अस्ट्रेलियाका प्रत्येक नागरिक जसको नाम मतदाता नामावलीमा रहेको छ, उनीहरूलाई 'जुरी ड्युटी' भनिने एक कानूनी प्रक्रियामा सहभागी हुन बोलाउन सकिन्छ। तर जुरर वा निर्णायक समूहको एक सदस्यका रूपमा तपाईँलाई बोलाइयो भने के हुन्छ? तपाईँले के गर्नु पर्छ लगायतका प्रश्नको उत्तर खोज्ने छौँ अस्ट्रेलिया बुझ्नुहोस्को यस भागमा।
मुख्य बुँदा
- प्राय: जुरीमा १२ जना जुररहरू हुन्छन्, तर कहिलेकाहीँ त्यो भन्दा कम पनि हुन सक्छन्।
- जुरीले कसरी काम गर्छ भन्ने कुरा राज्य र प्रदेश अनुसार फरक हुन्छ।
- केही अवस्थामा जुरर बन्न चुनिएकाहरूले यसमा उपस्थित हुनु नपर्ने छुट पाउँछन्।
जुरी वा निर्णायक मण्डल अस्ट्रेलियाको कानूनी प्रणालीको एक महत्त्वपूर्ण हिस्सा हो।
यदि तपाईँलाई निर्णायक समुहको एक सदस्य वा 'जुरर'को रूपमा सेवा गर्न बोलाइएको खण्डमा त्यसमा सहभागी हुनु अस्ट्रेलियन नागरिकको रूपमा तपाईँको कर्तव्य हो।
र यदि जुरर बन्न चुनिएकाहरू यसमा उपस्थित नभए उनीहरूलाई जरिवाना पनि गर्न सकिन्छ।
डा एन्ड्रु बर्क मक्वेरी ल स्कुलका वरिष्ठ लेक्चरर र जुरिज डक्टर विषयका डिरेक्टर हुन्।
र उनी समुदायका सदस्यहरूलाई जुरी सर्भिसले न्याय सम्पादनमा सक्रिय भूमिका खेल्ने अवसर दिने भनाइ राख्छन्।
"जुरिज भनेको समुदायलाई कानूनी प्रक्रियामा संलग्न गराउने तरिका हो। यस अर्थमा जुरिज भनेको अस्ट्रेलियाको प्रजातन्त्रको हिस्सा हुन्।"
"जब कसैलाई गम्भीर अपराधको अभियोग लगाइन्छ, त्यो व्यक्ति दोषी हो वा होइन भन्ने निर्णय गर्ने व्यक्तिहरू भनेको वकिल वा न्यायाधीश होइनन्, त्यो निर्णय लिन्छन् समुदायका १२ जना साधारण सदस्यहरूले बनेको जुरीले," उनी थप्छन्।
कस्ता मुद्दाहरूमा जुरी राखिन्छ?
अस्ट्रेलियामा जुरीहरू निश्चित प्रकारका कानूनी ट्रायलहरूका लागि मात्र प्रयोग गरिने मोनास युनिभर्सिटीको कानून संकायकी असोसिएट प्रोफेसर ज्याकी होरन बताउँछिन्।
जुरीलाई हत्या, हतियार सहितको डकैती र यौन दुर्व्यवहार लगायतका गम्भीर किसिमका मामिलाका ट्रायलका लागि बोलाइन्छ। चोरी जस्ता कम गम्भीर आपराधिक मुद्दाहरूको सुनुवाइ निर्णायक मण्डल बिना न्यायाधीशले मात्र गर्छन्।ज्याकी होरन, असोसिएट प्रोफेसर, मोनास युनिभर्सिटी कानून संकाय
यस्ता जुरीको उम्मेदवारहरूको नाम अस्ट्रेलियाको मतदाता सूचीबाट गोला प्रथा जस्तो तरिकाले चयन गरिने चार्ल्स स्टर्ट युनिभर्सिटीको ल एन्ड जस्टिस सेन्टरका निर्देशक मार्क नोलन बताउँछन्।
"चुनिएका व्यक्तिलाई जुरी ड्युटीका लागि बोलाइएको एक पत्र पठाइन्छ। जसमा वेबसाइटमा गएर एक सर्वेक्षणमा भाग लिन र आफू जुररको रूपमा उक्त ट्रायलमा बस्न सक्ने वा नसक्ने भन्ने बारे बताउन लगाइन्छ।"
र कहिलेकाहीँ तपाईँको अङ्ग्रेजी भाषा दक्षता, काम र तपाईँको चिनजानको कोही उक्त केसमा संलग्न छ कि छैन भनेर पनि सोध्न सकिने नोलन बताउँछन्।

सामान्यतया यस्तो निर्णायक मण्डलीमा १२ जना जुररहरू हुन्छन्, तर कहिलेकाहीँ त्यो भन्दा कम पनि हुन सक्छन्।
साथै केही गम्भीर केसहरूमा जुररहरू एकै किसिमका नहुने होरनको भनाइ छ।
अस्ट्रेलियाकै केही स्थानमा अमेरिकामा जस्तो सिभिल केसहरूमा जुरीहरू राखिन्छ।
"मानौँ कसैलाई अस्पतालमा गम्भीर चोट लाग्यो र उनीहरूले त्यो अस्पताल वा डाक्टरलाई मुद्दा हाल्न सक्छन्। र भिक्टोरिया जस्ता केही ठाउँहरूमा, तपाईँको यो मुद्दालाई छ जना व्यक्तिको जुरीले सुन्छन्।"
के जुरी ड्युटीमा उपस्थित नहुन पनि सकिन्छ?
केही परिस्थितिहरूमा जुरीको सदस्यका उम्मेदवारहरूलाई यसमा उपस्थित नहुने छुट पनि दिइन्छ।
जस्तै साना बालबच्चा भएका एकल अभिभावक वा साना व्यवसायीहरू जसको अनुपस्थितिमा उक्त व्यवसायमा असर पर्न सक्छ।
बर्क यसलाई बुझाउँछन्, "जस्तै मैले पनि जुरी ड्युटी गर्नु पर्दैन किनकि म वकिल हुँ। र अरू भनेको निकै महत्त्वपूर्ण जागिरेहरू जस्तै महामारीको समयमा इमर्जेन्सी डक्टर वा नर्सले पनि जुरर बन्नु पर्दैन।"
त्यस्तै यदि कसैले राम्रोसँग कान सुन्दैनन् भने, यदि उनीहरूलाई गम्भीर स्वास्थ्य समस्या भए, यदि बृद्ध बृद्धाको स्याहारकर्ता छन् र उनीहरूलाई छोडेर हिँड्न मिल्दैन भने उनीहरूले पनि यो ड्युटीबाट छुट पाउँछन्।
यदि तपाईँले औपचारिक रूपमा छुट नपाइ उपस्थित नभएको खण्डमा तपाईँलाई जरिवाना गर्न सकिन्छ।
बर्क भन्छन् यदि जुररलाई त्यो ट्रायलको पूरा समय बस्न सक्दिन जस्तो लाग्यो भने उनीहरूले ट्रायल सुरु हुनु भन्दा अगाडी नै यो कुरा खुलाउनु पर्छ।

जुरी सेवा कति लामो हुन सक्छ?
यस्ता निर्णायकहरूलाई सामान्यतया सातदेखि १२ दिन लाग्न सक्ने मामिलाका ट्रायलका लागि बोलाइन्छ तर आतङ्कवादको आरोप जस्ता कुनै-कुनै मुद्दाहरूमा महिनौँदेखि वर्ष दिन भन्दा बढी पनि लाग्न सक्छ।
यस्ता लामो किसिमका ट्रायलका लागि चुनिएका जुररहरूलाई अगाडी नै उनीहरूको उपलब्धता बारे सोधिएको हुन्छ।
बर्क भन्छन्, "‘यदि तपाईँहरू मध्ये कसैलाई लाग्छ कि तपाई यो गर्न सक्नुहुन्न र प्रमाणको बारेमा निष्पक्ष हुन सक्नुहुन्न भने अहिले नै भन्नुहोस्, र तपाईँलाई माफी दिन सकिन्छ', भनेर उनीहरूलाई सुरुमै भनिएको हुन्छ।"
कोर्ट रुममा के हुन्छ?
एक पटक कानूनी सुनुवाइ वा ट्रायल सुरु भएपछि, जुरीले सबै प्रमाणहरूलाई सुन्नु पर्छ।
बर्क भन्छन् सम्पूर्ण प्रमाण पेस गरिएको समयमा उनीहरू अनिवार्य रूपमा उपस्थित हुनु पर्ने भए पनि कुन कानून आकर्षित हुन्छ भन्ने बारे बहस चलेको बेला भने जुररहरू कोर्टरूम बाहिर बस्नु पर्छ।
"जब कानूनका बारेमा बहस सकिन्छ, उनीहरूलाई भित्र बोलाइन्छ र न्यायधिसले उनीहरूलाई दोषी वा निर्दोष ठहर गर्न कुन कानून लगाउने भन्ने बारे बताउँछन्।"

जब जुररहरू प्यानलमा हुन्छन्, उनीहरूलाई सामान्यतया केसको बारेमा कसैसँग कुरा नगर्न वा अनलाइन जानकारी नहेर्न निर्देशन दिइन्छ, होरन भन्छिन्।
सबै प्रमाण र साक्षीहरूको बयान सुनिसकेपछि जुरीलाई छलफल गर्न एक कोठामा लगिन्छ जहाँ उनीहरूले आफ्नो निर्णय सुनाउँछन्।
“सबै मुद्दाहरू माथि छलफल गर्न १२ जनालाई केही समय लाग्न सक्छ, धेरै घण्टा लाग्न सक्छ, उनीहरूले प्रतिवादी उचित शङ्काभन्दा बाहिर दोषी छ, वा दोषी नभएको कुरामा अनिश्चित छन् भन्ने बारे निष्कर्ष निकाल्नु पर्छ।"
निर्णयमा पुग्ने
होरन भन्छिन् कि जुरीले सर्वसम्मत निर्णयमा पुग्नै पर्छ, वा केही अवस्थामा १२ मध्ये ११ जनाको फैसला पनि स्वीकार गरिन्छ।
"अस्ट्रेलियाका धेरैजसो स्थानहरूमा हत्या जस्ता गम्भीर मुद्दाहरूमा सबै १२ जुररहरू सहमत हुन आवश्यक हुन्छ, कहिलेकाहीँ १२ मध्ये ११ जनाको निर्णयलाई न्यायाधीशद्वारा स्वीकार गर्न सकिन्छ।"
अनि जुरीमा सहमति नबनेको अवस्थामा चाहिँ के हुन्छ त?
बर्क भन्छन्, "जुरी सहमतिमा आउन नसकेको अवस्थालाई हंग जुरी भनिन्छ। यसको अर्थ बा नयाँ ट्रायल हुनुपर्छ - फेरी नयाँ ट्रायल अर्कै जुरीका साथ सुरु गर्नु पर्छ।"
जुरी ड्युटी गरेवापत दाम पाइन्छ?
जुरी ड्युटी गरे बापत दिनको हिसाबले रकम पाइने होरन बताउँछिन्। जसमा रोजगारदाताले जुरी ड्युटीमा भएको व्यक्तिलाई सामान्यतया काम गर्दा भुक्तानी गर्ने रकम दिनु पर्छ।
"प्रत्येक राज्य र प्रदेशले जुरी सेवामा उपस्थित हुन तपाईँलाई प्रत्येक दिन केही पैसा दिन्छ। तर यदि त्यो तपाईँले सामान्यतया कमाउने जत्तिकै छैन भने, तपाईँको मालिकले त्यस रकमलाई कभर गर्नै पर्छ।"
धेरैजसो मानिसहरू सुरुवातमा जुरीमा सेवा गर्ने कुरालाई लिएर डराउँछन्, तर यसको अनुभव बटुली सकेका मानिसहरूले भने यो अनुभवको कदर गर्छन्, होरन भन्छिन्।
"यो जीवनमा एक पटक लिन सकिने धेरै मनमोहक अनुभव हो। र अनुसन्धानले देखाएको छ कि मानिसहरू यसलाई फेरि गर्न पाउँदा खुसी हुन्छन्।"
The Jury: Death on the Staircase बुधबार ६ नोभेम्बरदेखि हरेक हप्ता एसबीएसमा राति ८:३० बजे प्रसारण हुन्छ र त्यसपछि एसबीएस अन डिमान्डमा नि:शुल्क स्ट्रिम गर्न उपलब्ध हुन्छ।
तपाईंका केही प्रश्न वा विषय वस्तु छनौटलाई लिएर कुनै सोच छन् ? हामीलाई australiaexplained@sbs.com.au
मा इमेल पठाउनु होस्।




