मुख्य बुँदाहरू:
- अस्ट्रेलियनहरूले पैतृक सम्पत्ति पाउँदा कर तिर्नु पर्दैन।
- पैतृक सम्पत्ति कसको नाममा जान्छ भनेर निर्धारण गर्नलाई ‘एक्जेक्युटर’ नियुक्त गरिन्छ ।
- कसैले आफ्नो इच्छापत्रमा अर्थात् 'वील' तयार पारेको छैन भने चाहिँ अदालतले हस्तक्षेप गर्न सक्छ।
अस्ट्रेलियामा बसोबास गर्ने मानिसको मृत्यु पछि उनीहरूले छाडेर जाने नगद-जिन्सी लगायतका सबै श्रीसम्पती वा ‘एसेट’लाई ‘डिसिज्ड इस्टेट’ भनिन्छ।
अनि अरू देश जस्तै, अस्ट्रेलियामा पनि, मृतकको सम्पत्ती ‘बेनेफिसरी’ भनिने आफन्तजन लगायत साथीभाई वा उनीहरूको इच्छा अनुसारका विभिन्न सँघ-संस्थाहरूको नाममा नामसारी हुन्छ।
इस्टेट ट्रस्टिज भिक्टोरियाकी एक्जेक्युटिभ जनरल म्यानेजर मेलिसा रेनल्ड्स एसेटलाई यसरी बुझाउँछिन्, “एसेट भनेको व्यवसायिक मूल्य भएका घर, बैंक एकाउन्ट, कार, शेयर वा घरभित्र रहेका सरसामान हुन्। तर कुनै एसेट चाहिँ भावनात्मक मूल्य राख्ने हुन सक्छ।”
“कुनै सम्पत्ति उपहारका रूपमा पनि दिन मिल्छ जस्तो कि, मैले कुनै ‘ए’ भन्ने व्यक्तिलाई आफ्नो कार दिन सक्छु, अथवा मेरो पैत्रिक सम्पत्तिबाट मैले आफ्नो छिमेकीलाई १०,००० डलर दिन सक्छु र बचेको बाँकि सबै सम्पत्ति मैले मेरो सन्तानको नाममा छोडिदिन सक्छु," उनी भन्छिन्।
'एक्जेक्युटर' भनेको को हो?
वील वा वसियतले मानिसको मृत्यु पछि उसको सम्पत्ति कसले पाउने बताउँछ र यो तयार गर्दा कुनै व्यक्ति वा कम्पनीलाई ‘एक्जेक्युटर‘को रूपमा नियुक्त गरिन्छ।
एक्जेक्युटर चाहिँ एसेटका 'ट्रस्टी' हुन्।
उनीहरूको जिम्मेवारी एक कानूनी प्रतिनिधिका रुपमा हुन्छ जसले वीलमा उल्लेख गरिए अनुसार सम्पत्तिहरू हस्तान्तरण र सबै सर्तहरू पूरा सुनिश्चित भए नभएको हेर्छन्।
अनि कतिपय मामिलामा त एक्जेक्युटर नै सम्पत्ति पाउने व्यक्ति अर्थात् ’बेनेफिसरी‘ पनि हुन सक्छन्।
फ्लोरान्टे एबड एक वकिल हुन्।
उनी भन्छन् कि मृतकले पहिल्यै नै एक्जेक्युटर नियुक्त नगरेको भए, अदालतले हस्तक्षेप गर्न सक्छ।
“यदि वीलमा एक्जेक्युटर नियुक्त गरिएको छैन भने चाहिँ सुप्रीम कोर्टले ‘एडमिनिस्ट्रेटर’ नियुक्त गर्छ। वीलमा उल्लेख भएको ट्रस्टीलाई एक्जेक्युटर भनिन्छ भने अदालतले बनाएको ट्रस्टीलाई चाहिँ एडमिनिस्ट्रेटर भनिन्छ,” एबड भन्छन्।
यदी कोही एक्जेक्युटर बनेका छन् तर उनीहरूलाई यो जिम्मेवारी निभाउन गाह्रो हुन्छ जस्तो लाग्यो भने, त्यस्तो एक्जेक्युटर बसोबास गर्ने राज्यको अर्को ट्रस्टीलाई आफ्नो सट्टामा काम गरिदिन आग्रह गर्न सकिन्छ।
तर यसका लागि एक्जेक्युटर वा एडमिनिस्ट्रेटरले बेनेफिसरीलाई अनिवार्य रूपमा सम्पर्क गरेर 'प्रोबेट'को लागि अप्लाइ गर्नु पर्छ।

'प्रोबेट' भनेको के हो त?
"प्रोबेट भनेको कोर्टको एक आदेश हो, जसले वील कानूनी रूपमा मान्य छ भन्ने प्रमाणित गर्छ र सम्पत्तिको व्यवस्थापन गर्न एक्जेक्युटरलाई अनुमति दिन्छ," रेनल्ड्स भन्छिन्।
सुप्रिम कोर्टले प्रोबेटका लागि आएका सबै आवेदनहरूको रेकर्ड राख्छ।
मानिसहरूले आफू बस्ने क्षेत्र वरिपरिको सुप्रिम कोर्ट प्रोबेट रजिस्ट्री अनलाइनमा हेर्न सक्छन्।
वील नबनाएको अवस्थामा सम्पत्ति कसले पाउँछ?
यदि कसैको वसियत वा ईच्छापत्र नै नबनाई मृत्यु भयो भने उसको सम्पत्ति कसले पाउँछ भन्ने बारे कानूनले निर्धारण गर्ने रेनल्ड्स बताउँछिन्।
"यस्तो अवस्थामा कसले सम्पत्तिको कति भाग पाउँछन् भनेर निर्धारण गर्ने एक फर्मुला कानूनमा छ। सम्पत्तिमाथि सबैभन्दा धेरै हक भएको मानिने व्यक्तिले प्रोबेटको लागि एप्लिकेसन हाल्न सक्छन्, वा पब्लिक ट्रस्टी नियुक्त गर्न सक्छन्।"
यदि वील बनाउनु अघि नै कसैको मृत्यु भयो भने यस्तो अवस्थालाई 'डायिङ इन्टेस्टेट' भनिन्छ।मेलिस्सा रेनल्ड्स
वील नहुँदा कुन एसेट कसलाई कति दिने निर्धारण उत्तराधिकारी सम्बन्धि ऐन 'सक्सेसन एक्ट'ले गर्छ।
बिभिन्न राज्य तथा प्रदेशहरूमा यसबारे फरक व्यवस्था रहेता पनि, प्राय धेरै जस्तो सम्पत्ति मृतकको पार्टनरले अनि बाँकी चाहिँ उनीहरूको सन्तानले पाउँछन्।
एबड भन्छन् कि न्यु साउथ वेल्सको सक्सेसन एक्टले सम्पत्ति पाउने आफन्तहरूलाई प्राथमिकताको आधारमा सुचिकृत गरेको छ।
“श्रीमती वा डीफ्याक्टो पार्टनर छन् तर सन्तान छैनन् भने चाहिँ सबै सम्पत्ति पार्टनरको नाममा जान्छ। यदि सन्तान र पार्टनर दुबै छैनन् भने आमाबाबुलाई सम्पत्ति जान्छ,” एबड भन्छन्।
“आमाबाबु पनि नभएको अवस्थामा नजिकका आफन्त जस्तै कि काका-काकीलाई जान्छ। त्यो पनि नभएको अवस्थामा हजुरबुवा हजुरआमालाई, उनीहरू पनि नभएको अवस्थामा नातिनातिनालाई र यी कोही छैनन् भने चाहिँ मृतककको सम्पत्ति राज्यको हुन्छ।”

कर सम्बन्धी प्रावधानहरू के छन्?
अस्ट्रेलियामा पैतृक सम्पत्ति पाउँदा कर नलाग्ने भए पनि, अन्य आर्थिक दायित्व भने हुन्छन्।
यदि पैतृक सम्पत्ति बेच्ने हो भने चाहिँ अस्ट्रेलियन ट्याक्ससेन अफिस वा 'एटीओ'पनि भनिने कर कार्यालयलेत्यस्तो लेनदेन वा कारोबार माथि ट्याक्स लगाउँछ।
सर्टिफाइड पब्लिक एकाउन्टेन्ट अक्रम एल-फक्री भन्छन्, “यदि त्यो इस्टेट मृतक बस्ने गरेको घर हो भने त्यसमा ट्याक्स लाग्दैन, तर उसका दुई वटा घर छन् र एउटालाई भाडामा लगाएको छ भने चाहिँ, भाडामा लगाएको घरमा ‘क्यापिटल गेन ट्याक्स (सीजीटी)’ लाग्छ,” एल-फक्रीले बताए।
सन् १९८५ पछि किनेको घर वा भवन 'इन्भेस्टमेन्ट प्रपर्टी' हो भने त्यसलाई बेच्दा सीजीटी तिर्नु पर्छ।
रेसिडेन्सियल प्रपर्टीको हकमा भने कर छुट अवधी वा ‘ट्याक्स फ्रि पिरियड‘ हुन्छ।
त्यसैले सम्पत्ति पारिवारिक सदस्यमा बाडफाड गर्नु पर्ने छ भने पनि सुरुमै यसलाई बेचेर बाँड्नु भन्दा बेनेफिसरीको नाममा नामसारी गर्न सुझाव दिइने एल-फक्री बताउँछन्।
“बेनेफिसरीको हकमा दुई वर्षसम्म क्यापिटल गेन ट्याक्स बिना नै बेच्ने सुविधा दिइएको छ, तर यदि बेनेफिसरी आफैँ यसमा बस्न चाहन्छन् र कुनै पनि आम्दानीको स्रोतको रूपमा यसलाई प्रयोग गर्दैनन् भने दुई वर्ष पुरा भएपछि पनि यसमा ट्याक्स लाग्दैन।”
ब्याङ्क खाताहरू पनि बेनेफिसरीको नाममा जाने भएकाले ट्याक्स रिटर्न गर्दा बैंकको ब्याजदर पनि उल्लेख गर्नु पनि महत्वपूर्ण हुन्छ।
यसै गरी यदि डिसीज्ड इस्टेटमा शेयर पनि समावेश छ भने त्यसलाई बेचेर आएको क्यासबेनेफिसरी बिच बाँडिएको छ भने यसमा पनि क्यापिटल गेन ट्याक्स तिर्नु पर्ने हुन्छ।
विदेशमा रहेको पैतृक सम्पत्तिमा कस्तो नियम लागू हुन्छ?
एल-फक्री विदेशको पैतृक सम्पत्तिमा पनि ट्याक्स फ्रि समय लागु हुने बताउँछन्।
“मानौँ युरोपमा प्राप्त गरेको सम्पत्ति दुई वर्ष भित्र बेचेर अस्ट्रेलिया ल्याइएको छ भने,अस्ट्रेलियाको कानून अनुसार नै यसमा कुनै पनि ट्याक्स लाग्दैन," एल-फक्री भन्छन्।
तर यस सम्बन्धि कानून सम्पत्ति भएकै देशमा भने फरक हुन सक्छ, र त्यसलाई पनि मान्नु पर्छ।
त्यस्तै बेनेफिसरी अस्ट्रेलियाको बासिन्दा होइन भने विशेष किसिमको सीजीटी नियमहरू लागू हुन्छन्।
यसबारे आर्थिक सल्लाहकारसँग सुझाव लिनु उपयुक्त हुन्छ।

वीलमा आफ्नो नाम छैन भने सम्पत्ति दाबी गर्न मिल्छ?
यदि वील छैन वा आफू पनि सम्पत्तिका लागि हकदार भएको विश्वास गर्दा वीलमा भने आफूलाई नसमेटिएको भए वा वील नै नभएको अवस्थामा के गर्ने त?
यस्तो अवस्थामा 'सक्सेसन् एक्ट'अन्तर्गत चुनौती दिन सकिन्छ।
यसलाई अस्ट्रेलियामा 'पब्लिक फ्यामिलि प्रोभिजन क्लेम' भनिन्छ।
“तपाईँ मृतकको पूर्व पत्नी वा छोराछोरी हुँदैमा सम्पति पाइँदैन। मृतकसँग आर्थिक लेनदेनको सम्बन्ध देखाउनु पर्छ। मृतक नहुँदा कसरी आफू कसरी सम्पत्ती उपभोग गर्नबाट बञ्चित भएको छु र वसियतबाट आफूले पाउनुपर्ने केही नपाएको भनेर देखाउन सक्नुपर्छ” एबडले भने।
सुप्रिम कोर्टले यस्तो निवेदकको दाबी-परिस्थितिलाई हेरेर उक्त वीलमा परिवर्तन समेत ल्याउन सक्ने पनि उनी बताउँछन्।
“नियम यस्तै हुन्छ भन्ने छैन, तर सुप्रिम कोर्टले दाबीको अवस्थालाई राम्ररी विचार गर्छ।”फ्लोरान्टे एबड
यस्तो अवस्थामा पैतृक सम्पत्ति प्राप्त गर्न केही कठिनाइ हुने भए पनि, ल इन्स्टिच्युट अफ भिक्टोरिया, र ल सोसाइटी अफ न्यु साउथ वेल्सले तपाईँले बोल्ने भाषामा सहयोगका लागि सलिसिटरहरूको नाम उपलब्ध गराउँछन्।
प्रत्येक राज्य र प्रदेशहरूमा स्टेट ट्रस्टी उपलब्ध हुने मेलिसा रेनल्ड्सको भनाइ छ।
“मृतकको सम्पत्ति सम्बन्धी विषयमा दक्षता राख्ने स्टेट ट्रस्टी वा सलिसिटरले यसमा सहयोग गर्न सक्छन्।”
वील बनाउने वा एक्जेक्युटर को भूमिका निर्वाह गर्ने बारेमा स्टेट ट्रस्टीजको वेबसाइटमा जानकारीहरू पाउन सक्नुहुन्छ।








