Key Points
- माटोसँगको सम्बन्ध अस्ट्रेलियाका प्रथम बासिन्दाहरूका लागि निकै महत्त्वपूर्ण छ।
- यो सम्बन्धको सुत्रधारका पुस्तौँ पुस्ता बिच आदानप्रदान भएका कथाहरू हुन्।
- आफू जाने ठाँऊको ज्ञान र महत्त्व बुझ्नु जरूरी हुन्छ।
एबोरिजिनल तथा टोरेस स्ट्रेट आइल्यान्डर मानिसहरूले अस्ट्रेलियालाई आफ्नो घर बनाउन थालेको कम्तीमा पनि ६० हजार वर्ष भइसकेको मान्यता छ।
उनीहरूले यो महादेश र वरपरका टापुहरूमा बस्दै गर्दा यहाँको बद्लिँदो भूगोल देख्दै, भोग्दै र सोही अनुरूपले आफूहरूलाई ढाल्दै आएका छन्।
आन्टी डिएड्री मार्टिन युइन राष्ट्रकी वाबान्जा महिला हुन्।
स्थानीय समुदायकी एक आदरणीय र ज्येष्ठ सदस्य रहेकी मार्टिन, न्यु साउथ वेल्सको धारावाल क्षेत्र अन्तर्गतको राष्ट्रिय निकुञ्ज एवं वन्यजन्तु सेवामा एक एबोरिजिनल रेन्जरकी रूपमा कार्यरत पनि छिन्।
आन्टी डिएड्रीका लागि जमिन भनेको स्वामित्व लिइने सम्पत्ति होइन, बरु आफूबाट अलग्याउन नसकिने आफ्नै एक भाग हो जसलाई आदर र स्याहार गर्नुपर्छ।
हामी कहिले पनि जमिनको स्वामी हुन सक्दैनौँ र हुँदैनौ पनि। यसको रक्षा गर्ने हाम्रो दायित्व हो। यसले हामीलाई गाँस, पानी, बास जस्तै थुप्रै कुराहरू दिन्छ।आन्टी डिएड्री मार्टिन
“जमिन एक परिभाषा हो, तर यो हाम्रो रक्तनलीमा छ। यो हाम्रोलागि पहिलो सास हो र अन्तिम पनि हुनेछ,” उनी भन्छिन्।

आन्टी डिएड्री मार्टिनका अनुसार यो सम्बन्ध यत्तिको गहिरो छ कि जमिनसँग नजिक हुँदा मात्रै पनि उनमा आफ्नो माटोप्रतिको लगाव प्रस्टै हुन्छ।
“जब म सिड्नीबाट घर तिर लाग्छु र कायमाको घुम्ती नेर पुग्दा नपुग्दै तल समुद्र तिर जब हेर्छु, आफ्नोपनबाट म ओतप्रोत हुन्छु, मलाई लाग्छ, म घर आइपुगेँ भनेर,” उनले अगाडी थपिन्।
डेस्मन्ड क्याम्पबेल, नर्दन टेरिट्रीको गुरिन्जी र अलावा-नालकन् समुदायको मानिस भनेर आफूलाई चिनाउन पाउँदा गौरवान्वित महसुस गर्छन्।
हाल सिड्नीमा रहेको वेलकम टु कन्ट्रीका प्रमुख कार्यकारी अधिकृत रहेका उनी भन्छन् कि आफ्नो भूमिका बारे सोच्दा पनि मुटुको धड्कन तेज हुन्छ।
“हामी स्थायी रूपमा त्यहाँ नै हुर्के बढेका त हैनौँ, तर पनि ती बिताएका पल हिजैकै हो कि जस्तो लाग्छ। यो ठाउँ एकदमै आफ्नै लाग्छ हामीलाई। र हामी एकदमै सुरक्षित महसुस गर्छौँ। हामीलाई यस्तो लाग्छ कि हामी यस्तो ठाऊँमा छौँ जहाँ एक एबोरिजिनल मानिसका रूपमा हामीलाई कुनै अप्ठेरो लाग्दैन,” उनी बुझाउँदै भन्छन्।
आफ्नो माटोभन्दा टाढा रहेता पनि उक्त जमिनसँग उनको नाता अडिलो छ।
आफ्नो पुर्ख्यौली जमिन नियमित रूपमा फर्किनु निकै आवश्यक रहेकोमा उनी जोड दिँदै भन्छन् कि यसो गर्दा आफ्नो संस्कृति र भाषा त बचाउन जोड पुग्छ नै, यसका साथै, अन्तर आत्मासँग जोडिने पनि अद्भुत अवसर प्राप्त हुन्छ।
“यसको अनुभव भिन्नै हुन्छ, आत्मा नै सन्तुष्ट हुन्छ। म अहिले सिड्नी जस्तो ठाऊँमा बसेर काम गर्छु, वेलकम टु कन्ती जस्तो संस्थाका लागि। मलाई आफ्नो संस्कृति बचाइराख्न र आफ्नो भाषा जोगाइराख्न र यी प्रति इमानदार हुन समय समयमा घर जानै पर्छ, उनी भन्छन्।”
क्याम्पबेलका अनुसार जमिनसँगको नाता, पुरानो पुस्ताले नयाँ पुस्तालाई सुनाउने कथाहरूबाट सुरु हुन्छ।
अनि उनको भनाइमा अस्ट्रेलियामा बस्ने सबै आदिवासीहरूको आ-आफ्नै मौलिक कथाहरू, आत्मीयता र सम्बन्धहरू छन्।
“अब मेरो गुरिन्ड्जी पृष्ठभूमिको कुरा गर्दा यो मेरो बुवाको तर्फको हो। उहाँहरूको पुस्तैनी थलो मरुभूमिमा छ। त्यहाँ जीवजन्तु, ऋतु आफ्नै प्रकारका छन् र कथाहरू पनि त्यसै अनुरूपका छन् जुन मेरो आमापट्टिसँग खासै मेल खाँदैनन्।”
डेसमन्ड क्याम्पबेल अगाडी भन्छन् कि यसरी पुस्ता-पुस्ता बिच आदानप्रदान हुने कथाहरूमा जमिनको स्थानीय ज्ञानसँग सम्बन्ध गाँसिएको हुन्छ, जस्तो कि कहिले र कहाँ शिकार खेल्ने अनि आगोसँग गलत समय खेल्दा हुनसक्ने नतिजाहरू बारेको शिक्षा।
ब्र्याड्ली हार्डी पनि आफ्नो आदिवासी पृष्ठभूमिमा गर्व लिने यस्तै एक अस्ट्रेलियन हुन्।
उनी नियम्बा, उआलाराई, कूमा र कामिलारोइ समुदायका पुरुष हुनुका साथै बार्वन नदीसँगको ब्रेवर्रिना एबोरिजिनल फिश ट्र्याप्स वा बाइआमेज घुन्नुका आधुनिक कालका एक संरक्षक पनि हुन्।
उनी नदि आफ्नो रगत र पहिचान भएको बताउँछन्।
ब्रेवर्रिना एबोरिजिनल कल्चरल म्युजियम भनिने ब्रेवर्रिना आदिवासी सांस्कृतिक सङ्ग्रहालयमा एक स्थानीय गाइडका रूपमा काम गर्ने हार्डी कथा तथा इतिहास बारे बोल्ने गर्छन्।
उनी भन्छन् कि नयाँ पुस्तालाई हस्तान्तरण गरेर उनले ती कथाहरूलाई जोगाउनै पर्छ।
“घुमघामका बेला मानिसहरू जानकारी दिने काम मेरो आफ्नो लागि होइन, यो त मेरा अग्रजहरूलाई आदर गर्ने बारे हो, नयाँ पुस्तालाई हाम्रो बारे बताउनु हो र हामीहरूको इतिहास दुनियाँलाई बताउन सजिलो होस् भनेर उनीहरूलाई एउटा मञ्च बनाइदिनु हो। यो हाम्रो कर्तव्य हो।”

पवित्र स्थानहरू बारे बुझौं
ब्रेवर्रिनामा रहेका माछा समात्ने धराप मानव इतिहासकै सबैभन्दा पुराना मध्येका एक हुन्।
ढुङ्गाबाट बनेका यी धराप मिलाएर अङ्ग्रेजी वर्णमालाका ‘यु’ र ‘सी’ आकारमा रहेका छन् जसले माछालाई जम्मा पारेर समात्न मात्र काम गर्दैनन्।
यी धराप यसरी बनेका छन् कि केही माछाहरू भने नफसी अगाडी बढ्न सक्छन् र उनीहरूको जीवनचक्र चलिरहन्छ।
अनि ब्रेवर्रिनामा रहेका यी एबोरिजिनल फिश ट्र्याप्स अनेकौँ जातीका आदिवासीहरू भेला हुने ठाऊँ पनि हो।
यो एउटा पवित्र स्थल हो जसलाई हामीहरूले संरक्षण गर्नैपर्ने जरूरत छ। यो ठाँऊ खासमा हाम्रा मानिसहरूका लागि हो। हाम्रो मुख्य कर्तव्य भनेको मानिसहरूलाई यसबारे बताउनु, नयाँ पुस्ता सामु बिकसित गर्नु मात्र होइन, बरू संसारलाई यी विशेष छन् भनेर चिनाउनु पनि हो।ब्राड्ली हार्डी
आन्टी डिएड्री पनि यस्ता चोखो स्थानहरूसम्म पुग्नु अगावै यस्ता ठाउँहरूको बारेमा जान्नु र तिनको महत्त्व बुझ्नु जरुरी हुने बताउँछिन्।
“अब कुनै ठाऊँ चाहिँ महिलाहरूको लागि मात्रै हो वा कुनै स्थलमा केवल पुरुषहरू मात्रै जान पाउँछन् भन्ने कुराको पनि हेक्का राख्नुपर्छ र केही स्थानमा जान हामीले त्यहाँ जानु पूर्व केही विशेष ज्ञान प्राप्त गरेको हुनुपर्छ,” उनी बुझाउँदै भन्छिन्।

अस्ट्रेलियाका प्रथम बासिन्दाका पावन भूमिहरू विभिन्न समुदायका मूल वासस्थान अनुसार विविध किसिमका हुन्छन्।
कुनै स्थान महिला र पुरुष दुवैका लागि पुण्य हुन्छन् भने कुनै चाहिँ केवल महिला वा पुरुषहरूका लागि मात्रै महत्त्वपूर्ण रहेका छन्।
आन्टी डिएड्री भन्छिन् कि समुदायलाई यी पवित्र स्थलहरूबारे सिकाउने काम उनको दायित्व हो।
यसरी महत्त्वपूर्ण स्थानहरूको बारे ज्ञान फैलाउन पाउँदा आफूलाई एकदमै खुसी लाग्ने पनि उनी बताउँछिन्।
अस्ट्रेलियामा आदिवासीहरूका पावन भूमि बारे जान्नु र ती स्थान भ्रमण गर्नु महत्त्वपूर्ण पाटो भएता पनि यिनको आदर गर्नु र यस्ता ठाउँहरूको भ्रमण अगाडी स्थानीय काउन्सिल अनि समुदायहरूबाट सल्लाह सुझाव लिनु उचित हुन्छ।
“चाहे फिश ट्र्याप्स हुन् वा अन्य ऐतिहासिक स्थानहरू, हामी मानिसहरू ती ठाऊँ जाउन् र हाम्रो इतिहास बारे सही कुरा बुझुन् भन्ने चाहन्छौँ। तर यो सँगसँगै, उनीहरू यस्ता पवित्र स्थलका बारेमा सचेत हुन् र तिनलाई आदर सम्मान गरून् भन्ने पनि चाहन्छौँ,” हार्डी भन्छन्।







