जनवरी ६, २०२१ - अमेरिकाको संसद भवनमा त्यस बेलाका राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरूले घुसेर हुलदङ्गा गरेका थिए। राष्ट्रपतीय निर्वाचनको नतिजामा घोटाला भएको झुठो खबर फैलिए पछि उनीहरू प्रदर्शनमा उत्रिएका थिए।
उक्त गलत फैलाउनमा पनि राष्ट्रपति कै हात थियो- निर्वाचनमा घोटाला भएको भन्दै उनले फेसबुकमार्फत प्रदर्शनकारीहरूलाई प्रोत्साहन गरेका थिए।

ट्रम्पका ती फेसबुक पोस्टहरूले फेसबुकको सामुदायिक मापदण्डलाई उल्लङ्घन गरेको भन्दै, उक्त कम्पनीले तुरुन्तै ती पोस्टहरूलाई हटाएको थियो। र अन्य केही सामाजिक सञ्जालहरूले झैँ, फेसबुकले पनि ट्रम्पलाई निषेध गरेको थियो।
संस्थाका संस्थापक मार्क जकरबर्गले उक्त प्रतिबन्ध अनिश्चित समयको लागि लागु गरिएको भनी घोषणा गरेपछि, डोनाल्ड ट्रम्पका समर्थकहरूमाझ उनको राजनीतिक प्रभाव कम हुन पुगेको हो।
तर यसको साथै - सामाजिक सञ्जाल कम्पनीहरूले सार्वजनिक व्यक्तित्वहरूको भनाइहरूलाई कुन हदसम्म निषेध गर्न पाउने र नपाउने भन्ने प्रश्नहरू उठेका छन्।

यो पनि पढ्नुहोस्:

देशको सीमा बन्द गर्ने नीति बारे अस्ट्रेलियालीहरूको मत
जो बाइडेन राष्ट्रपति घोषित भए पछि फेसबुकले ट्रम्पको फेसबुक प्रतिबन्धको केसलाई आफ्नो निरीक्षण बोर्डलाई सुम्पिएको थियो।
उक्त स्वतन्त्र बोर्डमा विश्वभरका शैक्षिक, गैरसरकारी, मिडिया र राजनीतिक क्षेत्रका व्यक्तिहरू समावेश छन्। यस मामिलाको बोर्डले आज आफ्नो फैसला सुनाएको छ - ट्रम्पलाई फेसबुकबाट प्रतिबन्धित गरिनु ठिक कदम रहेको, तर प्रतिबन्धको अनिश्चिततामा भने उनीहरूले गुनासो पोखेका छन्।
डेनमार्ककी पूर्व प्रधानमन्त्री हेली-थोर्निङ्ग-स्मिड उक्त प्यानलकी सदस्य हुन्। उनले भनिन्,
फेसबुकले डोनाल्ड ट्रम्पलाई निषेध गरेर सही कदम चालेको हो, तर यसरी अनिश्चित समयलाई प्रतिबन्ध लागु गरेर उनीहरूले आफैँ नयाँ नियम बनाएका छन् - र यो गलत हो।
जनवरी ६ मा हिंसाको खतरा रहेको बेलामा फेसबुकले सही निर्णय लिएको, तर उक्त प्रतिबन्ध कहिले सम्म लागु गरिने भन्ने बारे निश्चित हुनु पर्ने, बोर्डका अर्का सदस्य माइकल म्याककोनेलको भनाइ छ।
बोर्डले फेसबुकको लागि ६ महिनाको म्याद प्रदान गरेको छ। डोनाल्ड ट्रम्पको फेसबुक प्रतिबन्धलाई पुनः अनुसन्धान गरी, अमेरिकामा हिंसाको सम्भावना कम भएमा यो प्रतिबन्ध हटाउने कि नहटाउने भनी फेसबुकले ६ महिनामा निर्णय लिनु पर्ने बताइएको छ।
फेसबुकका ग्लोबल अफेयर्स सम्बन्धी उपाध्यक्ष निक क्लेगले कम्पनीले बोर्डको निर्देशन अनुसार काम गर्ने बताएका छन्।
यस विषयमा डोनाल्ड ट्रम्प र फेसबुक, दुवैले नियम उल्लङ्घन गरेको, जकरबर्गका पूर्व कर्मचारी डेक्स हन्टर-टोरिकले बताए।
यी सबै माझ, पूर्व राष्ट्रपति ट्रम्पले निराशा व्यक्त गरेका छन्। उनले आफ्नो वेबसाइटमा लेखेका थिए - "फेसबुक, ट्विटर र गुगलले आफ्ना कदमबाट देशलाई नै लज्जित बनाएको छ"।

यी सामाजिक सञ्जालहरूले उनका अकाउन्टमाथि प्रतिबन्ध लगाए पछि, ट्रम्पको वेबसाइट उनको सार्वजनिक सञ्चार माध्यम बन्न पुगेको छ।
अहिलेको लागि भने ट्रम्पको अकाउन्ट प्रतिबन्धित नै रहने छ, तर यस वर्षको अन्त्यसम्म फेसबुक र इन्स्टाग्रममा उनी फिर्ता आउन सक्ने सम्भावना भने रहेको छ।
गत जनवरी महिनामा भएको दङ्गा पछि ट्रम्पको फेसबुक अकाउन्टलाई निषेध गरिनु ठिक रहेको, तर अनिश्चित समयको लागि निषेध गरिनु भने गलत रहेको, फेसबुकको निरीक्षण बोर्डले बताएको छ।
यो पूर्ण रूपमा अपमानजनक रहेको पूर्व राष्ट्रपति ट्रम्पको भनाइ छ।
यो पनि पढ्नुहोस्:

सामुदायिक पत्रकारितामा “धम्की”को चिन्ता









