क्विन्सल्यान्ड प्रिमियर अनास्टेसिया पलाशेले सेल्फ आइसोलेसनमा बस्न भनिएका २१० जना राज्यको सम्पर्कमा नरहेको बुधवार बिहान एबीसी रेडियो ब्रिसबेनलाई बताएकी हुन्।
ती २१० जना बाहेक हराइरहेका अन्य ३५ जनालाई भने फेला पारेर नियम तोडेको दण्ड स्वरूप जरिवाना तिराइएको पनि पलाशेले सो अवसरमा जानकारी दिइन्।
"मैले यी व्यक्तिलाई पछ्याउने कार्य बलको कल्पना गरिरहेको छैन (तर) हामीले उनीहरूलाई समात्यौँ भने, उनीहरूलाई एनएसडब्ल्यु फिर्ता पठाइदिऊँ," उनले भनिन्।

तर, आफ्नो सरकारको बचाउ गर्ने क्रममा उनले ती २०० भन्दा बढी मानिसहरूबाट भाइरस समुदायमा सर्ने मौका एकदमै कम रहेको बताएकी छिन्।
"यो अप्रिल तिरको कुरा हो, त्यसैले हामीलाई ती मानिसहरू बारे कुनै चिन्ता छैन," प्रिमियरले भनिन्।
यसका साथै, पलाशेले ती भगौटेहरू फेला परेपछि उनीहरूलाई जरिवाना तिराइने स्पष्ट पारिकी छिन्।
उता, राज्यका प्रहरी प्रमुख इयन लिभर्सले भने नियम टोड्नेहरूलाई जरिवाना भन्दा कडा सजाय दिनुपर्ने माग अघि सारेका छन्।
गएको अप्रिलदेखि राज्य प्रहरीले नियमहरूको पालना भए-नभएको हेर्न गरेको जाँच कार्यका क्रममा ३८७ जना मानिसहरू उनीहरूले दिएको ठेगानामा भेटिएका थिएनन्।
तर, ती मध्ये कतिपय राज्य छाडेर अन्यत्रै गएका कारण फेला नपरेको बताइएको छ।
अन्य राज्यका मानिसलाई क्विन्सल्यान्ड प्रवेशमा निकै कडाइ गरेको राज्य सरकारले भिक्टोरियामा कोरोनाभाइरसको दोस्रो लहर सुरु हुँदै गर्दा, उक्त दक्षिणी राज्य तथा सिड्नीका मानिसहरूलाई आफ्नो राज्य सीमाबाटै फर्काउन वा ती यात्रु स्वयम्ले व्यहोर्ने गरी अनिवार्य होटेल क्वारेन्टिनमा पठाउन थालेको छ।
तथापि, आफ्नो उक्त कदम भन्दा अगाडी भने उसले मानिसहरूलाई आफ्नो राज्यमा प्रवेश दिँदा ती यात्रुहरूले छानेकै ठेगानामा आइसोलेसनमा बस्न दिएको थियो।

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे थप जानकारी यहाँ उपलब्ध छ।
रुघा खोकी वा चिसो लागेको लक्षण देखा परे तपाईंले घरमा नै बसेर आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गरी परीक्षणका लागि समय मिलाउनुपर्छ।
यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो भने वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा भने ००० (ट्रिपल जिरो)मा फोन गर्नुहोस्।
नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि:

