SKIP TO MAIN CONTENT

वृद्धहरू माथि कुटपिट गर्ने अस्मिता पाण्डेलाई अस्ट्रेलियाको स्वास्थ्य सेवा क्षेत्रमा गर्न स्थायी प्रतिबन्ध

अस्ट्रेलियाको क्षेत्रका गुनासो हेर्ने निकाय हेल्थ केयर कम्प्लेन्ट्स कमिसनले पूर्व नर्सिङ असिस्टेन्ट अस्मिता पाण्डेलाई स्वास्थ्य क्षेत्रमा काम गर्न पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

A representative picture of Estia Health aged care facility.
A representative picture of Estia Health aged care facility. Source: AAP / DANIEL POCKETT

2 min read

Published

Updated

Presented by SBS Nepali

Source: SBS



Skip to article content

यस अघि सिड्नीको एक वृद्ध स्याहार केन्द्रका बासिन्दा माथि कुटपिट गरेको प्रमाणित भएपछि, पाण्डेलाई गत मार्चमा एक अदालतले आठ महिना सामुदायिक सेवामा बिताउनु पर्ने आदेश दिएको थियो।

एस्टिया हेल्थमा नर्सिङ असिस्टेन्टको रूपमा कार्यरत रहँदा पाण्डेले स्वास्थ्य क्षेत्रमा रजिस्ट्रेसन बिना काम गर्ने मानिसहरूका लागि लागु आचारसंहिताको उल्लङ्घन गरेको पाइएको हेल्थ केयर कम्प्लेन्ट्स कमिसनले जनाएको छ।

कमिसनले सार्वजनिक स्वास्थ्य परिषद् नियमन २०१३ अन्तर्गत रहेको आचार संहिता अन्तर्गत सुरक्षित र नैतिक रूपमा सेवा दिनु पर्ने नियमको उल्लङ्घन गरेको पाइएको ठहर गरेको हो।

एस्टिया हेल्थले आन्तरिक अनुसन्धान गर्दा, आफूले वृद्धा माथि कुनै पनि किसिमको हिंसा नगरेको भन्दै पाण्डेले झुटो बयान दिएको कमिसनको सार्वजनिक विज्ञप्तिमा उल्लेखित छ।

उनले एस्टिया हेल्थका आचार संहिता र सम्बन्धित नियम, तथा बृद्धस्याहार क्षेत्रको गुणस्तरको उल्लङ्घन गरेको हेल्थ केयर कम्प्लेन्ट्स कमिसनको भनाइ छ।

कमिसनले 'हेल्थ केयर कम्प्लेन्ट एक्ट १९९३ को खण्ड ४१ए(२) अन्तर्गत उनको आचरणले सार्वजनिक स्वास्थ्य र सुरक्षामा जोखिम पैदा गर्ने' ठहर गरेको हो।

आयोगको पछिल्लो निर्णयसँगै पाण्डेले अब तलब लिएर वा निःशुल्क रूपमा पनि, सर्वसाधारणलाई स्वास्थ्य सेवा दिन वा सो क्षेत्रमा काम गर्न पाउने छैनन्।

गत मार्चमा उनी माथिको मुद्दाको टुङ्गो लगाउँदै पारामाटाको स्थानीय अदालतले पाण्डेलाई कारावासको सट्टामा अदालतले दिएका सर्त सहित आठ महिना सामुदायिक सेवामा समय बिताउनु पर्ने आदेश दिएको थियो।

जस अन्तर्गत ३० घण्टा निःशुल्क रूपमा समुदायमा सेवा गर्नु पर्ने र अदालतका अन्य आदेशहरूको पनि पालना गर्नु पर्ने आदेश आएको थियो।

यस बाहेक अप्रिहेन्डेड डोमेस्टिक भायोलेन्स अर्डर (एडीभीओ) भनिने घरेलु हिंसा सम्बन्धी आदेश अन्तर्गत पीडित भनिएका तीन व्यक्तिसँग वकिल मार्फत बाहेक उनले सर्म्पक गर्न नपाइने आदेशमा उल्लेख छ।

PARRAMATTA LOCAL COURT STOCK
Parramatta Local Court in Parramatta, Sydney. Source: AAP / Miklos Bolza

सन् २०२२ को मार्च २६ का दिन न्यु साउथ वेल्सको एपिङमा रहेको एस्टिया हेल्थ अन्तर्गत सञ्चालित वृद्ध स्याहार केन्द्रमा दुई जना वृद्धा माथि दुर्व्यवहार भएको प्रहरीमा उजुरी परेको थियो।

जसको अनुसन्धान गर्दै जाँदा अन्य दुई जना बासिन्दा समेतलाई पाण्डेले दुर्व्यवहार गरेको प्रहरीले पत्ता लगाएको थियो।

यस लगत्तै सन् २०२२ को ३० मार्चका दिन प्रहरीले उनलाई होमबुस स्थित घरबाट पक्राउ गरेर अनुसन्धान अगाडी बढाएको थियो।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now