हट्यो टिकटक प्रतिबन्ध
नेपाल सरकारले टिकटकलाई लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको हो।
प्रतिबन्ध हटाउनका लागि सरकारले केही सर्तहरू राखेको सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले बताएका छन्।
''उसको सम्पर्क कार्यालय वा व्यक्ति नेपालमानै तोक्नु पर्ने, सामाजिक सद्भाव बिथोल्ने खालका सामाग्रीबारे नेपालले अनुरोध गर्ने बित्तिकै हटाउने संयन्त्र बनाउनु पर्ने लगायतका सर्त राखिएको छ,'' मन्त्री गुरुङले भने।
''हामीले भाषा फिल्टर गर्ने बारे पनि कुरा गरेका छौँ। फिल्टर गर्ने भनेको के कस्तो भाषा प्रयोग भएको छ त्यो हेर्ने भन्ने हो। पहिला जे भाषा प्रयोग भएका कारणले प्रतिबन्ध भएको थियो त्यस्तो भाषा फिल्टर गर्ने भनेका छौँ। ''
गत वर्ष नोभेम्बर महिनाको दोस्रो साता सरकारले 'सामाजिक सद्भाव र वातावरणमा खलल पुर्याउन भूमिका खेलेको' भन्दै टिकटक माथि प्रतिबन्ध लगाएको थियो।
यद्यपि भीपीएनको सहयोगमा प्रयोगकर्ताहरूले टिकटिक चलाउँदै आएका थिए।
टिकटक प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय विरुद्ध सर्वोच्चमा एक दर्जनभन्दा बढी रिट दायर भएका थिए।
भारतीय पर्यटक बोकेको बस दुर्घटना
भारतीय पर्यटक यात्रु सवार बस मर्स्याङ्दी किनारमा खस्दा २७ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। बसमा ४३ जना यात्रु रहेको बताइएको छ।
अधिकारीहरूका अनुसार भारतबाट पर्यटक बोकेर आएको बस तनहुँको आँबुखैरेनी गाउँपालिका-२ स्थित ऐनापहरामा दुर्घटना भएको हो।
भारतको गोरखपुर हुँदै उनीहरू नेपाल घुम्न आएका थिए, जस अन्तर्गत उनीहरू सुरुमा लुम्बिनी पुगेका र त्यहाँबाट पोखरा हुँदै पशुपतिनाथको दर्शन गर्न काठमाण्डू तर्फ जाँदै थिए।
घाइतेको अवस्थाबारे बुझ्न गृहमन्त्री रमेश लेखक अस्पताल पुगेका थिए।
अस्पताल बाट फर्कने क्रममा सञ्चार कर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले भने,
नेपाल प्रहरी लगायतले दुर्घटनामा परेकाको उद्धार निकै छिटो र राम्रोसँग गरे। भारतीय मन्त्रीहरूसँग कुरा हुँदा पनि उहाँहरूले यसबारे प्रशंसा गर्नु भएको छ। यति हुँदाहुँदै पनि केही दुखद मृत्यु भए अहिले घाइतेहरूको उपचार राम्रोसँग भइरहेको छ।रमेश लेखक, गृहमन्त्री
दुर्घटना पश्चात् भारत सरकारको युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खडसे घाइतेहरूलाई भेट्न आएको बताइएको छ।
भारत भ्रमण सकेर फर्किन परराष्ट्र मन्त्री
चार दिने भारत भ्रमण सकेर परराष्ट्र मन्त्री आरजु राणा देउवा आइतबार नेपाल फर्किएकी छन्। उनको भ्रमणले दुई देशबिचको सम्बन्धलाई थप उचाइमा लैजान सहयोग गर्ने उनले बताएकी छन्।
भारत भ्रमण सकेर आइतबार नेपाल फर्केकी उनले त्रिभुवन विमानस्थलमा सञ्चार कर्मीहरूसँग कुराकानी गर्दै यस्तो प्रतिक्रिया दिएकी हुन्।
भारत भ्रमणको क्रममा हवाई रुट र जलविद्युत लगायतका महत्त्वपूर्ण विषयमा छलफल भएको उनले बताइन्।
''डुबान, हवाईरुट, कनेक्टिभिटी, जलविद्युत लगायतका विषयमा हामीले छलफल गर्यौँ। यी विषयमा काम अघि बढाउन दुई देशका संयन्त्रहरुले काम गर्ने कुरा भएको छ।"
प्रधानमन्त्री केपी शर्मा ओलीले उनका भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणका लागि पठाएको निम्ता आफूले दिएको उनले सञ्चार कर्मीहरूलाई बताइन्।
भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री एस जयशंकर लगायतसँग भेटवार्ता गरेकी थिइन्।
भारतीय विदेश मन्त्री जयशंकरको निमन्त्रणामा उनी सो भ्रमणमा गएकी थिइन्।
वर्षाले बढ्यो नदीहरूमा पानीको मात्रा

केही दिन यता परेको वर्षाका कारण देशमा रहेका नदीहरूमा पानीको मात्रा बढेकाले अधिकारीहरूले बताएका छन्।
यस अन्तर्गत बागमती-मनोहरा दोभान सम्मको तटीय क्षेत्रमा सावधानी अपनाउन जल तथा मौसम विभागले सोमबार आग्रह गरेको छ।
यस्तै बुढीगण्डकी, दरौंदी, मेलम्ची लगायत नदीमा जल सतह बढ्न सक्ने भएकाले सावधानी अपनाउन बताइको छ।
नेपाल साफ-यू २० फाइनलमा
पेनाल्टी सुटआउट मार्फत भुटानलाई पराजित गर्दै नेपाल साफ-यू २० च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।
घरेलु मैदानमा आइतबार भएको सेमिफाइनल खेलमा नेपालले भुटानलाई पेनाल्टी सुटआउटमा ४-१ले पराजित गरेको हो।
निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएको थियो।

नेपालको जितमा गोलरक्षक जियरात सेखले महत्त्वपूर्ण भूमिका खेले। उनले भुटानका दुई पेनाल्टी बचाएका थिए।
खेलपछि सञ्चार कर्मीहरूसँग कुरा गर्दै उनले भने, ''हामीले एक हप्ता पेनाल्टी सुटआउटबारे अभ्यास गरेका थियौँ त्यसले धेरै मदत गर्यौ।''
नेपालका प्रशिक्षक उर्जेन श्रेष्ठले पहिलो हाफमा नेपाली खेलाडी बढी आत्मविश्वासका साथ खेलेकोले गोल गर्न नसकेको प्रतिक्रिया दिए। यस्तै उनले भुटानले निकै राम्रो प्रदर्शन गरेको बताए।
''भुटानले निकै राम्रो खेल्यो। पहिलो हाफको कुरा गर्दा हाम्रा खेलाडीले अलि ओभर कन्फिडेन्ट भएर खेलेको हो कि जस्तो लाग्यो। त्यही भएर गोल गर्न गाह्रो भएको थियो।''
बुधवार हुने फाइनल खेलमा नेपालले बङ्गलादेशको सामना गर्ने छ।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।








