कोरोनाभाइरस महामारीका कारण आप्रवासी सङ्ख्यामा आएको गिरावटले गर्दा घरहरूको माग घटेको हो।
अस्ट्रेलियाको आवास निर्माण क्षेत्रले सरकारलाई एक आप्रवासन योजना बनाएर "होमबिल्डर" कार्यक्रमको दायरा बढाउन आग्रह गरेको छ।
कोभिड-१९ का कारण आगामी तीन वर्षसम्म लगातार रूपमा घरहरूको मागमा भारी कटौती हुने एक नयाँ अनुसन्धानबाट खुलेको हो।
नेश्नल हाउसिङ फाइनान्स एन्ड इन्भेस्टमेन्ट कर्पोरेसन भनिने राष्ट्रिय आवास लगानी निगमद्वारा गरिएको उक्त खोजका अनुसार सन् २०२१ सम्ममा अस्ट्रेलियाको जनसङ्ख्या वृद्धि करिब २१४,००० ले घट्न सक्ने छ।
अस्ट्रेलियाको जनसङ्ख्या वृद्धिमा ६० प्रतिशत हात आप्रवासनको रहने गरेको छ र महामारीका कारण हाल यात्रामा प्रतिबन्ध र अन्तर्राष्ट्रिय सीमाहरू समेत बन्दै रहनुले यो समस्या थप बढ्ने देखिन्छ।
यसरी आप्रवासमा आएको गिरावटका कारण मात्रै पनि आवासको मागमा १२९,००० देखि २३२,००० सम्मले कमी हुनसक्ने एक अनुमान छ।
निगम भने थुप्रै अन्तर्राष्ट्रिय विद्यार्थी आउने नेपाल लगायत भारत र ब्राजिल जस्ता देशहरूबाट सहजै यात्रा गरेर मानिसहरू अस्ट्रेलिया आउन नसक्ने कारणले गर्दा यहाँको आवास क्षेत्र थप दबाबमा परेको बताउँछ।
"यो अनुसन्धानले जनसङ्ख्या वृद्धि र बसोबासको माग बिचको कडा सम्बन्धलाई देखाएको छ, र त्यसमा पनि विशेष गरी विशुद्ध आप्रवासनबाट हुने जनसङ्ख्या वृद्धिलाई," निगमका प्रमुख कार्यकारी नेथन ड्याल बोनले कोभिड-१९ का कारण जनसङ्ख्या वृद्धिमा देखिएको अन्योल बारे भने।
उता, प्रपर्टी काउन्सिलले पनि मोरिसन सरकारलाई यस समस्याबाट निदान पाउन एक नयाँ आप्रवासन योजना बनाउन पनि आग्रह गरेको छ।
विश्वव्यापी आर्थिक सङ्कटको नतिजालाई आधार बनाएर हेर्दा पनि अस्ट्रेलियालाई आफ्नो गन्तव्यका रूपमा छनौट गर्न अन्तर्राष्ट्रिय विद्यार्थीहरूले यहाँको बेरोजगारी दरका साथै विनिमय दरलाई पनि महत्त्वपूर्ण मान्ने गरेको नजिर स्थापित छ।
रिपोर्ट अगाडि भन्छ, "विश्व आर्थिक सङ्कट पश्चात् अस्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीको सङ्ख्या पुनः पुरानै दरमा फर्किन करिब चार वर्ष जति लाग्यो।"
फेरी, अस्ट्रेलियाको इतिहासका दुई आर्थिक मन्दीका घटनालाई फर्केर हेर्दा पनि यहाँ बेरोजगारी दर बढ्दै जाँदा प्राकृतिक रूपमा हुने जनसङ्ख्या वृद्धि दर ओरालो लाग्ने प्रवृत्ति हाम्रो सामु छ।
प्रपर्टी काउन्सिलका प्रमुख कार्यकारी केन मोरिसन भन्छन् कि निगमको पछिल्लो प्रतिवेदनले भने जस्तो स्थिति आउन दिनु हुँदैन।
"यदि त्यस्तो स्थिति आउन हामीले दियौँ भने त्यसको अर्थ अरू थप दसौं हजार मानिसहरूले आफ्नो रोजगारी गुमाउने छन्," मोरिसनले भने।
"माइग्रेसन प्रोग्राम पुनः सुरु गर्नको लागि रोडम्याप बनाउनु हाम्रो राष्ट्रिय क्याबिनेटको प्राथमिकतामा हुनुपर्दछ।"
नयाँ घर तथा आवास भवन निर्माणको लागि होमबिल्डर प्रोत्साहन कार्यक्रम थप ६ महिना वा जुलाई २०२० सम्म थपिदियोस् भन्ने पनि उनी चाहन्छन्।
अस्ट्रेलियामा मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी यहाँ उपलब्ध छ।
कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।
यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।
नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारी