'बाल यौन दुराचारीको गोप्य प्रायश्चितबारे जानकारी दिनु भन्दा जेल जान तयार छु': प्रमुख पादरी

Archbishop-elect Peter Comensoli_child sexual abuse_seal of the confessional

Archbishop-elect Peter Comensoli (left). (AAP Image/Daniel Pockett) Source: AAP

मेलबर्नका एक वरिष्ठ क्याथलिक पादरीले बाल यौन दुराचारीहरूको पाप प्रायश्चितबारे प्रहरीलाई खबर गर्नु भन्दा बरु जेल जान आफू तयार रहेको बताएका छन्।


भिक्टोरियाको संसदले अगस्ट १४ मा ल्याएको एक विधेयकमा धार्मिक तथा आध्यात्मिक गुरुहरूले बालबालिका माथि भएको यौन दुर्व्यवहारबारे जानकारी प्रदान गर्नु पर्ने व्यवस्था रहेको छ।

पादरी तथा धार्मिक नेताहरूले यदि बाल यौन व्यभिचारका आरोपितहरूका बारेमा जानकारी प्रदान नगरे तिन वर्ष सम्मको कारागार सजाय पाउने भएका छन्।

राज्य संसद्मा प्रस्तावित एक नयाँ कानुनले धार्मिक नेताहरूले अनिवार्य रूपमा बालबालिका माथि शारीरिक वा यौन दुर्व्यवहार भएको बारे आशङ्का भए त्यसका बारेमा प्रहरीलाई खबर गर्नु पर्ने व्यवस्था ल्याएको छ।

बाल सुरक्षा, अपाङ्गता सम्बन्धी मन्त्री लुक डोनएलएनले प्रहरी, शिक्षक, स्वास्थ्य क्षेत्रमा आबद्ध र बालबालिका र युवा कानुनी कार्यकर्ताहरूलाई त्यस्ता दुर्व्यवहारका घटनाबारे अनिवार्य जानकारी दिन बाध्य पारिने बताएका छन्।

child sexual abuse
child sexual abuse Source: kidsafe.org

पादरीहरूले यस्ता घटना बारे अनिवार्य रूपमा जानकारी दिनु पर्ने कानुन दक्षिण अस्ट्रेलिया र नर्दर्न टेरिटोरीमा लागू भइसकेको छ।

तर क्याथोलिक गिरजाघरले भने पाप-प्रायश्चित वा स्वीकारोक्ति गरेको कुरा सार्वजनिक गर्न नहुने भन्दै भने पुरोहितहरूले उक्त कानुन मान्न नहुने बताएको छ।

मेलबर्नका प्रमुख धर्मगुरु वा आर्चबिशप पिटर कमेन्सलिले एबिसी सँग कुरा गर्दै आफू गोप्य प्रायश्चितहरूलाई सार्वजनिक गर्नु भन्दा कारागार जान तयार रहेको बताएका छन् ।

कुराकानीको अंश

फेन: "भिक्टोरिया सरकारले अनिवार्य रूपमा रिपोर्ट गर्नु पर्ने जुन नयाँ कानुन प्रस्ताव गरिएको छ त्यसलाई मान्नु हुन्छ कि मान्नु हुन्न ?"

कमेन्सलि: "व्यक्तिगत रूपमा मा त्यो गोप्य नै राख्नेछु।"

फेन: "तपाईँ र अन्य पादरीहरू पनि त्यस क्रममा यदि कानुन तोडिए कारागार जान तयार हुनुहुन्छ ?"

कमेन्सलि :"मा आफ्नो लागी मात्र बोल्छु। हो।"

क्रिसी फोस्टरको दुई छोरीहरूलाई क्याथोलिक पुरोहितहरू द्वारा दुर्व्यवहार गरिएको थियो।

उनका अनुसार बाल यौन दुराचारी फादर माइकल म्याक्आर्डल लगायत त्यस्ता दुर्व्यवहार बारे जानकारी दिन क्याथोलिक गिरजाघर असफल भएका कारण कानुनी सुधार आवश्यक भएको हो।

"उनले (माइकल) आफूले बालबालिका माथि यौन दुर्व्यवहार गरेको भन्दै २५ वर्षको अवधिमा ३० फरक फरक पादरीहरू समक्ष १५ सय पटक स्वीकारोक्ति गरे। र उनीहरूले मात्र यति भने "घर जाऊ र प्रार्थना गर"। तपाइलाई थाहा छ त्यही नै हो क्याथोलिक पुरोहितहरूको काम।"

क्याथोलिक पुरोहित फादर केभिन डिलोन भन्छन् बाध्यकारी जानकारी गराउनु पर्ने कुरा सही नियतले ल्याइएको छ। र बाल दुर्व्यवहारमा संलग्नहरूले त्यसलाई ढाकछोप गर्न गोप्य स्वीकारोक्तिको सुविधा पाउन नहुने बताउँछन्।

उनी भन्छन् गिरजाघरले अब त्यस्ता स्वीकारोक्तिको गोपनीयताका सम्बन्धमा पुन: जाँच गर्नु पर्छ।

लुक डोनएलएनले यदि उक्त कानुन पारित भए सबैले यसको पालना गर्नु पर्ने बताएका छन्।  

भिक्टोरियाकि महान्यायाधिवक्ता जिल हेन्नेसीले बालबालिकाको अधिकार सबैभन्दा प्राथमिकतामा राखिनु पर्ने बताएकी छन्।

उक्त कानुनी सुधारमा यसअघि मिलेमतो गराएर केही क्षतिपूर्ति प्रदान गरी निर्णयहरूमा आफ्नो हस्ताक्षर गर्ने पीडितहरूले पनि उच्च अदालतमा आवेदन हाल्न सक्छन्।

गिरजाघरसँग भएका त्यस्ता सम्झौताहरू अनुचित भएको भन्दै त्यसलाई उल्टाउन सकिने व्यवस्था राखिएको हो।

क्रिसी फोस्टर भन्छिन् उनी वर्षौँ देखि आफ्ना छोरीहरूमाथि भएको दुर्व्यवहारको लागी क्षतिपूर्ति पाउन सङ्घर्षरत रहेकी छन्।

उनका अनुसार क्याथोलिक गिरजाघरहरूले आफ्नो विशेषाधिकारको प्रयोग गर्दै 'आधारभूत सम्झौता' गराउँछन्, जुन चाहिँ अत्यन्त न्यून हुने गर्दछ त्यस्तो क्षतिपूर्ति कमजोर पीडितहरूलाई प्रदान गरिन्छ।


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now