बैतडीमा एक जना किशोरीको शव भेटिएपछि बलात्कार र हत्याको आशङ्का गरिएको छ। उक्त घटना पछि स्थानीयवासी लगायत थुप्रै समूहले यस विरुद्ध प्रदर्शन गरिरहेका छन्।
फेब्रुअरी ३ मा १७ बर्सिया भागरथी भट्टको शव बैतडीको बनलेक सामुदायिक वनमा भेटिएको थियो।
दोगडाकेदार गाउँपालिकाको चढेपानीकी १२ कक्षाकी विद्यार्थी भट्ट विद्यालयबाट घर फर्कँदै थिइन्।
उनको शवमा थुप्रै ठाउँमा चोट लागेको, रगत बगिरहेको, र लुगा च्यातिएको जस्ता कारणले उनको बलात्कार गरिएको आशङ्का गरिएको छ भने पोष्टमोर्टमले घाँटी थिचिएका कारण उनको मृत्यु भएको देखाएको छ।
भट्टको मृत्युले उनको गाउँ शोकाकुल भएको छ भने झन्डै ३ वर्ष अघि भएको निर्मला पन्तको बलात्कार र हत्याको घटना सम्झाइदिएर देशलाई नै आन्दोलित बनाएको छ।
पन्तको घटनामा पनि विद्यार्थी किशोरीको निर्मम हत्या गरिएको र शव बेवारिसे अवस्थामा फ्याँकिएको भेटिएको थियो, र लामो समयपछि पनि हत्यारा पत्ता लागेको छैन।
एक हप्ता बितिसक्दा पनि भट्टको हत्यारा पत्ता नलाग्दा पन्तको घटनासँग दाँज्दै डिआइजी उत्तम सुवेदी सञ्चारकर्मी रवि लामिछानेसँग भन्छन्,
"निर्मला पन्तको केसमा भएका कमी कमजोरीहरू, चाहे समाजको तर्फबाट होस्, प्रहरीको तर्फबाट होस्, राजनीतिक पार्टीको तर्फबाट होस्, सञ्चार माध्यमबाट होस्, सबैतिरबाट केही न केही कमी कमजोरी जुन भएका छन्, त्यो कमी कमजोरी हुनु हुँदैन भनेर पहिलो दिनदेखि हामी लागेका थियौँ।"
नेपालमा वर्षेनी करिब २००० बलात्कारका घटना प्रहरीमा दर्ता गरिन्छन् र ती मध्ये धेरैजसो पीडित नाबालक वा किशोरी देखिन्छन्।
पन्तको घटनापछि मात्रै ३००० भन्दा बढी बलात्कारका घटना दर्ता भइसकेका छन्।
धेरैजसो घटनामा चिनिराखेकै मान्छे अपराधी देखिन्छन्। पछिल्लो समयमा नेपालमा बलात्कारका घटनाका बारेमा सार्वजनिक वृत्तमा चिन्ता, बहस र प्रदर्शन बढ्दै गएका छन्।
यसको प्रतिक्रियामा गत नोभेम्बर महिनामा बलात्कार सम्बन्धी कानुनहरू संशोधन गर्दै एउटा अध्यादेश जारी गरिएको थियो, जसमा बलात्कारीको सजाय बढाइएको छ।
त्यति हुँदाहुँदै पनि बलात्कारका घटना घटेका छैनन्, र बलात्कारका घटनामा अपराधी नभेटिने र सजाय नदिइने क्रम पनि कायम छ, जसका कारणले प्रहरीमाथि सर्वसाधारणको विश्वास घटेको देखिन्छ।
भट्टका आफन्तले घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई गिरफ्तार र कारबाही गर्न माग गर्दै भट्टको शव बुझ्न मानेका छैनन्।
सँगसँगै देशभर नै विभिन्न अधिकारकर्मी समूह, विद्यार्थी समूह, र राजनीतिक पार्टीहरूले यस घटनाको विरोध गर्दै न्यायको माग गरिरहेका छन्।
बृहत् नागरिक आन्दोलनले पनि यसको विरोधमा शुक्रवार सिंहदरबारमा महिला मार्च पास गर्ने बताएको छ।





