आइतबार २१ फेब्रुअरीमा अस्ट्रेलियामा कोभिड-१९ खोप वितरण कार्यक्रम सुरू भयो। पहिलो दिनमा भ्याक्सिन लगाउने मध्य प्रधानमन्त्री स्कट मोरिसन पनि थिए।
सम्पूर्ण भ्याक्सिन रोलआउट प्रक्रियालाई जनसङ्ख्याको प्राथमिकता अनुसार ५ वटा चरणमा विभाजन गरिएको छ।
पहिलो चरणमा अस्ट्रेलियाका क्वारेन्टिन स्थल तथा सीमामा कार्यरत कर्मचारी, वृद्ध तथा अशक्त हेरचाह केन्द्रका कर्मचारी र निवासी, र अग्र मोर्चामा खटिएका स्वास्थ्य कर्मचारीहरूले खोप लगाउन पाउने छन्।
दोस्रो चरणमा भने ७० वर्ष माथिको जनसङ्ख्या, अन्य स्वास्थ्य कर्मचारीहरू र ५५ वर्ष कटेका आदिवासी एवं टोरेस स्ट्रेट आइल्याण्डर मानिसहरू पर्दछन्। त्यस्तै, कुनै अन्तर्निहित या गम्भीर स्वास्थ्य समस्या भएका जवान व्यक्तिहरू र आपतकालीन सेवा जस्ता उच्च जोखिममा काम गर्ने मानिसहरू पनि दोस्रो चरणमा पर्दछन्।
तेस्रो चरणमा ५० वर्ष देखि ६९ वर्षका मानिसहरू, आदिवासी एवं टोरेस स्ट्रेट आइल्याण्डर व्यक्तिहरू, र उच्च जोखिममा काम गर्ने अन्य कर्मचारीहरू पर्दछन्।
चौथो चरणमा अस्ट्रेलियाका १८ वर्ष भन्दा माथिका बाँकी वयस्क जनसङ्ख्या पर्दछन्।
पाँचौं चरणमा भने १८ वर्ष भन्दा मुनिका व्यक्तिहरूलाई, स्वास्थ्य सल्लाह अनुसार खोप लगाइने योजना छ।
यो पनि पढ्नुहोस्:

अस्ट्रेलियामा तपाईँले कसरी कोभिड-१९ विरुद्धको खोप लगाउन सक्नुहुन्छ?
खोप वितरण बारे जनमाझ रहेका अन्य थुप्रै प्रश्नहरूको बारेमा एसबीएस न्युजले केही विज्ञहरू सँग कुरा गरेको छ।
गर्भवती महिलाहरूका कोभिड-१९ विरुद्धको खोप सुरक्षित हुन्छ कि हुँदैन?
खोप सम्बन्धी सल्लाह दिने समूह अस्ट्रेलियन टेक्निकल ग्रुप अन इम्युनाइजेसनको (अटागी) अनुसार गर्भवती महिलाहरू कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम वरिपरि नभएमा उनीहरूले गर्भावस्था पछि नै खोप लगाउँदा उचित हुन्छ।
आउने बच्चाको लागि खोप हानिकारक हुन्छ भनेर अहिलेसम्म कुनै प्रमाण नरहेको, तर सकेसम्म सावधान हुनका लागि यस्तो सल्लाह दिइएको युनिभर्सिटी अफ सिड्नीकी प्राध्यापक जुली लीस्कले बताइन्।
यसै कारण अहिले सम्म अस्ट्रेलियामा खोपका क्लिनिकल परीक्षणहरूमा कुनै गर्भवती महिलालाई संलग्न गराइएको छैन, र यसबारे जानकारी पनि कम नै छ।

यद्यपि, अमेरिका र बेलायतमा भने खोपको परीक्षणमा संलग्न केही महिलाहरूलाई आफू गर्भवती रहेको थाहा थिएन, र केही महिलाहरू परीक्षण अवधि भित्र गर्भवती भएका थिए। ती महिलाहरूलाई केही गम्भीर नकारात्मक असर परेको कुनै रिपोर्ट अहिलेसम्म भने आएको छैन।
यस विषयमा थप जानकारी सङ्कलन भए पछि गर्भवती महिलाहरूका लागि खोप बारे सुझावमा पनि परिवर्तन आउने प्राध्यापक लीस्क बताउँछिन्।
अटागीको सल्लाह अनुसार, फाइजरको बायोएनटेक भ्याक्सिनले महिलाहरूको गर्भवती हुने क्षमतालाई कुनै असर गर्दैन। त्यस्तै, स्तनपान गराइ रहेका महिलाहरूले खोप लगाएमा कुनै समस्या नआउने बताइएको छ।
कुनै किसिमको एलर्जी भएका मानिसहरूले यो खोप लगाउनु हुन्छ कि हुँदैन?
कुनै खाद्य पदार्थ, किरा र औषधीको एलर्जी भएका मानिसहरूले फाइजरको बायोएनटेक खोप लगाउँदा कुनै समस्या नआउने अटागीको सल्लाह छ।
तर, खोपको पहिलो डोज लगाए पछि कसैमा एनाफिल्याक्सिसको (anaphylaxis) समस्या देखा परेमा, या खोपमा भएको पोलीइथिलीन ग्लाइकोल नामक तत्त्वबाट एनाफिल्याक्सिस हुने व्यक्तिहरूलाई भने यो खोप लगाउन मनाही गरिएको छ।

कोभिड-१९ खोपहरूको प्रयोग पछि एलर्जीको समस्या आउने मानिसहरूको सङ्ख्या निकै कम रहेको, तर कुनै किसिमको एलर्जी समस्या भएका मानिसहरूले खोप लगाउनु अघि डाक्टरसँग सल्लाह लिनु पर्ने प्राध्यापक ग्यारी ग्रोम्यान बताउँछन्।
विश्व स्वास्थ्य सङ्गठनसँग रोग विज्ञानको विषयमा काम गरेका ग्रोम्यान, अस्ट्रेलियाको खोप समितिका एक सदस्य हुन्।
यो पनि पढ्नुहोस्:

अस्ट्रेलियामा कोभिड–१९: थाहा पाउनै पर्ने जानकारी नेपाली भाषामा
शरीरको प्रतिरोधात्मक शक्ति कम भएका मानिसहरूले खोप लगाउन हुन्छ कि हुँदैन?
शरीरको प्रतिरोधात्मक शक्ति कम भएका मानिसहरूलाई कोरोना भाइरसको जोखिम पनि कम हुने भएकाले उनीहरूले फाइजरको खोप लगाउँदा उचित हुने बताइएको छ।
तर, यस्ता स्वास्थ्य अवस्था भएका मानिसहरूलाई खोपको परीक्षण प्रक्रियामा संलग्न नगराइएको भएर, उनीहरूले खोप लगाउनु अघि व्यक्तिगत रूपमा डाक्टरको सल्लाह लिनु नै सबै भन्दा उचित हुने प्राध्यापक ग्रोम्यान बताउँछन्।
त्यस्तै, वृद्ध वृद्धहरूका लागि यो खोपको के-कस्तो जोखिम हुन सक्छ भन्ने बारेमा भने अटागीले कुनै ठोस सल्लाह दिएको छैन, र त्यस विषयमा खोप लगाउँदै जाँदा प्रत्येक व्यक्तिलाई मूल्याङ्कन गरिने बताइएको छ।
फाइजर र एस्ट्राजेनेका दुवै खोप लगाएको १४ दिनसम्म अन्य कुनै खोप नलगाउन आग्रह गरिएको छ।
रक्त दान गर्ने सन्दर्भमा भने खोप लगाएको ७ दिन बिते पछि मात्र रक्त दान गर्न अस्ट्रेलियाली रेड क्रस लाइफब्लडले बताएको छ।
कोभिड-१९ को बारेमा अस्ट्रेलियाको पछिल्लो जानकारीका लागि यहाँ जानुहोस्।
अस्ट्रेलियाको पछिल्लो समाचार, नेपाली भाषामा - सुन्नको लागि यो लिंकमा हेर्नुहोस्: https://podfollow.com/sbs-nepali






