अस्ट्रेलियामा जुलाई एकदेखि भएका परिवर्तनले तपाईँलाई कसरी प्रभाव पार्छ?

नयाँ आर्थिक वर्ष अर्थात् जुलाई एकदेखि न्यूनतम तलब र सुपरएन्नुएसनदेखि चाइल्ड केयर सम्बन्धी अनुदानमा सरकारले परिवर्तन गरेको छ।

A digital graphic showing power poles, money, blocks with ABC written on them, and a moneybox with a $1 coin being dropped into it.

A number of cost-of-living relief measures will come into effect on 1 July. Source: SBS / Karin Zhou-Zheng

नयाँ आर्थिक वर्ष लागे सँगै आल्बनिजी सरकारले विभिन्न परिवर्तनहरू गरेको छ।

व्यक्तिगत रूपमा तपाईँ र तपाईँको परिवारलाई यसले कस्तो प्रभाव पार्छ त?

सुपरएन्नुएसनमा वृद्धि

सन् २०२३ जुलाई एकदेखि रोजगारदाताले कर्मचारीहरूलाई कानुनी रूपमा तिर्नु पर्ने सुपरएन्नुएसन रकममा वृद्धि भएको छ।

सुपर भनेर पनि परिचित उक्त निवृत्तिभरण नयाँ आर्थिक वर्षदेखि ०.५% ले बढेको छ।

तपाईँको कुल आयको ११% सुपरको रूपमा तिरिनु पर्ने नियम सरकारले ल्याएको हो।

सेवा निवृत्त भनेको चलनचल्तीको भाषामा 'रिटायर' हुनु हो।

रिटायर भएका मानिसहरूले आफ्नो सुपरको खाताबाट निवृत्तकालको कर मुक्त आय श्रोतमा सार्न पाउने रकम दुई लाख डलरले बढ्ने भएको छ।

यो वृद्धि पछि उक्त आय श्रोतको रकम १७ लाख डलरबाट १९ लाख डलर सम्म हुन पाउँछ।

त्यस्तै, निवृत्तकालको कर नलाग्ने आय श्रोत प्रयोग गर्ने मानिसहरूले आफ्नो सुपर खाताबाट प्रत्येक वर्ष निकाल्नु पर्ने रकम पनि बढेको छ।

यसरी निकाल्नु पर्ने रकमको दरमा भएको अस्थायी ५० % कटौती हटेको हो।

तलब वृद्धि

अस्ट्रेलियामा न्यूनतम ज्यालामा र कुनै अवार्ड अन्तर्गत काम गरिरहेका मानिसहरूको तलब जुलाई एकदेखि बढेको छ।

एक घण्टामा २१ डलर ३८ सेन्ट पाउँदै आएका कर्मचारीहरूले जुलाईदेखि प्रति घण्टा २३ डलर २३ सेन्ट पाएका छन्।

यसको मतलब, साप्ताहिक तलब (३८ घण्टाको तलब) ८८२.८० डलर भएको छ।

एज्ड केयरका केही कर्मचारीहरूले भने जुन ३० देखि न्यूनतम तलबमा उक्त ५.७५ % वृद्धि सहित थप १५ प्रतिशत बढी पाएका छन्।

पेन्सन पाउने उमेर

अस्ट्रेलियनहरू अब पेन्सन पाउन ६७ वर्ष को हुनु पर्ने छ।

यस अघि पेन्सनका लागि योग्य हुने उमेर ६६ वर्ष ६ महिना थियो।

यो नियम कमनवेल्थ सिनियर्स हेल्थकेयर कार्ड पाउनका लागि पनि लागु हुन्छ।

चाइल्ड केयर अनुदानमा वृद्धि

एक वर्षमा ८०,००० डलर भन्दा कम आम्दानी हुने परिवारहरूका लागि बालबालिकालाई चाइल्ड केयर पठाउँदा लाग्ने शुल्कको ९० % सरकारले बेहोर्ने भएको छ।

त्यस्तै, वार्षिक ५,३०,००० डलरसम्म अधिकतम आय भएका परिवारहरू चाइल्ड केयरको शुल्क सम्बन्धी अनुदान पाउन योग्य हुन्छन्।

अघिल्लो आर्थिक वर्षसम्म यो अधिकतम ३,४६,००० डलर कमाइ भएका परिवारहरू योग्य थिए।

बिजुलीको बिलमा राहत

न्यु साउथ वेल्स, साउथ अस्ट्रेलिया र दक्षिण पूर्वी क्वीन्सल्यान्डमा बिद्युतको भाउ बढ्ने बताइँदा, सङ्घीय सरकारले राज्य र प्रदेशहरूसँग मिलेर जनतालाई केही राहत दिने कोसिस गरेको छ।

क्वीन्सल्यान्डका योग्य घरपरिवारहरूले बिजुलीको बिलमा १,०७२ डलर छुट अर्थात् 'रिबेट' पाउने छन्।

त्यस कुल रकममा ७०० डलर सङ्घीय सरकारको 'कस्ट अफ लिभिङ' रिबेट अन्तर्गत हो भने, बाँकी ३७२ डलर 'क्वीन्सल्यान्ड एलेक्ट्रिसिटी रिबेट स्कीम' अन्तर्गत हो।

राज्यका अन्य परिवारले भने ५५० डलरको राहत पाउने छन्।

यसै गरी भिक्टोरियाका योग्य परिवारहरूले २५० डलर भुक्तानी पाउने छन्।

तपाईँले उक्त भुक्तानी पाउनु भएको छैन भने, थप २५० डलरको लागि भिक्टोरिया सरकारको 'पावर सेभिङ बोनस स्कीम' मार्फत आवेदन हाल्न सक्नु हुन्छ।

यसै गरी न्यु साउथ वेल्स र टास्मेनियाका योग्य परिवारहरूले ५०० डलर र वेर्स्टन अस्ट्रेलिया र नर्दन टेरिट्रीले भने १७५ डलर पाउने छन्।

यता एसीटीका योग्य परिवारहरूले पनि १७५ डलर राहत भुक्तानी पाउने छन्।

केही साना व्यवसायीहरू 'एनर्जी बिल रिलिफ फन्ड' अन्तर्गत रिबेटका लागि योग्य हुने छन्।

आमाबाबुले पाउने 'पेरेन्टल लीभ'

हाल कायम रहेको 'पेरेन्टल लीभ' भनेर चिनिने आमाबाबुले पाउने बिदा र 'ड्याड एन्ड पार्टनर पे' भनिने छुट्टाछुट्टै भुक्तानीलाई संयुक्त रूपमा बीस हप्ते योजनाको रूपमा लागु भएको छ।

नयाँ योजना अन्तर्गत आमाबाबु मध्ये एक जनाले सुरुमा पेरेन्टल लीभको लागि आवेदन हाल्न सक्छन्, र त्यस बिदालाई आफ्नो समय अनुकूल प्रयोग गर्न सक्छन्।

उदाहरणको लागि, बिदा लिने व्यक्तिले एक दिनको बिदा प्रयोग गरेर अरू दिन काम गर्न सक्छन् र बाँकी बिदा आफूलाई चाहिएको समयमा प्रयोग गर्न सक्छन्।

एकल आमा या बाबुहरूले पूरा २० हप्ताको बिदा पाउने छन्।

यसबाट १८०,००० परिवार लाभान्वित हुने अपेक्षा राखिएको छ।

भिक्टोरियाका 'अप्रेन्टिस'हरूलाई गाडी दर्तामा छुट

भिक्टोरियामा तालिम प्राप्त गर्दै काम गरिरहेका प्रशिक्षु अर्थात् 'अप्रेन्टिस'हरूले गाडीको वार्षिक दर्ता ('रेजो') निःशुल्क गर्न पाउने छन्।

राज्य सरकारले मे महिनाको बजेटमा गरेको उक्त घोषणाले एक व्यक्तिको वार्षिक ८६५ डलरसम्म बचत हुने बताइएको छ।

- एएपीको साथमा।


Share

4 min read

Published

By David Aidone

Presented by SBS Nepali

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now