प्रधानमन्त्रीको दशैं सन्देश
प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्षको देशैंको शुभकामना सन्देशमा अप्ठ्यारोमा परेका सबैलाई सहयोग गर्न आग्रह गरेका छन्।
हालै गएको बाढी पहिरो जस्ता प्राकृतिक विपद् र त्यसले पुर्याएको क्षतिलाई स्मरण गर्दै उनले यस्तो बताएका हुन्।
सरकार भत्किएका घरहरूको पुनर्निर्माण गर्नतर्फ र राहत तथा पुनर्स्थापनामा लागि रहेको पनि उनले बताए।
प्रधानमन्त्रीले सबैलाई आफ्नो गच्छे अनुसार दशैं मनाउन आग्रह गरेका छन्।
उनले विपद्का कारण अघिल्ला दशैंहरू जस्तो यस पटकको दशैं उल्लासमय हुन नसकेको समेत बताए।
थप ५७ हिमाल आरोहणका लागि खुला
नेपालमा थप ५७ हिमाल आरोहणका लागि खुला गरिएको छ।
उक्त निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको हो र यो सँगै अब नेपालमा चार सय ६१ हिमाल आरोहणका लागि खुला हुने भएको छ।

मन्त्रिपरिषद्ले पाँच हजार आठ सयदेखि सात हजार मिटरसम्म उचाइका हिमाल खुला गरेको हो।
पर्यटन विभागले ती ५७ हिमाल आरोहणका लागि खुला गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो।
आफ्नै भवन बनाउँदै एमाले
नेकपा एमालेले आफ्नै भवन निर्माण गर्ने भएको छ।
कीर्तिपुर स्थित करिब १० रोपनी क्षेत्रफलमा रहेको जग्गामा एमालेले पार्टी कार्यालयको भवन निर्माण गर्न लागेको जानकारी पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले बिहीबार दिएका हुन्।
"यहाँहरू सबैलाई थाहा छ २०७२ सालको विनाशकारी भूकम्पपछि बल्खुमा रहेको हाम्रो केन्द्रीय कार्यालय ध्वस्त भयो। त्यसयता हामी भाँडामा रहेका विभिन्न भवनहरूमा बस्दै आएका छौँ। अहिलेको भवनमा पनि हामीले चौथो पटकसम्म बाढीको सामना गर्न पर्यौ। यो स्थितिलाई अन्त्य गर्नका लागि स्थायी रूपमा भवन निर्माण गर्ने निर्णय गरेका छौँ," त्यसबारे थप जानकारी दिँदै ज्ञवालीले भने।
"भोली १२ बजेर २५ मिनेट जाँदा कीर्तिपुर वडा नम्बर २ मा रहेको घडेरीमा मदन भण्डारी स्मृति भवनको नाममा नेकपा एमालेको केन्द्रीय कार्यालय शिलान्यास हुने जनाकारी गराउन चाहन्छु।"
उक्त जग्गा व्यवसायी एवं भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ र उनकी पत्नी सावित्री गुरुङबाट दान गरिएको बताइएको छ।
यसैबिच व्यवसायीको सहयोगमा पार्टी कार्यालय बनाउने जग्गा र सहयोग लिएको बारे नेकपा एमालेभित्र कतिपयले विरोध गरेका छन्।
पार्टीकी केन्द्रीय सदस्य विन्दा पाण्डेले यस घटनालाई पार्टीका सदस्यको शिर झुकाउने कदम भएको टिप्पणी सामाजिक सञ्जाल मार्फत गरेकी छन्।
साथै उनले पार्टीको भविष्य जोगाउनका लागि उक्त निर्णय सच्याउनु पर्ने पनि उल्लेख गरेकी छन्।
हज सुदूरपश्चिम रोयल्सको मेन्टर
सुदूरपश्चिम रोयल्सले विश्व कप विजेता अस्ट्रेलियाका पूर्व क्रिकेटर ब्राड हजलाई आफ्नो प्रमुख मेन्टरको रूपमा नियुक्त गरेको छ।
नेपाल क्रिकेट सङ्घले मङ्सिर १६ गतेबाट सञ्चालन गर्न लागेको नेपाल सुपर लिगमा सुदूरपश्चिम रोयल्स पनि खेल्दै छ।
सुदूरपश्चिम रोलयल्सले सोमबार एक विज्ञप्ति जारी गर्दै हज टोलीको मेन्टरमा नियुक्त भएको जानकारी दिएको हो।

राष्ट्रिय टोलीका अलराउण्डर दीपेन्द्र सिंह ऐरी सुदूरपश्चिम रोयल्सका कप्तान हुन्। जगत टमाटा टिमको मुख्य प्रशिक्षक रहेका छन्।
सुदूरपश्चिम रोयल्सले यसअघि नै ओलम्पियन दीपक विष्टलाई ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त गरिसकेको छ भने केपी खनाललाई सोसल एक्टिभिस्ट एम्ब्सडरका रूपमा नियुक्त गरेको छ।
उक्त प्रतियोगितामा जम्मा ८ टिमले भाग लिएका छन्।
महिला टोलीको घोषणा
वुमेन्स साफ च्याम्पियनसिप २०२४ का लागि २३ सदस्यीय टिमको घोषणा सोमबार भएको छ, जसमा गोलरक्षक एन्जिला तुमबापो सुब्बा कप्तान नियुक्त भएकी छन्।
यस्तै टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङ रहेका छन्।
प्रतियोगिताको आयोजक नेपाल समूह 'बी' मा रहेको छ। उक्त समूहमा श्रीलंका, माल्दिभ्स र भुटान रहेका छन्। नेपालले प्रतियोगिताको सुरुवात शुक्रवार भुटान विरुद्धको खेलबाट गर्दै छ।






