म स्वयं आप्रवासी पृष्ठभूमिबाट भएकोले नेपालीहरुको समस्या मलाई राम्ररी थाहा छ: सांसद पिटर खलिल

सङ्घीय सांसद पिटर खलिलले नेपाली समुदायलाई एक इमान्दार समुदायको संज्ञा दिदै आप्रवासी भएकै कारण यस समुदायका मानिसहरुले धेरै प्रकारका समस्याहरु भोग्नुपरेको बताएका छन्।

यो कुराकानी, अष्ट्रेलियामा नेपाली पृष्ठभूमिका मानिसहरुको धेरै उपस्थिति रहेको निर्वाचन क्षेत्रहरुबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुसंग गरिएको साक्षात्कार शृंखलाको एक भाग हो।

कुनै पनि व्यक्तिगत या सामुदायिक समस्या भए छलफल गर्न आफु समक्ष आउन आग्रह गर्ने सांसद खलिलसंग गरिएको कुराकानीका झलकहरु:

  • मेरो पृष्ठभूमि पनि आप्रवासी नै हो त्यसैले बुझ्न सक्छु नयाँ देश र परिवेशमा अनेकन ब्यबधानाहरुको सामना गर्नु पर्छ।
  • हामी जस्ता आप्रवासीका लागि अस्ट्रेलिया अथाह अवसरहरु भएको देश हो जहाँ प्रगति शिक्षाबाट सम्भव छ।
  • मेरो निर्वाचन क्षेत्र अन्तर्गतको मोरल्याण्डलाई "मिनी नेपाल" भन्न पाउनु गज्जबको कुरा हो।
  • आप्रवासी पृष्ठभूमिका मानिसहरु राजनीतिमा आउनु निक्कै जरुरी छ।

विल्स निर्वाचन क्षेत्रबाट सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने पिटर खलिल स्वयम् पनि आप्रवासी पृष्ठभूमिको भएकाले आप्रवासीका समस्याहरुबारे आफु जानकार रहेको बताएका छन्।

सन् २०१६ को जनगणनाका अनुसार २ हजार ४ सय ९२ नेपालीहरुको बसोबास रहेको भिक्टोरियामा हजार बढीको संख्यामा नेपालीहरु विल्स निर्वाचन क्षेत्रमा बसोबास गरेको देखिन्छ। ग्लेनरोय र कोबर्गमा मात्र क्रमशः ८ सय ४८ र ४ सय ९१ नेपाली भाषीहरुको जनसंख्या रहेको छ।

नेपाली समुदायलाई महत्वका साथ हेर्ने सङ्घीय सांसद खलिलले कुनै पनि समस्या भए बिना सङ्कोच सम्पर्क गर्न उक्त समुदायका विल्समा बस्ने मानिसहरुलाई आव्हान गरेका छन्।

Peter Khalil celebrating hindu festival of Holi
पिटर खलिल मेलबर्न स्थित कोबर्ग लेक रिजर्भमा मधेसी कम्युनिटी अफ भिक्टोरियासंग होली मनाउँदै Source: Facebook/Peter Khalil

कडा परिश्रम र योग्यता भए अस्ट्रेलियामा बहुसांस्कृतिक पृष्ठभूमिका आप्रवासीहरुका लागि अवसरमा कमी नभएको भन्दै उनले शिक्षालाई त्यो अवसरसम्म पुर्याउने साँचोको संज्ञा दिए।

पछिल्लो जनगणनामा विवरण बुझाउनेमा विश्वविद्यालय जाने नेपाली कुल जनसंख्याको ४४ प्रतिशत अर्थात १४ हजार ९ सय ६१ ले स्नातक गरेको त्यस्तै २२.६ प्रतिशत अर्थात ७ हजार ६ सय ७७ ले स्नातकोत्तर तहको योग्यता लिएको देखिन्छा। विद्यालय नै नगएका नेपालीहरु २ हजार को हाराहारीमा छन् भने कक्षा १२ या सो सरहको शैक्षिक योग्यता लिनेको संख्या ४६ हजार ४ सय २७ रहेको छ जुन कुल जनसंख्याको ८७.९ प्रतिशत हो।

आप्रवासी पृष्ठभुमि भएका मानिसहरु माझ राजनीति अझै पनि जीवनवृतिका रुपमा नआइसकेको कुरा उठाउंदै एसबीएस नेपालीसँगको कुराकानीमा सांसद खलिलले अगाडी भने,

"यहीँ जन्मी हुर्केका बहुसांस्कृतिक पृष्ठभूमिका युवाहरु राजनीतिमा आउने कुरामा म विश्वस्त छु।"

खलिलले अझै पनि अस्ट्रेलियाको राजनीतिमा अंग्रेज अस्ट्रेलियनहरुको बाहुल्यता रहेको प्रस्ट पार्दै नेपाली समुदायका मानिसहरु स्वंसेवक या अन्य विभिन्न स्थानीय स्तरको कार्यक्रम मार्फत राजनीतिमा संलग्न हुन सक्ने बताएका छन्।


 


Share

2 min read

Published

Updated

By Rajish Aryal, Abhas Parajuli, Sunita Pokharel




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now