मुख्य बुँदाहरू
- हिन्दु परम्परा अनुसार मृतकको दाहसंस्कार पछि अस्तु नदीमा बगाउने गरिन्छ।
- घाट बनाउनको लागी अनुमति दिँदै ७५ हजार डलर प्रदान गरेको छ।
- एक वर्षसम्मको लागी परीक्षण काल सफल रहेमा मात्र स्थायी रूपमा घाट बनाउन दिइने काउन्सिलको रिपोर्टमा उल्लेख छ।
एडिलेडस्थित स्नोडेन बिचमा लागर्स नर्थको एक भागलाई जलसंस्कारको लागी अनुमति दिइएको स्नाेडेन काउन्सिलले बताएको छ।
यहाँ हरेक सोमवारदेखि शुक्रवारसम्म बिहान ९ बजे देखि ११ बजेसम्म धार्मिक क्रियाकलाप गर्न पाइने काउन्सिलले जानकारी गराएको छ।
घाट निर्माणको नेतृत्व लिएको विश्व हिन्दु परिषद् अस्ट्रेलियाको वेबसाइटका अनुसार भारतको वाराणसी गङ्गा नदी नजिकै रहेको हरिसचन्द्र घाट कै नाममा यस घाटको नाम राखिएको हो।

उद्वव खतिवडा, साउथ अस्ट्रेलियाका एक रजिस्टर्ड सिभिल सेलिब्रेन्ट हुन्।
खतिवडा विश्व हिन्दु परिषद् अस्ट्रेलियाको यस अभियानमा आफू सुरुदेखि नै जोडिएका बताउँछन्।
उनी भन्छन् कि सनातन धर्ममा घाटको महत्त्व धार्मिक पुराणहरूमा उल्लेख अनुसार मोक्ष प्राप्ति सँग जोडिन्छ।
“मोक्ष प्राप्तिका लागी हाम्रो अस्तु, हाम्रो हड्डी, हाम्रो शरीर चाहिँ अन्ततोगत्वा गङ्गामा परेका खण्डमा हामी मोक्ष हुन्छौ भन्ने मान्यता रहेको छ।”

उनी भन्छन्, "अस्ट्रेलियामा दाहसंस्कारको आफ्नै नियमहरू छन्। नेपालमा जस्तो दाउरा लगेर चिता बनाएर दाहसंस्कार गर्ने चलन छैन। यहाँ क्रिमिटोरी घरहरू हुन्छन्, त्यहाँ बिद्युतको माध्यमबाट दाहसंस्कार गरिन्छ।"
राजेन्द्र पाण्डे विश्व हिन्दु परिषद् अस्ट्रेलियाको साउथ अस्ट्रेलियाका अध्यक्ष हुन्।
पाण्डेले घाटले अनुमति पाउनु भनेको अस्ट्रेलियामा हाम्रो (हिन्दु) अस्तित्वलाई स्वीकार गरिनु भएको एसबीएस हिन्दीसँगको कुराकानीमा बताएका छन्।
खतिवडा धार्मिक काम गर्दाका अप्ठ्यारा यसरी सम्झछन्, कोभिडको बेलामा नेपालमा मृत्यु भएका तर अस्ट्रेलियामा रहेका सन्तानले १२ दिनसम्म दाहसंस्कारको कर्म गराउन धेरै गाह्रो भएको थियो।
मुख्य समस्या त पिण्ड सेलाउन नै हो। श्राद्ध गर्न त पाइन्छ तर रेन्जरहरूले हेरिरहेका हुन्छन् त्यसैले पिण्ड पनि सँगै झोलामा बोकेर फर्कनुपर्छ।उद्वव खतिवडा, रजिस्ट्रर सिभिल सेलिबेन्ट्र
सिटी अफ पोर्ट एडिलेड इनफिल्डले वातावरण संरक्षण ऐन १९९३ को आधारमा यहाँको जैविक विविधतामा कुनै पनि असर नपर्ने गरी घाटको मान्यता दिएको काउन्सिलको ९ अप्रिल २०२४ मा बसेको मिटिङको रिपोर्टमा उल्लेख गरेको छ।
साथै एक वर्षसम्मको लागी परीक्षण काल रहने छ।
र परीक्षणको समय सफल रहेमा मात्र स्थायी रूपमा घाट बनाउन दिने रिपोर्टमा उल्लेख छ।
बिचहरूमा मानिसहरू घुम्न आउने भएकाले धार्मिक काम गर्न अप्ठ्यारो हुने गरेको अनुभव सुनाउँदै खतिवडा भन्छन्, "अब हरिशचन्द्र घाटले मान्यता पाइसकेपछि शान्तसँग अस्तु विसर्जन, पिण्ड दान ,श्राद्ध गर्न कसैको घरमा ठाउँ छैन भने व्यवस्थित रूपमा सबै धार्मिक कामहरू गर्न पाइन्छ।"

सिटी अफ पोर्ट एडिलेड इनफिल्डले घाट निर्माणका लागी ७५ हजार डलर अनुदान दिएको छ।
हरिसचन्द्र घाटमा नदीको किरानासम्म पुग्नको लागी सिँढी बनाउनको लागी ७५ हजार डलर बजेट छुट्टाएको काउन्सिलका प्रवक्ताले बताएका छन्।
एसबीएस हिन्दीसँगको कुराकानीमा सिटी अफ पोर्ट एडिलेड इनफिल्डकी मेयर क्लेएर बन भन्छिन्, "हिन्दु समुदायको लागी नदी किरानामा गरिने धार्मिक क्रियाकलाप कत्तिको महत्त्वपूर्ण छ भनेर पहिचान गरेपछि नै हामीले यो निर्णय गरेका हौँ।"
समुदायको सांस्कृतिक महत्वको कदर गर्दै सुरक्षित र स्वागतयोग्य वातावरण बनाउनको लागी प्रतिबद्ध रहेकाे काउन्सिलको बताउँछ।
जलसंस्कार गर्दा ध्यान दिनुपर्ने कुराहरू:
- अस्ट्रेलियाका हरेक राज्यमा शव व्यवस्थापनका आफ्नै नियमहरू हुन्छन्।
- जस्तै बोटनिकल गार्डेन्स्, नदी, ताल, समुन्द्र लगायत सार्वजनिक ठाउँहरूमा अनुमति लिनु पर्ने हुन सक्छ।
- पाण्डे भन्छन्, दाहसंस्कारको काम सकिसकेपछि उक्त स्थान सफा गरिनुपर्छ।








