सन्तोष बस्ताकोटी: अस्ट्रेलियाली क्रिकेटमा अम्पायरको चोखो धर्म निभाउने प्रण राखेका नेपाली

अस्ट्रेलियाभर छरिएर रहेका नेपाली-भाषीहरूले क्रिकेट खेल्न मात्र होइन, अम्पायरिङ समेत गर्न थालेका छन्।

Nepali Cricket Umpire in Australia Santosh Bastakoti

Santosh Bastakoti from Nepal is an award-winning cricket umpire in Victoria. Source: Supplied by the talent

मनमा बसेको खेल

नेपालको नवलपरासीमा हुर्केका सन्तोष बस्ताकोटीको मन सानैदेखि क्रिकेटमा बसेको थियो।

भारतीय सीमा नजिकै रहेको कारण उनको घरको टिभीले तत्कालीन समयमा भारतमा हुने सबै अन्तर्राष्ट्रिय खेलहरू प्रसारण गर्ने ‘दूरदर्शन’ सजिलै समात्थ्यो। 

क्रिकेटको प्रसारण टिभीमा आउने बित्तिकै आफ्नो मन उत्साहित हुने उनी बताउँछन्।

टिभीमा नभ्याए, आकाशवाणीमा भए पनि रेडियो कमेन्ट्री सुनेर क्रिकेटको भोक मेटाउने बस्ताकोटीको भनाई छ।

गाउँ-घरमा हुने क्रिकेटको खेलहरूमा पनि उनी सक्रिय थिए।

Children playing cricket
Source: Simon Reza via Pexels

“स्कुले साथीहरूसँग हामी बारम्बार क्रिकेट खेलिरहन्थ्यौ; त्यो नै एउटा समय काट्ने मेलो थियो,” उनले भने।

टिभीमा देखेका, रेडियोमा सुनेका खेलका आकर्षक शैलीहरू उनी आफू मैदानमा उत्रिदा दोहर्‍याउन खोज्दा सबै बलमा छक्का हान्न, अनि सबै बलमा विकेट लिन सकिँदो रहेनछ भन्ने ज्ञान पनि उनले पाए।

बस्ताकोटीसँगको कुराकनी यहाँ सुन्नुहोस्: "क्रिकेटबाट टाढा रहन सकिनँ" भन्छन् अस्ट्रेलियाका पहिलो नेपाली अम्पायर सन्तोष बस्ताकोटी हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

“म औसत खेलाडी थिए। क्रिकेट खेल मलाई असाध्यै मन पर्थ्यो, तर खेल आफैमा म उत्कृष्ट थिइन,” उनले भने।

तर पनि क्रिकेटसँग उनको लगाव घटेन।

पुन: मैदानमा

cricket
Bastola with former Sri Lankan international Suraj Randiv. Source: Supplied

मेलबर्नमा बस्ने सन्तोष बस्ताकोटी क्रिकेटसँग सानो उमेरदेखिको मायाले गर्दा, अहिले फेरि क्रिकेट मैदानमा फर्केका छन्।

तर खेलाडीको रूपमा नभई, एक अम्पायरको रूपमा।

“क्रिकेट खेलमा अम्पायरको भूमिका महत्त्वपूर्ण हुन्छ,” उनले एसबीएस नेपालीसँग कुरा गर्दै भने।

“मलाई मन पर्ने खेलमा म यही भूमिका मार्फत योगदान दिन चाहन्छु।”

क्रिकेट खेल्दा-खेल्दै बूढी औँलामा लागेको चोटको कारण चाहिँ एक निर्णायक मोड भयो उनको खेल जीवनमा।

“कति न रन आउट गर्छु भनेर जोडले आएको बल समात्न खोजेको, बूढी औँलामा निकै दह्रो चोट लाग्यो,” बस्ताकोटीले हाँस्दै भने।

“घाइते औँलाको सर्जरी नै गर्नु पर्‍यो; उता खेलमा रन आउट पनि गर्न सकिएन।”

उनी हाल भिक्टोरियामा हुने विभिन्न ग्रेड लेभलको क्रिकेटमा अम्पायरिङ गर्ने गर्छन् र आफ्नो करियरलाई बिस्तारै यही क्षेत्रमा लैजाने सुरसार कसेका छन्।

प्रिमियर क्रिकेट लिगमा अम्पायरिङ गर्ने आवश्यक तालिमको लागि पनि तयारी गरिरहेको उनले एसबीएस नेपालीलाई बताए।

Santosh Bastakoti Cricket Victoria Nepali Australia
Source: Facebook/ Santosh Bastakoti

धेरैलाई अम्पायरिङ काम सजिलो लाग्न सक्छ, तर यसमा निकै श्रम पर्ने भनाई छ, बस्ताकोटीको।

खेलाडीहरू त आफ्नो टोलीको ब्याटिङ र बलिङको पालोसँगै ड्रेसिङ रुम फर्कन्छन्; अम्पायर त जतिखेर पनि मैदानमै, उभिएको, उभियै। 

अझ अस्ट्रेलियामा गर्मी याममा क्रिकेट खेलिन्छ जब दिउँसोको तापक्रम प्राय ३० डिग्री माथि नै हुन्छ।

कसरी सक्नुहुन्छ त यो सबै झेल्न भन्ने प्रश्नमा, उनले भने, “खेलसँग गाँसिएको मायाले गर्दा।”

“घाम, चिसो, तातो, हावा, हुरी- सबै बिर्साउँछ- खेलसँग माया लागे पछि।”

अम्पायरको चोखो धर्म

क्रिकेट खेलमा उतार-चढाव निकै नै हुने गर्छ।

वर-पर रहेका खेलाडीहरू उत्साहले चिच्याई रहेका हुन्छन्।

यी सबै कुराबाट पर रहेर अम्पायरले निष्पक्ष निर्णय लिनु पर्ने हुन्छ।

Cricket umpire
Source: Supplied

“भावनाभन्दा माथि उठेर हामीलाई निर्णय लिनको लागि तालिम दिइएको हुन्छ। मेरो कोसिस हरेक खेलमा त्यसैलाई अनुसरण गर्ने रहेको छ,” उनले भने।

भारतका प्रख्यात ब्याट्सम्यान राहुल द्रविडका प्रशंसक रहेका बस्ताकोटी, वेस्ट इन्डिजका स्टिभ बक्नर र पाकिस्तानका अलिम दारको अम्पायरिङ शैलीको निकै ठुलो प्रशंसक रहेका छन्। 

“यी दुवै अम्पायर जतिसुकै तनावपूर्ण खेलमा पनि आफ्नो क्षमता गुमाउँदैनन्, र निष्पक्ष निर्णय दिनमा माहिर रहेका छन्,” उनले भने।

यही गुण आफूमा पनि विकास गर्दै गरेको उनको भनाई छ।

Cricket Players
Source: Kabita Darlami via Pexels

कुनै पनि खेलमा कसले जित्छ, वा हार्छ भनी भविष्यवाणी दिन निकै कठिन हुन्छ, तर कुनै पनि खेल सुरु हुनु अघि एउटा पक्षचाहिँ ठोकुवा गर्न सक्ने उनी बताउँछन्।

“मैले कसैलाई एलबीडब्लु आउट दिएँ भने, त्यो ब्याट्सम्यानले मलाई केही क्षण अविश्वासको नजरले हेर्छ, हेर्छ,” उनले व्यङ्ग्यात्मक शैलीमा दाबी गरे।

“हो, त्यस्तो बेला नै हो, अम्पायरको चोखो धर्म निभाउने, भावनाभन्दा माथि उठेर निर्णय गर्ने।”

Share

3 min read

Published

Updated

By Sameer Ghimire

Presented by SBS Nepali

Source: SBS


Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now