सन् दुई हजार पाँच सालको डिसेम्बर एघारको दिन सिड्नीभरका पाँच हजार भन्दा बढीको सङ्ख्यामा मानिसहरू उक्त प्रदर्शनमा सहभागी हुन क्रोनला पुगेको बताइएको छ।
क्रोनलामा अहिले एक लेबनिज रेस्टुरेन्टले चाहिँ स्थानीयहरूको मन जितिरहेको छ।
जेड नाख्लेले सात वर्ष अगाडी क्रोनलाको मुटुमा आफ्नो लेबनिज रेस्टुरेन्ट खोले, र उक्त रेस्टुरेन्टको नाम उनले राख्ने "यल्ला सावा" - जसको मतलब अरेबिक भाषामा हो "संगै बसौँ"। स्थानीय समुदायले पनि आफ्नो रेस्टुरेन्ट सुरु भए देखि नै आफ्नो व्यवसायलाई समर्थन गरेको जेड बताउँछन्।
उनी अहिले उत्साहित रहे तापनि उनको रेस्टुरेन्ट सफल हुने कुरा पहिले निश्चित रहेको थिएन। ठिक त्यही स्थानमा रहेको एक अर्को लेबनिज रेस्टुरेन्ट चाहिँ केही वर्ष अगाडी बन्द भएको थियो। क्रोनला दङ्गा भएको केही समयमै उक्त रेस्टुरेन्टका सञ्चालकले बन्द गर्ने निर्णय गरेको जेड बताउँछन्।

उक्त दङ्गा भएको थियो जब हजारौँ टेक्स्ट मेसेजहरूका साथ, डिसेम्बर एघारको दिन क्रोनला बीच आउन मानिसहरूलाई आग्रह गरिएको थियो। उक्त दिनलाई "लेबनिज समुदायका मानिसहरूलाई लक्षित "बाशिङ्ग डे" वा उनीहरू माथि मारपिट गर्ने दिनको रूपमा नामाङ्कन गरिएको थियो।
प्रदर्शनमा सामेल धेरैका साथमा मदिराका बोतलहरू पनि देखिएको उक्त दिनलाई आधुनिक अस्ट्रेलियाको इतिहासमा एक कालो दिनको भनी वर्णन गरिन्छ।
लेबनिज पृष्ठभूमिकी अस्ट्रेलियाली पत्रकार र लेखिका सारा आयुब उन्नाइस वर्ष कि थिइन् जब क्रोनला दङ्गा भएको थियो।
र उक्त दङ्गा यो देशमा जातिभेदको पहिलो अनुभव मध्यको एक रहेको उनको भनाइ छ।
"नो अल्लाह इन द नल्ला"- अथवा मुसलमानहरूको धर्मलाई लक्षित गर्दै क्रोनलामा अल्लाह हुन नसक्ने जस्ता भनाइहरू सुन्दै आफूलाई धेरै अचम्म बनाएको पनि उनी बताउँछिन्।

उक्त दङ्गाले आफ्नो परिवार र साथीहरू माथि पनि धेरै असर पारेको, जसले आफ्नो लेखन यात्राको लागि महत्त्वपूर्ण स्थान ओगटेको सारा अयुबले बताइन्।
उनको पहिलो उपन्यास थियो 'Hate is Such a Strong Word', अर्थात्, घृणा भन्ने शब्द किन शक्तिशाली रहेको बारे उनले उक्त उपन्यासमा क्रोनला दङ्गाले लेबनिज पृष्ठभूमिकी अस्ट्रेलियाली नागरिकको हैसियतले आफूलाई यो देशमा स्वागत नगरिएको जस्तो आफूलाई अनुभव भएकोबारे लेखेकी थिइन्।
क्रोनला दङ्गा जतिको छिटो सुरु भयो त्यति नै छिटो अन्त्य पनि भयो। तर उक्त दङ्गालाई प्रेरित गर्ने जातिभेद सम्बन्धी सोचहरू अझै पनि रहेको सारा बताउँछिन्। अहिले गोरो जातीको बाहुल्यता माथि जोड दिनेहरूको मनोबल झन्डै बढ्दै गएको पनि उनको भनाइ छ।

त्यस्तो चिन्ता व्यक्त गर्नेमा उनी एक्ली छैनन्।क्रोनला दङ्गा भएको समयमा अस्ट्रेलियाली अरेबिक परिषद्का अध्यक्ष रहेका रोलाण्ड जाब्बुर अहिले पनि सोही पदमा रहेका छन्।
र उनका अनुसार क्रोनलामा भएको जस्तो दङ्गा अस्ट्रेलियाको कुनै स्थानमा पनि हुन सक्ने थियो र अहिले पनि दोहरिन सकिने अवस्था रहेको छ।
देशका बीस प्रतिशत जनसङ्ख्याले कुनै प्रकारको जातिभेद अनुभव गर्नुपरेको अवस्थामा यस विरुद्ध थप कदम चाल्न जरुरी रहेको पनि जाब्बुर बताउँछन्।
अस्ट्रेलियामै जन्मिएका मानिसहरूले पनि एक्लोपन महसुस गर्नुको कारण बारे ध्यान दिन र जातिभेद विरुद्ध राजनीतिज्ञहरूका साथै सञ्चार जगत् लगायतका पक्षहरूले पनि आवाज उठाउनुपर्ने उनको विचार छ।
यो पनि पढ्नुहोस्:

कसैलाई उपनामले बोलाउँदैमा जातीय विभेद हुन्छ भन्ने छैन: ट्रिब्युनल






