कोरोनाभाइरस महामारी सुरु भएयता, अस्ट्रेलियासँगको दौत्य सम्बन्ध ओरालो लाग्दै गर्दा चीनले उक्त पछिल्लो यात्रा सल्लाह सोमबार जारी गरेको हो।
अघिल्लो महिना बेजिङ्गले अस्ट्रेलियामा चिनियाँ नागरिकहरू "भेदभाव"को सिकार हुनु परेको बताउँदै उनीहरूलाई त्यहाँ नजान भनेको थियो भने, यता अस्ट्रेलियाले, हंगकंगको विद्रोह दबाउन चीनले चालेको कदमको प्रतिकार स्वरूप त्यहाँका उद्यमीहरू एवं सीप युक्त कामदारहरूलाई यहाँ सर्न प्रोत्साहन गरेको छ।
केही दिन अगाडी मात्रै अस्ट्रेलियाले झन्डै १०,००० को हाराहारीमा हंगकंगबासीहरूलाई स्थायी बसोबासका लागि बाटो खोलिदिने निर्णय गरेपछि चीनको उक्त "ट्राभल एड्भाजरी" सार्वजनिक भएको हो।
"अस्ट्रेलियाको सम्बन्धित निकायका अधिकारीहरूले मनोमानी रूपमा चिनियाँ नागरिकहरूको खानतलासी गर्नुका साथै उनीहरूको सामान जफत गर्ने गरेका छन्, र यी परिस्थितिहरूले अस्ट्रेलियामा चिनियाँ नागरिकहरूका साथै उनीहरूको सम्पत्तिलाई हानी पुग्न सक्छ," चिनियाँ विदेश मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ।
सामाजिक सञ्जाल व्हीच्याटमा पोस्ट गरिएको उक्त सूचनामा चिनियाँ नागरिकहरूलाई स्थानीय रूपमा हुन सक्ने खतरा प्रति "गहिरिएर ध्यान दिन" र "अस्ट्रेलियामा सतर्कता पूर्वक भ्रमण गर्न" सम्झाइएको छ।
सोमबारको सूचनामा आफ्ना नागरिकहरूलाई अस्ट्रेलियाली भूमिमा जातीय भेदभाव एवं हिंसात्मक गतिविधि उल्लेखनीय रूपमा बढेको बताउँदै चीनले अस्ट्रेलियाली मिडियाद्वारा चीन विरोधी भावनालाई मलजल गरिरहेको समेत आरोप लगाएको छ।

उता, अस्ट्रेलियाद्वारा हंगकंगबासीहरूलाई आफ्नो देशमा बस्न आउन दिने बारे गरिएको घोषणाका सम्बन्धमा सोधिएको एक प्रश्नको जवाफ दिँदै चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयिंगले यस्ता किसिमका अस्ट्रेलियाली कदमले नकारात्मक असर पार्ने चेतावनी दिएकी छिन्।
"हामी अस्ट्रेलियालाई आफ्नो मार्ग बदल्न र हंगकंगको मामिलामा र चीनको आन्तरिक मामिलामा कुनै पनि हालतमा हस्तक्षेप नगर्न आग्रह गर्दछौँ, नभए चीन-अस्ट्रेलिया सम्बन्धलाई थप क्षति पुग्ने जोखिम छ ," उनले भनिन्।
