द नेशनल रिपब्लिक मुभमेन्ट (आर्म) भनिने उक्त गणतान्त्रिक अभियानले अस्ट्रेलियाबाट बेलायती राजसंस्थालाई प्रतिस्थापन गरी देशको नयाँ राष्ट्रप्रमुख नियुक्तिका लागि आफूहरूलाई मन परेको विधि अनावरण गरेको हो।
उक्त समूहका अनुसार सङ्घीय, राज्य र प्रदेश संसद्हरूले राष्ट्र प्रमुख चयनका लागि सम्भावित उम्मेदवारहरूलाई एक छोटो सुची मार्फत मनोनीत गर्नेछन्।
त्यसपछि उक्त 'सर्टलिस्ट'लाई राष्ट्रिय निर्वाचनका लागि मतदाता सामु पठाइनेछ।
आर्मले सार्वजनिक गरेको योजना अनुसार सङ्घीय संसद्ले तीन जनासम्म मनोनयन गर्न सक्नेछन् भने राज्य र प्रदेशले एक/एक जनालाई मनोनीत गर्न पाउनेछन्।
त्यसैगरी, निर्वाचनमा विजयी हुने व्यक्तिको कार्यकाल पाँच वर्षको हुने र ती चुनिएका राष्ट्रप्रमुखले प्रतिनिधि सभामा बहुमत प्राप्त प्रधानमन्त्रीलाई शपथ गराउने वा त्यस्तो समर्थन प्राप्त नभएको खण्डमा निर्वाचनको आह्वान गर्ने जिम्मेवारी पाउने बताइएको छ।
हाल अस्ट्रेलियाामा त्यस प्रकारका जिम्मेवारी बेलायती महारानीको प्रतिनिधिका रूपमा गभर्नर-जनरलसँग रहेको छ।

आर्मको प्रस्तावमा राष्ट्रप्रमुखले दैनिक शासन व्यवस्था चलाउने वा कानून पारित गर्ने जस्ता अधिकार भने प्राप्त गर्ने छैनन्।
सर्वेक्षण, मतदान र बैठकहरू मार्फत करिब दुई वर्ष लगाएर उक्त नमूनाको विकास गरिएको आर्मको भनाई छ।
आर्मका अध्यक्ष पिटर फिट्जसाइमन्स भन्छन् कि “अस्ट्रेलियन चोइस” मोडेलले नागरिकहरूलाई आफ्नै नेता चयन गर्ने जिम्मेवारी दिनेछ।
“यसले सबै अस्ट्रेलियाली मतदाताहरूलाई योग्यताका आधारमा आफ्नालागि राष्ट्र प्रमुखका रूपमा कसले बोल्छ भन्ने कुराको निर्धारण गर्ने मौका दिनेछ,” उनले भने।
“अहिले हामी, बेलायती शाही परिवारको कुन सदस्य आफ्नो राष्ट्रप्रमुखको रूपमा पाउँछौँ भन्ने कुरा, भाग्यमा कस्तो चिट्ठा पर्छ भन्ने जस्तै अवस्थामा छौँ, तर (गणतान्त्रिक व्यवस्थामा जाँदा) अहिलेको ठिक विपरीत, निर्णय मतदाताहरूको हातमा हुनेछ।”
अभियानका अनुसार एक अध्ययनले आफ्नो उक्त मोडेलको बारेमा जनमत सङ्ग्रह गरिने हो भने, ७३ प्रतिशत अस्ट्रेलियालीले गणतन्त्रका पक्षमा मत खसाल्ने नतिजा निस्किने छ।
त्यसै गरी, हाल ९२ प्रतिशत अस्ट्रेलियाली गणतन्त्रको विचारमा खुल्ला छन् र केवल आठ प्रतिशत मात्रै कुनै पनि परिवर्तनको विपक्षमा रहेको पनि सो सङ्गठनको दाबी छ।

आन्दोलनको मुख्य अवरोध हटाउन नयाँ योजनाले काम गरेको बताउँछन् फिट्जसाइमन्स।
“हामीले परामर्श गरेका छौ, मानिसहरूका कुरा नजिकबाट सुनेका छौ र अस्ट्रेलियाली मतदाताहरूले हामीलाई भनेका छन् कि यो नयाँ दृष्टिकोणले जनमत सङ्ग्रहलाई सफल हुन उत्कृष्ट मौका दिनेछ,” उनले भने।
"ठुलो बहुमतले परिवर्तनलाई समर्थन गर्ने सम्भावना छ।”
लेबरका नेता द्वय मार्क ड्रेफस र म्याट थिसलवेट्ले नयाँ नमुना बनाएकोमा आर्मलाई बधाई दिएका छन्।
“अस्ट्रेलियाली राष्ट्र प्रमुख हामी मध्ये कै एक हुनुपर्छ, एक अस्ट्रेलियाली जो अस्ट्रेलियाली जनताको माझ बस्छ,” उनीहरूले भने।
“आदिवासीहरूका लागि मान्यता र संसद्मा आवाज लेबरको संवैधानिक सुधारको प्राथमिकतामा रहँदै गर्दा, भविष्यमा देशको प्रमुखलाई चयन गर्न सबै अस्ट्रेलियालीहरूले उत्कृष्ट अवसर पाउनु महत्त्वपूर्ण छ।”
अस्ट्रेलियाको परिपक्वता, स्वतन्त्रता र अद्वितीय पहिचान झल्काउने आफ्नै राष्ट्र प्रमुखको खाँचो पनि नेता द्वयले औँल्याएका छन्।
'राजनीतिज्ञहरूलाई थप शक्ति'

यद्यपि अस्ट्रेलियन मोर्नार्किस्ट लीगका अध्यक्ष फिलिप बेनवेलले भन्छन् कि प्रस्तावित गणतान्त्रिक मोडेलले उम्मेदवारहरू छनोट गर्ने अधिकार दिएर राजनीतिज्ञहरूको हातमा थप शक्ति राखिदिएको छ।
“यदि तपाईँ निर्वाचनको माध्यमबाट चुनिन चाहनुहुन्छ भने, कसलाई भोट हाल्ने भन्ने सोझो अधिकार आम मानिसहरूसँग हुनुपर्छ,” हाल चालू प्रणालीले “काम गरिरहेको” उल्लेख गर्दै बेनवेलले भने।
“यो प्रणालीले किन काम गरेको छ भने, महारानी वा गभर्नर-जनरल, कसैको पनि, राजनीतिक दल वा कुनै राजनीतिज्ञ प्रति झुकाव छैन।”
उनका अनुसार चालू प्रणालीले कुनै समस्या खडा नगरेका कारण यदि यसलाई परिमार्जन गर्ने नै हो भने, त्यस्तो कार्य सुधारका लागि हुनपर्छ।
"हाम्रो यो विश्वास छ कि अस्ट्रेलियन रिपब्लिकन मुभमेन्टले अगाडि सारेको प्रस्ताव खराब छ," फिलिप बेनवेलले भने।
