देशको पर्यटन क्षेत्रलाई हेर्ने टुरिजम अस्ट्रेलियाले फर्स्ट नेसन्स पर्यटनमा बढ्दो चासोलाई बुझेको छ।
त्यसैले त यस्ता इच्छुक पर्यटकहरूका लागि मौलिकता र सांस्कृतिकताको धेरै पाटोहरूको अनुभव लिन पाउने व्यवस्था मिलाइएको छ।
पर्यटकहरू आदिवासी मानिसहरू र देशको बारेमा थप जान्न चाहन्छन्, निकोल मिसेल भन्छिन्।
उनी फर्स्ट नेसन्स पर्यटन प्रवर्द्धन गर्ने टुरिजम अस्ट्रेलियाको प्रयास डिस्कभर एबोरिजिनल एक्सिपेरिएन्स (डीएई) की कार्यकारी अधिकृत हुन्।
"सन् २०२० मा हामीकहाँ ९६९,००० अन्तर्राष्ट्रिय आगन्तुकहरू थिए जसले अस्ट्रेलिया भ्रमण गर्दा आदिवासी पर्यटन अनुभवहरूमा सहभागी भएका थिए।"
र घरेलु पर्यटकहरूमा पनि सन् २०१९ देखि २०२३ सम्ममा २२ प्रतिशतको वृद्धि देखिने गरेको उनको भनाइ छ।
डीएईमा प्राप्त हुने प्रत्येक अनुभव एबोरिजिनल र टोरेस स्ट्रेट आइल्यान्डर मानिसहरूद्वारा नै गराइन्छ।

आफ्नै कथा सुनाउँदै आदिवासी अस्ट्रेलियन
यसको अर्थ जो व्यक्तिले कथा सुनाउँछन् उक्त कथाको मालिक पनि त्यही व्यक्ति नै हुन्छन्।
प्राय: नयाँ ठाउँमा घुम्न जाँदा त्यहाँ भेटिने मानिसहरू नै याद हुन्छन्।
र आदिवासी गाइडका साथमा घुम्दा हरेक अनुभवमा ती सुन्दर पात्रहरूले देशलाई नै जीवन्त बनाउने मिसेल बताउँछिन्।
कुनै पनि देशको संस्कृतिहरू र त्यहाँका विविधतालाई अनुभव गर्न फर्स्ट नेसन्स वा आदिवासी मानिसहरूको दृष्टिकोण सबैभन्दा उत्कृष्ट हुन्छ।
सुदूर उत्तरी क्वीन्सल्यान्डका कुकु यलाञ्जि पुरुष वुआन वाकर 'वाकअबाउट कल्चर एडभेन्चर' सञ्चालन गर्छन्।
सुरुवातदेखि नै ती क्षेत्रहरूमा रहँदै आएका सबैभन्दा पुरानो जीवित संस्कृतिहरूबाट सिक्नु भन्दा राम्रो तरिका अरू हुन नसक्ने उनको भनाइ छ।
मलाई लाग्छ यदि तपाईँ आदिवासी संस्कृति र इतिहासको बारेमा सिक्दै हुनुहुन्छ भने, आदिवासी मानिसहरूतर्फको कथा बुझ्न आदिवासी मानिसहरूबाट नै सिक्नु उत्तम हुन्छ।वुआन वाकर, वाकअबाउट कल्चर एडभेन्चर
पोर्ट डगलस नजिकैको भव्य १३ करोड ५० लाख वर्ष पुरानो डेनट्री रेनफरेस्टको बारेमा जान्न वाकरले आगन्तुकहरूलाई लिएर जान्छन्।
उनी यसको इतिहास, परम्परा र प्राकृतिक श्रोतहरूका बारेमा आफूसँग भएको गहिरो ज्ञान बाँड्छन्।
"हामी मानिसहरूलाई त्यस क्षेत्रका विभिन्न खानेकुराहरूबारे शिक्षा दिन्छौँ। र यदि हामीलाई मौका मिल्यो भने हामी उनीहरूका लागि पकाउँछौँ, ताकि उनीहरूले स्थानीय खानाको स्वाद लिन सकुन्," वाकर भन्छन्।

खाना र संस्कृति
लोकप्रिय भ्रमणहरूको सूचीमा आदिवासी खानाहरूको अनुभव लिने कार्य अहिले शीर्ष स्थानमा रहेको छ, किनकि यस्ता अस्ट्रेलियामा नै फलेका खानेकुरा वा बुश टकरहरूले तिनीहरूको अद्वितीय स्वाद र प्रयोगहरूको लागि मान्यता प्राप्त गर्न थालेका छन्।
कुङ्ग्कस क्यान कूक की सह संस्थापक रेलीन ब्राउनले नदर्न टेरिट्रीलाई खाना कै लागि परिचित वा फुड डेस्टिनेसन बनाउने कार्यमा योगदान पुर्याउँदै आएकी छिन्।
उनले सेन्ट्रल अस्ट्रेलिया हुँदै जाने लोकप्रिय लारापिन्टा ट्रेलमा पैदल यात्रुहरूलाई स्थानीय मरुभूमिका खानेकुराहरूबारे सिकाउँछिन्।
"मलाई लाग्छ कि मानिसहरूलाई देशको परिचय दिने उत्कृष्ट माध्यम भनेको खाना हो। मानिसहरू साँच्चै नै चाख्न उत्सुक हुन्छन्।"
अस्ट्रेलियाका यस्ता प्राकृतिक स्थलहरूको भ्रमण पैदल यात्रामा मात्र सीमित छैन।
तपाईँले डुङ्गामा चढेर, सिनिक फ्लाइट वा उडानहरूबाट र फोर व्हील ड्राइभ सफारीहरू पाउनुहुनेछ साथमा बसाइको सुविधामा क्याम्पिङदेखि लक्जरी बसाइसम्म पाउन सकिन्छ।
एनटीको काकडु नेसनल पार्क यसको पर्यावरणीय र सांस्कृतिक मूल्यहरूको लागि विश्व सम्पदा सूचीमा रहेको छ।
र यो ढुङ्गामा कुदिएको कला वा रक आर्टको लागि पनि एक नमुना स्थल हो।
त्यस्तै वेस्टर्न अस्ट्रेलियाको किम्बर्ली क्षेत्र पनि रक आर्टहरूका लागि चिनिएको नाम हो, साथमा झरनाहरू, समुन्द्री तट, जङ्गली जनावर र अन्य स्विमिङ गर्ने स्थानहरू पनि रहेका छन्।
पर्यटनबाट समुदायलाई फाइदा
फर्स्ट नेसन्सको व्यक्तिले नेतृत्व गरेको भ्रमणले यात्रुका लागि यी साइटहरूको सांस्कृतिक र वातावरणीय महत्त्वलाई उजागर गर्न मद्दत गर्छ।
र ती समुदायलाई पनि निकै गहिरो किसिमले यसबाट फाइदा पुग्छ।
निकोल मिसेल भन्छिन् मरुकु आर्ट्समा सेन्ट्रल अस्ट्रेलियाका दुर्गम समुदायका ९०० कलाकारहरू आबद्ध छन्।
स्थानीयहरू कलाकृतिहरू बेच्न, कार्यशालाहरू सञ्चालन गर्न र सांस्कृतिक भ्रमणहरू आयोजना गर्न त्यहीँ बस्छन्।

यसबाट आफ्नै गाउँ ठाउँमा बस्दै कला, संस्कृति र भाषाको संरक्षण र प्रवर्धन गर्न सकिने उनको भनाइ छ।
पर्यटनको माध्यमबाट, यो व्यवसायले संस्कृतिलाई दिगो बनाउन प्रत्यक्ष रूपमा टेवा पुर्याउँछ।
वुआन वाकर भन्छन् सांस्कृतिक टुरहरूले आफूलाई आफ्नो परिवार र एबोरिजिनल इतिहासको बारेमा भ्रमण गर्न आउनेहरूलाई बताउने अवसर मात्र दिएको छैन, यसबाट उनीहरूले पनि आफूलाई देशसँग जोडिइरहन मदत गर्छन्।

शहरी क्षेत्रमा सांस्कृतिक पर्यटन
आदिवासी संस्कृति केवल दुर्गम स्थानहरूमा मात्र पाइन्छ भन्ने सामान्य धारणा हो, तर तपाईँले हाम्रा शहरी क्षेत्रहरूमा पनि सुन्दर सांस्कृतिक कथाहरू पाउनु हुनेछ।
बंजालंग पुरुष काएल आइभी फर्स्ट नेसन्सको कथा वाचक हुन्।
र उनी पर्यटकहरूलाई बुरुवु एबोरिजिनल क्लाइम्ब एक्सपीरिएन्स अन्तर्गत सिड्नी हार्बर ब्रिज चढ्न गाइड गर्छन्।
हार्बर ब्रिज चढ्ने क्रममा आइभी ६०,००० वर्षभन्दा अगाडी भएको अस्ट्रेलियामा आदिवासीको आगमनको बारेमा वर्णन गर्छन्।
उनले आफ्ना पुर्खाहरू यस भूमिमा कसरी बसे र युरोपियनहरू आएपछि यो कसरी परिवर्तन भनेर बताउँछन्।
उनी आफ्नो ज्ञान बाँड्न पाउँदा गर्व गर्छन् - र त्यो आफ्नो लागि मात्र होइन तर अस्ट्रेलियाका ५०० भन्दा बढी विविध सांस्कृतिक समूहहरूका लागि पनि।
"यो मेरो लागि मेरो सम्झना ताजा राख्ने एक राम्रो तरिका हो र यसले मलाई थप झकझक्याउँछ थप कुराहरू पत्ता लगाउन, थप आदिवासीको भिडलाई समावेश गर्न, र मैले नामहरू गडबड गरिरहेको त छैन भनी सुनिश्चित गर्न।"

मेलबर्नको मुटुमा, तपाईँ आदिवासी कलाहरू हेर्नको लागि यारा नदीको किनारमा गाइडहरूले लग्ने बिरारुङ विलम वाकमा सामेल हुन सक्नुहुन्छ।
कुनै समय स्थानीय कुलीन मानिसहरूको भेला हुने ठाउँको रूपमा रहेको यस भूमिको महत्वमा समयसँगै कसरी परिवर्तन देखियो भन्ने बारे तपाईँले सुन्न पाउनुहुनेछ।
र टास्मेनियामा तपाईँले निपलुना/होबार्टको आदिवासीहरूद्वारा गाइड गरिने भ्रमणको अनुभव लिन सक्नुहुन्छ।
९० मिनेटको पैदल यात्रा र दृश्यावलोकनले स्थानीय पलावा मानिसहरूको अँध्यारो र प्रभावकारी कथा बताउँछ।
निकोल मिसेल भन्छिन्, यी जस्ता आदिवासीहरूको नेतृत्वमा लिइने अनुभवहरू मार्फत, दुवै आदिवासी र गैर-आदिवासी मानिसहरूले सांस्कृतिक ज्ञान बाँड्ने गर्छन्।
"समुदायको हकमा, तपाईँले समुदायलाई पहिले उनीहरूको कथा सुनाउनको लागि एउटा बाटो खोल्नु हुनेछ। एक जना गाइडले मलाइ भनेका थिए, 'हामीले संस्कृतिलाई बाँड्नु पर्छ संस्कृतिलाई जोगाउनको लागि'।"
थप जानकारीका लागि। डिस्कभर एबोरिजिनल एक्सपिरिएन्समा जानुहोस्।
तपाईंका केही प्रश्न वा विषय वस्तु छनौटलाई लिएर कुनै सोच छन् ? हामीलाई australiaexplained@sbs.com.au मा इमेल पठाउनु होस्।










