मुख्य बुँदाहरू:
- बुनेर बनाइने वस्तुहरूले, ती बनाउने व्यक्ति, उनको भूमि र उनका पुर्खाबिचको सम्बन्धलाई स्पष्ट रूपमा दर्साउँछ।
- बुन्ने प्रक्रियालाई एक किसिमको ध्यान र सामाजिक सम्बन्ध विकास गर्ने कार्यको रूपमा लिइन्छ।
- मानिसहरूको आ-आफ्नो छुट्टै बुन्ने तरिका हुन सक्छ।
- पुरुष र महिला, दुवैले बुन्छन्।
फर्स्ट नेसन्स मानिसहरूको विविधता उनीहरूले बनाउने सिलाइ बुनाइका वस्तुहरूमा झल्किन्छ।
यसरी बनाइने हरेक वस्तुले, ती बनाउने व्यक्ति, उसको भूमि र उसक पुर्खाबिचको सम्बन्धलाई स्पष्ट रूपमा दर्साउँछ।
सबै जना मिलेर नर्कट (डाँठ खोक्रो हुने एक किसिमको घाँस), रुखका बोक्रा र बिरुवा जस्ता स्थानीय सामाग्रीहरू जम्मा गरेर बुनाइ प्रक्रिया सुरु हुन्छ।
त्यसपछि तिनलाई विशेष डिजाइनमा बुनेर बास्केट, कचौरा, डोरी अनि जाली जस्ता सामानहरू बनाइन्छ।
उत्तरी न्यु साउथ वेल्सकी गमेरोइ महिला शेरी जोन्सन एक कलाकार तथा शिक्षाविद् हुन्।
उनले यसरी बुन्न १६ वर्षको उमेरदेखि सुरु गरेकी थिइन्।
“बुनाइलाई अङ्ग्रेजीमा ‘वीभिङ’ भनेर चिनिन्छ। तर फर्स्ट नेसन्सको मातृभाषामा यसलाई चिनाउने विभिन्न शब्दहरू छन् किनभने बुनेर बन्ने सामानको बारेमा भन्दा त्यो बनाउने प्रक्रियाको बारेमा कुरा गरिन्छ,” जोन्सनले बताइन्।
“तर पश्चिमी समुदायमा जुन कार्यलाई वीभिङ भनिन्छ, वास्तवमा त्यसको महत्त्वपूर्ण पक्ष ती सामानले बोकेको सांस्कृतिक ज्ञान हो - कुन बिरुवा टिप्ने, सालको कुन समयमा र भविष्यमा खानलाई पनि पुग्ने गरेर के बोटबिरुवा उपलब्ध छ भनेर जान्ने।”

बुनाइले मानिसहरूबिच सम्बन्ध विकास गर्छ
बुनेर सामानहरू बनाउनु आदिवासी समुदायका लागि एक सामाजिक प्रक्रिया हो।
जोन्सन बताउँछिन् कि यस समयमा विभिन्न पुस्ताका मानिसहरू भेला भएर कुराकानी गर्छन्।
बुनाइ किन गरिँदै आएको हो र यसले कस्तो किसिमको सांस्कृतिक मान्यता बोकेको छ भन्ने कुराहरूको बारेमा सिकाइन्छ, ताकि आउँदो पुस्ताले पनि यसलाई निरन्तरता दिन सकुन्।
बुनेर केही बनाउँदा सिलाउन सिक्नु मात्र ठुलो कुरा नभएको उनको भनाइ छ।
"आफूले बुन्दा प्रयोग गरेको सामानको महत्त्व बुझ्नु, त्यसलाई किन प्रयोग गरिएको छ, तपाईँले बनाइरहेको सामाग्री के गर्न प्रयोग गरिन्छ, र त्यसलाई सही तरिकामा कसरी चलाउने भनेर बुझ्नु महत्त्वपूर्ण हुन्छ,” जोन्सनले बताइन्।
हो - पुरुषहरूले पनि बुन्छन्
न्यु साउथ वेल्सको न्युकासलका लुक रसल, वरिमी भूमिका ‘कस्टोडियन’ हुन्। अर्थात्, उनी उक्त भूमिको संरक्षणका लागि जिम्मेवार छन्।
उनले रुखका बोक्राहरूबाट परम्परागत रूपमा बनाइने डुङ्गाहरू, माछा मार्ने भाला लगायत अन्य औजारहरू बनाउँदै, आफ्नो समुदायका ज्येष्ठ सदस्यहरूको ज्ञान अरूलाई हस्तान्तरण गर्दै छन्।
विशेष गरी बुनेर बनाइएका डोरीले हामी पुरुषहरूको उपकरणमा ठुलो भूमिका खेल्छ। त्यसलाई डुङ्गा सुरक्षित राख्न, माछा मार्ने भाला बनाउन प्रयोग गरिन्छ।लुक रसल, सांस्कृतिक ज्ञाता
सामान्यतया सोचिने भन्दा अलि फरक कुरा के हो भने, पुरुषहरूले पनि बुन्ने गर्छन्।
परम्परागत रूपमा, केटाहरूलाई पनि सानै उमेरदेखि केटीहरू सँगै बुन्न सिकाइने, र यो सबै महिलाको नेतृत्वमा हुने रसलले बताए।

बुन्नु एक किसिमको ध्यान पनि हो
बुन्ने प्रक्रिया एक किसिमको ध्यान अर्थात् मेडिटेसन नै हो। यो, तपाईँले डायरीमा आफ्ना सोचहरू लेखेको जस्तो हो।
शेरी जोन्सन भन्छिन् कि वास्तवमा ‘माइन्डफुलनेस’ तब आउँछ, जब तपाईँले कुनै पनि काममा आफ्नो पूरा ध्यान केन्द्रित गर्नु हुन्छ।
“हाम्रो समुदायले एक अर्कासँग कुरा साट्ने तरिका नै यसरी बुन्नका लागि सबै जना भेला भएर हो,” जोन्सनले बताए।
“कहिलेकाहीँ मानिसहरू चिया पिउन र ‘सिस्टर’हरूसँग बस्न मात्र पनि आउँछन्।”
बुन्ने तरिकामा भिन्नता
बुन्नलाई प्रयोग गरिने बोटबिरुवाको कुरा गर्दा चाहिँ, घाँस अनि रुखहरू ठाउँ अनुसार फरक हुने भएकाले त्यसबाट बन्ने सामान अनि बुन्ने तरिका पनि फरक हुन्छन्।
अनि बुन्ने व्यक्तिले पनि आफ्नै तरिकामा, आफ्नो 'सिग्नेचर स्टाइल'लाई पनि ल्याउने जोन्सन बताउँछिन्।
फरक किसिमका वस्तुहरूको प्रयोग गर्दै रङ्ग निकालिने पनि उनको भनाइ छ।
कहिलेकाहीँ बुनेर बनेको सामानको प्रक्रियाले पनि त्यो बनाउने व्यक्तिको आफ्नो गुण, विशेषता र सीप देखाउँछन्।
नर्थ क्वीन्सल्यान्डको कार्डवेल क्षेत्रका कलाकार नीफाइ डेनेम, गिरामाइ भूमिका परम्परागत मालिक हुन्।
उनी एक ‘आर्ट प्राक्टिस’ चलाउँछन्, र आफू घरमा भएको समयमा आनन्दले बुन्ने गर्छन्।
उनी भन्छन् कि, कहिलेकाहीँ त कुनै वस्तु हेरेर नै त्यो कसले बुनेको हो भनेर ठम्याउन सकिन्छ।
"सबै कलाकारले फरक तरिकाबाट आफ्नो बुनाइ सुरु गर्छन्," उनले बताए।
"अनि त्यो बनिसकेको सामानको तल्लो भागलाई हेरेर त्यो बायाँ हातको कि दायाँ हातको काम हो भनेर थाहा पाइन्छ, अनि कसले बनाएको थाहा हुन्छ।"

हामी पनि सामेल हुन सक्छौँ?
भिक्टोरियाको कुलिन राष्ट्रका टङ्गरङ्ग समुदायकी क्यासी लेदेम कलाका विभिन्न विधामा पोख्त छिन् र बुन्ने काममा पनि खप्पिस छिन्।
उनले गैरआदिवासी व्यक्तिहरूका लागि फर्स्ट नेसन्स वर्कसपहरू सञ्चालन गर्दै आएकी छिन्।
“गैरआदिवासी मानिसहरूले भाग लिँदा उनीहरूले हामी फर्स्ट नेसन्सहरूको इतिहास र हाम्रा पुर्खाहरूको बारेमा बुझ्छन्,” लेदेमले बताइन्।
सबैभन्दा महत्त्वपूर्ण कुरा भने उनीहरूलाई यी कार्यशालाहरूको आदिवासी मानिसहरूले सञ्चालन गरेका हुन् भन्ने ज्ञान हुनु र उनीहरूले यसको सांस्कृतिक मान्यतालाई बुझ्नु हो।क्यासी लेदेम, कलाकार
आदिवासी समुदायका कलाको बारेमा सिक्दै गर्दा, समुदायका नियम, तरिका तथा प्रोटोकलहरूको सम्मान गर्न असाध्यै जरुरी छ।
आफूले सिकेको कुरा हामीले अरूसँग अवश्य साट्न सक्छौँ, तर त्यसलाई आफ्नो व्यक्तिगत फाइदाको लागि भने दुरुपयोग गर्नु हुँदैन।
साथै, हामीले आफ्ना फर्स्ट नेसन्स मेण्टरहरूले सिकाएका कुराहरूप्रति निरन्तर रूपमा सम्मान देखाउनु पर्छ।
यस्ता वर्कसपहरूको सामान्यतया स्थानीय काउन्सिलहरूले प्रचार गरेका हुन्छन्।
तपाईँले फर्स्ट नेसन्सको नेतृत्वमा सञ्चालित बुनाई गर्ने समूहहरू र यस्तै सम्बन्धित महोत्सवहरूको बारेमा सर्च गर्न सक्नु हुन्छ, र त्यस्ता अवसर सबैको लागि खुला हुने लेदेमले बताइन्।
“कार्यशालाहरूको प्रचार गर्दा यी फर्स्ट नेसन्स मानिसहरूद्वारा सञ्चालित हुन् भनेर खुलाउन सबैभन्दा जरुरी छ। गैर आदिवासी मानिसहरू पनि भेला भएर सिक्छन्। मैले इन्स्टाग्राममा यसको बारेमा पोस्ट गर्छु, वा मानिसहरूले एक अर्का बाट थाहा पाउँछन्,” लेदेमले बताइन्।
प्रचार र प्रदर्शनी
आदिवासी समुदायको संस्कृति र परम्परा झल्काउने बुनेर बनाइएका वस्तुहरू पछिल्लो समयमा चर्चामा आएका छन्।
अस्ट्रेलिया भरका विभिन्न ठुला र साना ग्यालरीहरूमा यसका प्रदर्शनी र बिक्री हुन्छन्।
यसलाई सार्वजनिक र निजी स्थलहरूमा राखिनुका साथै, 'फेशन रनवे'हरूमा प्रस्तुत गरिएको हुन्छ।
लेदेम बताउँछिन् कि ग्यालरीहरूले फर्स्ट नेसन्स संस्कृति र समुदायको विविधतालाई प्रदर्शन गर्नु आवश्यक छ।
बुनाइले आदिवासी समुदायको विगत र वर्तमानलाई समेट्दै यसलाई भावी पुस्ताले अगाडी बढाउने हुनाले मानिसहरूले ग्यालरीमा प्रदर्शनी हेर्न जाँदा यसको सांस्कृतिक महत्त्व बुझ्न जरुरी रहेको उनको भनाइ छ।







