एसबीएस नेपाली साप्ताहिक नेपाल अपडेट: बाढी पहिरोमा मृत्यु भएका परिवारलाई दुई लाख दिइने

ramesh lekhak.jpg

Home Minister of Nepal Ramesh Lekhak.

हालै गएको बाढी र पहिरोमा परि मृत्यु भएका परिवारलाई क्षतिपूर्ति स्वरूप दुई लाख उपलब्ध गराउने गृहमन्त्री रमेश लेखकले बताएका छन्। यो लगायत नेपालको साप्ताहिक अपडेट सुन्नुहोस्।


सरकारले विपद् प्रभावितलाई अस्थायी आवास बनाउन रकम दिने

हालै गएको प्राकृतिक विपद्को पूर्व तयारी र उद्धार सन्तोषजनक रूपमा गर्न नसकेको भन्दै चौतर्फी आलोचना भइरहेको समयमा सरकारले विपद् प्रभावितहरूको पहिचान भएको तीन दिन भित्र अस्थायी आवास बनाउन रकम उपलब्ध गराउने जनाएको छ।

विपद् प्रभावितहरूको पहिचान गरी तत्काल नाम उपलब्ध गराउन स्थानीय तहलाई आग्रह गर्दै शनिवार गृहमन्त्री रमेश लेखकले भने, ''म सबै स्थानीय तहलाई के आग्रह गर्न चाहन्छु भने चाँडोभन्दा चाँडो लाभग्राही पहिचान गरेर पठाइदियो भने पहिचान भएर आएको तीन दिनभित्र अस्थायी आवास बनाउन रकम उपलब्ध गराउन सक्छौँ।''

यस्तै उनले सरकारले विपद्मा परि मृत्यु भएका परिवारलाई सरकारले राहत उपलब्ध गराउने निर्णय गरेको जानकारी दिँदै भने, ''हामीले मृतकका परिवारलाई दुई लाख रुपैयाँ राहत दिने घोषणा गरेका छौँ र सम्बन्धित जिल्लाहरूमा पैसा पठाइसकेका छौँ।''

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपद्को पूर्वानुमान हुँदा समेत सरकारले तयारी थाल्न नसकेको भन्दै आलोचना गरेका छन्।

मौसमविद्हरूले पूर्वानुमान गरिसकेका थिए तर पनि सरकारले तयारी राम्रो गर्न सकेन र दुई सय भन्दा बढी होनहारको ज्यान गयो।
पुष्पकमल दाहाल, अध्यक्ष नेकपा माओवादी

यसैबिच प्रधानमन्त्री केपी शर्मा ओलीले भने विपद्को समयमा आफ्ना मन्त्रीहरूले गरेको कामको बचाउ गरेका छन्।

अविरल वर्षापछि नख्खु खोलामा टहरामाथि बसेका चार जनालाई खोलाले बगाउँदा बचाउन नसकेको गृहमन्त्रीले बताएका थिए। तर बगाएका मध्ये तीन जनाको उद्धार भएको विवरण आएको थियो।

प्रारम्भिक रिर्पोटको आधारमा गृहमन्त्रीले सूचना प्रवाह गर्दा सामान्य त्रुटि भएको बताए।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिले १४ जिल्लाका विभिन्न स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सरकारलाई सिफारिस गरेको छ।

राउत प्रधानन्यायाधीश नियुक्त

प्रकाशमान सिंह राउत सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्त भएका छन्।

उनी संसदीय सुनुवाइ समितिबाट बुधवार सर्वसम्मतले अनुमोदित भएका थिए।

यस्तै राष्ट्रपति रामचन्द्र पौडेलले राउतलाई राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गरे।

सोही दिन शितल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति पौडेलले राउतलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए। प्रधानन्यायाधीशको रूपमा उनको कार्यकाल २०८२ चैतसम्म रहने छ।

लेखक अस्ट्रेलियाका लागि राजदूत

बुधवार बसेको संसदीय सुनुवाइ समितिले चित्र लेखा यादवलाई अस्ट्रेलियाको राजदूतमा अनुमोदन गरेको छ।

Chitra lekha Yadav.png
The Nepali Congress has recommended Chitra Lekha Yadav as Nepal’s ambassador to Australia. Credit: Facebook/Chitra Lekha Yadav

नेपाली काँग्रेसकी नेतृ यादवले यसअघि शिक्षामन्त्री र उपसभामुख लगायका भूमिका निर्वाह गरिसकेकी छन्।

खसी बोका आए काठमान्डु

दशैंका लागि देशका विभिन्न स्थानबाट काठमाण्डु उपत्यकामा खसी बोका ल्याउन सुरु भएको छ।

अधिकारीहरूका अनुसार दशैंमा करिब ४५ हजार खसी बोका ल्याउने गरिएको छ।

हाल काठमान्डुमा तराईका खसी जिउँदो प्रतिकिलो सात सय बीस देखि सात सय पचपन्न मा बिक्री भइरहेको बताइएको छ।

यस्तै पहाडका खसी छ सय सत्तरी देखि सात सय पचास सम्म र बोका छ सय सत्तरी देखि सात सय बीस सम्ममा बिक्री भइरहेको छ।

च्याङ्ग्रा भने प्रतिकिलो एक हजार तीन सयमा बिक्री भइरहेको छ।

उमेर हद बढेसँगै क्याबिन क्रुले तोडे आन्दोलन

सरकारले विमान परिचारक/परिचारिका (क्याबिन क्रु) को ४५ वर्षको उमेर हदलाई ५० पुर्‍याउने निर्णय गरेको छ।

उमेर हद हटाउने लगायतका माग राख्दै आन्दोलनमा रहेका क्याबिन क्रुको माग सम्बोधन गर्दै सरकारले उक्त निर्णय गरेको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले आन्दोलनरत समूहसँग शनिवार यस विषयमा कुराकानी गरेका थिए।

त्यस लगत्तै नेपाल वायुसेवा नियमलाई ४५ वर्षको उमेर हदलाई ५० बनाएर अघि बढ्न निर्देशन दिए। सरकारको उक्त निर्णयसँगै क्याबिन क्रुहरुले आन्दोलन तोडेका छन्।

सो विषयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री पाण्डेले नेपालको औसत आयु बढेको र विभिन्न अनुभव र तालिममा गरिएको लगानीलाई हेर्दा पनि उमेर हद ५० वर्ष पुर्‍याउँदा फाइदा हुने बताए।

बाङ्ग्लादेशलाई बिजुली बेच्न सम्झौता

नेपालले बाङ्ग्लादेशलाई ४० मेगावाट बिजुली निर्यात गर्ने भएको छ। यसबारे बिहीवार सम्झौता भएको हो।

नेपालको विद्युत् प्राधिकरण,बाङ्ग्लादेश पावर डेभलप्मेन्ट बोर्ड र भातको एनपीटीसी विद्युत् व्यापार निगम बिच काठमान्डुमा सम्झौता भएको हो।

नेपालका तर्फबाट उक्त सम्झौतामा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हस्ताक्षर गरे।

यस्तै बाङ्ग्लादेशको तर्फबाट बाङ्ग्लादेश पावर डेभलपमेन्ट बोर्डका अध्यक्ष मोहमद रिजाउल करिम र भारतको नोडल एजेन्सी एनभिभिएनका प्रमुख कार्यकारी अधिकृत रेणुनाराङ्कले हस्ताक्षर गरेका हुन्।

प्राधिकरणले भारतीय एनभिभिएनलाई बिजुली उपलब्ध गराउने छ।

सो कम्पनीले भारतीय संरचना प्रयोग गरेर बिजुली बाङ्ग्लादेश पुर्‍याउने घिसिङले जानकारी दिए।

'' कुल चार सय केभी क्षमताको सो प्रसारण लाइन मार्फत पठाइएको बिजुलीको हिसाब मुजफ्फरपुरमा राखिने छ र भारतको मुजफ्फरपुरको प्रसारण लाइन मार्फत बाङ्ग्लादेश पुग्नेछ,'' उनले भने।

दीपेन्द्र आइसिसी वरियतामा दोस्रो

नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी दीपेन्द्रसिंह ऐरीले आइसिसीको टि ट्वान्टी अलराउन्डर वरियताको दोस्रो स्थानमा पुगेका छन्।

आइसिसीले बुधवार जारी गरेको वरियतामा दीपेन्द्र दोस्रो स्थानमा रहेका हुन्। यससँगै उनी आइसिसीको वरियतामा दोस्रो स्थानमा पुग्ने पहिलो नेपाली खेलाडी बनेका छन्।

यसअघि उनी छैटौँ स्थानमा थिए। पछिल्लो वरियता अनुसार उनी इङ्गल्यान्डका लियाम लिभिङस्टोद्द भन्दा एक स्थान तल रहेका छन्।

पहिलो स्थानमा रहेका लिभिङ्स्टोनको रेटिङ २५३ छ भने दीपेन्द्रको रेटिङ २३० रहेको छ।

दीपेन्द्र राष्ट्रिय टिमका भरपर्दो ब्याटर हुन् भने चुस्त स्पिन बलिङका लागि पनि उत्तिकै भरपर्दो खेलाडी हुन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now