मुख्य बुँदाहरू:
- अस्ट्रेलियामा क्रिसमसको उत्सव २५ डिसेम्बरमा दिउँसोको समयमा भोज अर्थात् 'लन्च फीस्ट' गरेर मनाउने चलन छ।
- क्रिसमस विद्यालय बिदाको समयमा पर्ने भएको हुनाले, मानिसहरूले न्यानो मौसमको आनन्द लिँदै बाहिर समय बिताउन पाउँछन्।
- क्रिसमसको भोलिपल्ट अस्ट्रेलियनहरूले 'बार्बिक्यू' गर्दै 'बक्सिङ डे क्रिकेट टेस्ट'को खेल हेर्ने चलन रहेको छ।
अस्ट्रेलियामा क्रिसमस मनाउने धेरै तरिकाहरू छन्। यसमा केही युरोपेली चलनहरूको प्रभाव पनि देख्न सकिन्छ भने केही यहीँ सिर्जन भएका शैलीहरू छन्।
क्रिसमस २५ डिसेम्बरमा जिसस क्राइस्टको जन्मको सम्मानमा विश्वभरका इसाई धर्मावलम्बीहरूले मनाउने धार्मिक पर्व हो।
यस दिनलाई परिवारसँग प्रेम, दया र उपहार बाँड्ने समयको रूपमा लिइन्छ।
धेरै अस्ट्रेलियनहरूका लागि यो एक धार्मिक अवसर भएतापनि, कतिले क्रिसमसको आध्यात्मिक पाटोलाई मनाउने गर्दैनन्।
उनीहरूका लागि यो छुट्टीको समय परिवार र साथीहरूसँग समय बिताउने, आराम गर्ने र भोज गर्ने अवसरको रूपमा रहेको छ।
क्रिसमस 'लन्च'
अस्ट्रेलियामा सामान्यतया क्रिसमस उत्सवहरू २५ डिसेम्बरमा दिउँसो खाना खाने समय वा ‘लन्च टाइम’मा हुने गर्छ।
ब्रिसबेनका लुक बार्बेगलो जस्ता धेरै अस्ट्रेलियनहरूले यसलाई अनौपचारिक तरिकाले मनाउँछन्।
"ब्रिसबेनमा क्रिसमसमा प्रायः परिवारका सदस्यहरू, नयाँ व्यक्तिहरू, र साथीहरू भेला हुन्छन्। ह्याम, रोस्ट ह्याम, प्रअन जस्ता खानेकुरा र आँप जस्ता धेरै ताजा फलफूलहरू खाइन्छ। यो साँच्चै नै एकदम क्याजुयल रूपमा मनाइन्छ," बार्बेगलोले बताए।
एसबीएस फुड्सकी प्रबन्ध सम्पादक, फराह चेलियो बताउँछिन् कि क्रिसमसको भोजमा धेरै किसिमका परिकारहरू हुन्छन्।
"क्रिसमसमा ह्याम, प्रशस्त सि फुड, स्न्याकिङ बोर्डहरू, क्रिसमस, पुडिङ, टिरामिसु, ट्राइफल, पाभलोभा र त्यस्तै गरी आँप, आरु, चेरीहरू जस्ता धेरै ताजा फलहरू खाइन्छ," चेलियोले बताइन्।

"म क्रिसमसको दिन मलेसियन लाक्सा पनि खान लागि तयार हुन्छु। त्यस्तै, सि फुड, आइसक्रिम, केक वा प्यानटोने जस्ता चीजहरू म पक्कै पनि खान सक्छु। जस्तै कि सर्बिया र अन्य बाल्कन क्षेत्रका देशहरूको परम्परामा सि फुड सूप हुन्छ," उनले बताइन्।
मेक्सिकन पृष्ठभूमिकी पामेला लोपेज अरियागाले आफ्नो श्रीमानको परिवारसँग क्रिसमस मनाउने गरेको छिन्।
प्रत्येक वर्ष पालै-पालो परिवारका एक सदस्यले क्रिसमस लन्चको आयोजना गर्ने, र सबैले मद्दत गर्नको लागि एउटा पकवान ल्याउने गरेको उनले बताइन्।
"खाना पकाउने जस्ता सबै जिम्मेवारीहरू समान रूपमा बाँडिएको हुन्छ। एकजनाले सबैका लागि खाना पकाएर थकित हुनको सट्टा, जसले सक्छ उसले सलाद ल्याउँछ, र त्यसै गरी कसैलाई तरकारी, त कसैलाई मासु र मिठाई जस्ता अन्य चीजहरू ल्याउने जिम्मेवारी बाँडिएको हुन्छ," उनले भनिन्।
एसबीएस फूड्सकी चेलियो भन्छिन् कि, क्रिसमसको भोजको लागि तपाईँले केही लिएर जानु पर्ने छ भने, आफूलाई बनाउन आउने र सजिलो हुने कुरा छान्नुहोस्।
आफ्नो बाल्यकालमा परिवारसँग क्रिसमस नमनाए पनि आफ्ना साथीहरूको परिवारसँग उत्सवमा सामेल भएको उनको भनाइ छ।
"म सधैँ क्रिसमसको दिन मेरा साथीहरू र तिनीहरूका ग्रीक, इटालियन परिवारहरूसँग बिताउने गर्दथेँ। म चाहिँ सधैँ जाम शर्टब्रेड जस्तै बनाएर लाग्ने गर्थेँ, जुन एक विशिष्ट प्रकारको बोस्नियन मिठाई हो," उनले बताइन्।

बाहिर समय बिताउने
क्रिसमस विद्यालय बिदाको समयमा पर्ने भएको हुनाले, मानिसहरूले न्यानो मौसमको आनन्द लिँदै घर बाहिर नै मनाउने गर्दछन्।
"मेरो लागि क्रिसमसको दिन भनेको उठेर पौडी खेल्न जानु र बाहिर निस्कनु हो। मेरो लागि क्रिसमस दिनको रमाइलो भनेको समुद्र तटको नजिक जानु, पार्क जानु, र बाहिर केही समय बिताउनु हो । र यदि तपाईँ आफ्नो नजिकको पार्कमा जानुभयो भने, त्यहाँ ठुलो सङ्ख्यामा मानिसहरूले क्रिसमस मनाइरहेको पाउनुहुन्छ," चेलियोले बताइन्।
अरियागाले पनि क्रिसमसको समयमा त्यस्तै गर्न मन पराउँछिन्।
"कहिलेकाहीँ, जस्तै गत वर्ष, हामी पार्कमा गयौँ, जुन स्पष्ट रूपमा आश्चर्यजनक थियो । कसैले पनि आफ्नो घरमा सरसफाइ वा क्रिसमस भोज आयोजना गर्नु परेको थिएन। यो एकदमै अनौपचारिक भएकोले, र सबै जना राम्रो मुडमा भएकोले मलाई एकदम मन पर्छ," उनले बताइन्।
बक्सिङ डे
क्रिसमसको दिन २५ डिसेम्बरमा उपहार आदानप्रदान र भोज पछि धेरै मानिसहरू भोलिपल्ट बार्बिक्यू गर्दै अस्ट्रेलियाको राष्ट्रिय क्रिकेट टोलीको बक्सिङ डे टेस्ट म्याच हेर्छन्।
बार्बेगलो आफूले बक्सिङ डे टेस्ट म्याच कहिल्यै नछुटाएको बताउँछन् ।
"जब म सन् १९९० को दशक र सन् २००० को सुरु तिर हुर्किँदै थिएँ, अस्ट्रेलियाको क्रिकेट टोली निकै राम्रो थियो। त्यसैले क्रिसमस सधैँ वर्षकै सबैभन्दा रोमाञ्चक समय जस्तै लाग्थ्यो," उनले बताए।
"बक्सिङ डे क्रिकेट सुरु भएपछि सधैँ अस्ट्रेलियाले नै जित्छ जस्तो लाग्थ्यो। त्यस बेलाको वातावरण निकै सकारात्मक हुन्थ्यो। बक्सिङ डे टेस्ट क्रिकेटको एक खेल हो, जुन म साँच्चै हरेक वर्ष हेर्छु।"

आफ्नै क्रिसमस परम्पराहरू बनाउनुहोस्
घरपरिवार अनुसार क्यारोलहरू, मध्यरात मास, एड्भेन्ट क्यालेन्डरहरू, र क्रिसमस ट्रीहरू जस्ता धेरै प्रकारका परम्पराहरू छन्।
क्रिसमस फरक फरक तरिकाले मनाउन सकिने भएकोले अस्ट्रेलियन चलनहरूसँग आफ्नो परम्परा पनि समावेश गर्नुहोस्।







