रिपोर्ट सुन्न माथि रहेको मिडिया प्लेयरमा क्लिक गर्नुहोस्।
शनिबार, १ मे मा आयोजना भएको टास्मानिया राज्य निर्वाचनमा आफ्नो पार्टीको हार भएको स्वीकार बिपक्षी लेबर पार्टी कि नेत्री रिबेका व्हाइट द्वारा गरिएपछि प्रिमियर पिटर गटविनले आफ्नो सरकारलाई सत्तामा रहीरहन दिएकोमा मतदाताहरु समक्ष धन्यबाद ज्ञापन गरेका थिए।
पूर्व प्रिमियर विल हड्जम्यान द्वारा राजनीतिबाट बिदा लिएपछि टास्मानिया सरकारको नेतृत्व सुरु गरेका उनले बास स्थित आफ्नो सीट पनि जितेका छन्।
र आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै गटविनले कोरोनाभाइरसबाट आफ्नो राज्यका बासिन्दाहरुलाई सुरक्षित राख्न चाल्नुपरेका केहि कठिन कदम पछिपनि मानिसहरुले आफुलाई प्रदान गरेको समर्थन पनि धेरै महत्वपूर्ण रहेको बताए।

पछिल्लो मत गणनाका अनुसार राज्यमा बहुमतिय सरकार बनाउन चाहिने १३ सीट हात पार्न लिबरल पार्टीले अब एक सीट मात्र जित्न बाँकी रहेको छ। अर्को तर्फ बिपक्षी लेबर पार्टीले चाहिं अहिले सम्म ८ सीट जितेका छन् भने ग्रीन्स पार्टीका २ उम्मेदवारहरु निर्वाचित भएका छन्।
एबीसीका अनुसार अहिले गणना सकिन बाँकी रहेका झन्डै बीस प्रतिशत भोटका कारण ३ सीटहरुमा कसको जीत भएकोबारे पुष्टि हुन बाँकीनै रहेको छ।
तर लेबर पार्टी अर्को तीन वर्षको लागि बिपक्षीमै कायम रहने चाहिं प्रष्ट भएको छ। र आफ्नो पार्टीको हार स्वीकार्दै लेबर नेत्री रिबेका व्हाइटले कोरोनाभाइरस विरुद्ध पिटर गुटविन द्वारा चालिएका कदमको प्रसंसा गरेकी थिइन्।
व्हाइटले आफ्नो पार्टी द्वारा बहुमतिय सरकार बनाउन मतदाता समर्थन नपाएता पनि आफुहरुको काम चाहिं कम नभएको बताइन।

साथै लाइयन्स स्थित आफ्नो सीटमा पुनःनिर्वाचित हुन सफल भएकी व्हाइट ले अब लेबर पार्टीको नेतृत्व गर्न पाउने छन् कि छैनन् भन्नेबारे चाहिं अड्कलबाजी सुरु भैसकेका छन्।
अर्को तर्फ ग्रीन्स पार्टी प्रति पनि मतदाता समर्थन बढेको देखिएको छ।
उक्त पार्टी नेत्री क्यासी ओ'कोनोर ले होबार्ट स्थित क्लार्क नामक निर्वाचन स्थलमा जीत हासिल गर्नुका साथै चुनावमा सफलता हात पारेका अन्य ग्रीन्स उम्मेदवारहरुको पनि प्रसंसा गरेकी छन्।
यो पनि सुन्नुहोस्

टास्मानिया चुनाव: भोट कसरी हाल्ने बारे राम्ररी बुझ्न आग्रह




