेलियामा कामका कारण राम्रो छवि बनाएका नेपालीले आफ्ना भावी सन्तानलाई ल्याउन ल्याउनलाई बाटो खोलिदिएको उनको भनाइ छ।
“विद्यार्थी भिसामा आएर परर्मानेन्ट रेसिडेन्ससम्मको यात्रा लामो हुने भएकाले पनि जनसङ्ख्या धेरै भएको हुन सक्छ,” उनले भने।
“सन् २०१६/१७ पछाडि अस्ट्रेलिया आउने विद्यार्थीहरुको सङ्ख्या आश्चर्यजनक रूपमा बढी रहेको छ।”
न्युजिल्यान्ड र चीनलाई भारतले उछिन्यो
यता भारतले पनि न्युजिल्यान्ड र चीनलाई उछिन्दै अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरूको जनसङ्ख्याका हिसाबले तेस्रो नम्बरमा परेको छ।
अस्ट्रेलिया र बेलायत पछाडि, भारत जनसङ्ख्याका हिसाबले तेस्रो नम्बरमा परेको हो।
पाँच बर्षे अवधिमा २१७,९६३ भारतीयहरू अस्ट्रेलियामा थपिएका छन्।
जनगणना नतिजा अनुसार हाल ६७३,३५२ भारतीय मूलका मानिस अस्ट्रेलियामा बसोबास गरिरहेका छन्।
भारतीय समाजका अभियन्ता एवम् टर्बन्स-फोर नामक संस्थाका अध्यक्ष अमर सिंह भारतीय मूलका मानिसहरू अस्ट्रेलियामा बढ्दै जाँदा यसले सकारात्मक प्रभाव पारेको बताउँछन्।
“पहिले पहिले गहुँगोरो मान्छे देख्दा पनि भारतीयलाई देखे जस्तो लाग्थ्यो अहिले अवस्था परिवर्तन भएको छ, यसले अस्ट्रेलियालाई आर्थिक रूपमा पनि योगदान दिएको छ,” सिंहले भने।
यसो त बहु भाषी अस्ट्रेलियालीहरुको सङ्ख्या पनि उल्लेख्य रूपमा वृद्धि भएको जनगणनाले देखाएको छ।
देशभर करिब ५५ लाख मानीसहरूले घरमा अङ्ग्रेजी बाहेकको भाषा बोल्ने बताएका छन्।
सन् २०१६ को जनगणना भन्दा यो करिब ८ लाखले बढी हो।
अङ्ग्रेजी पछि सबैभन्दा बढी बोलिने भाषा म्यान्डरीन रहेको पनि तथ्याङ्कले देखाएको छ।

अस्ट्रेलियाले सांस्कृतिक रूपमा विविध राष्ट्रको प्रतिबिम्बलाई झनै बलियो बनाउँदै लगेको छ।
पछिल्लो जनगणनाले विगत दुई दशकमा अस्ट्रेलियाले आफ्नो विविधतालाई कसरी बढाउँदै लगेको छ भन्ने कुराको उदाहरण पेस गरेको तथ्याङ्क विभागले जनाएको छ।
अस्ट्रेलियाको कुल जनसङ्ख्या २५,४२२,७८८ मध्ये करिब ४८ प्रतिशत मानिसका अभिभावक विदेशमा जन्मिएका छन् भने २७.६ प्रतिशत अस्ट्रेलियाली जनसङ्ख्या स्वयं विदेशमा जन्मिएका छन्।
यसै गरी एबोरजिनल एवम् टोरेस आइल्याण्डरहरुको सङ्ख्या ३.२ प्रतिशत पुगेको जनगणनाले देखाएको छ।
यद्यपि बढ्दै गएको बहु सास्कृतिक पुष्ठभुमी माझ भर्खर आएका मानिसहरूलाई आवश्यक पर्ने सहयोग सेवामा पनि निरन्तर वृद्धि गदै लगिनु पर्ने आवश्यकता पनि औँल्याइएको छ।
यो पनि पढ्नुहोस्

अस्ट्रेलियाको बदलिँदो मुहार: सन् २०२१ को जनगणना नतिजा




