SKIP TO MAIN CONTENT

बालेन र लामिछानेबिच सात बुँदे सहमति, अटाएनन् कुलमान: के छ सहमतिपत्रमा?

केही दिनदेखि चलिरहेको निरन्तर छलफल पछि काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बिच सात बुँदे सहमति भएको छ।

Balendra Shah (L) and Rabi Lamichhane (R)
Balendra Shah (L) and Rabi Lamichhane (R) sign a seven-point agreement on Sunday, 28 December 2025. Credit: Facebook/Rabi Lamichhane

2 min read

Published

Updated

By Pratichya Dulal

Source: SBS



Skip to article content

आइतवार, २८ डिसेम्बर २०२५ को बिहान भएको सहमति अनुसार बालेन रास्वपाबाट प्रधानमन्त्रीका उम्मेदवार बन्ने र पार्टी नेतृत्व रवि लामिछानेले गर्न दुई पक्ष सहमत भएका छन्।

आगामी मार्च पाँचका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनका लागि नयाँ भनिएका शक्तिहरूबिच कोशे ढुङ्गो साबित हुन सक्ने भनी सहमतिका लागि केही दिनयता प्रयास भएको थियो।

सहमतिका लागि कतिपय जेन-जी आन्दोलनका अभियन्ताहरूले पनि प्रयास गरेका थिए।

अटाएन उज्यालो नेपाल

आउँदो निर्वाचनमा नयाँ दलहरू मिलेर जानका लागि सहमति खोजिएको वर्तमान परिस्थितिमा उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङसँग पनि छलफल भएको भनिएको थियो।

तर आइतवार भएको सहमतिमा उज्यालो नेपाल पार्टी भने अटाउन सकेन। सहमतिका क्रममा आफ्नो पार्टीलाई पर्याप्त स्थान नपाएका कारण सहमतिबाट उज्यालो पार्टी पक्षी हटेको विवरणहरू सञ्चार माध्यममा आएका छन्। 

के छ सात बुँदे सहमतिमा

आइतवार भएको सहमतिमा नवयुवाहरूले भ्रष्टाचार र कुशासन विरुद्ध गरेको आन्दोलनको अपनत्व लिने र घाइते तथा शहिद परिवारका मागहरू यथोचित सम्बोधन गर्ने भनी प्रतिबद्धता जनाइएको छ।

यस्तै, दोस्रो बुँदामा देश विकासका लागि चाहिने नीतिगत, संस्थागत एवं संरचनात्मक सुधार मार्फत अर्को दस वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउन प्रति समर्पित हुने भनिएको छ।

त्यस्तै दुवै पक्षबिच बृहत् एकता भए पश्चात् स्थापित हुने राजनीतिक दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी रहने, दलको चुनाव चिन्ह रास्वपाले प्रयोग गरिरहेको घण्टी रहने र एकता पछि अन्य पार्टीको संरचना फराकिलो बनाउन अन्य युवा अभियन्ता र विज्ञहरूलाई समायोजन गर्ने लगायत विषय परेका छन्। 

तस्बिर प्रति आपत्ति

सहमति पछि दुई तस्बिर बाहिर आएका छन्।

पहिलो, बालेन र लामिछानेले हात मिलाइरहेको। यस्तै, दुई पक्षले सहमतिपत्रमा हस्ताक्षर गरेपछि सहमतिका बेला उपस्थित व्यक्तिहरूसँग खिचेको एक सामूहिक तस्बिर।

दोस्रो तस्बिरले भने धेरैको ध्यान केन्द्रित गरेको देखिएको छ।

उक्त तस्बिरमा एकजना पनि महिला पर्न नसकेको भन्दै नयाँ भनिएका दलहरूले पनि समावेशितालाई सही रूपमा आत्मसाथ गर्न नसकेको भन्दै विशेष गरी सामाजिक सञ्जालमा टिप्पणी भएका छन्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now