विशेष गरी अन्तर्राष्ट्रिय यात्रा र सीमा सम्बन्धी व्यवस्थामा सरकारी प्राथमिकतामा नपरेका कारण उनीहरू प्रभावित भएका हुन्।
करिब २० महिनादेखि अन्तर्राष्ट्रिय सीमा बन्द रहेका कारण अहिले पनि हजारौँ अस्ट्रेलियाली नागरिक विभिन्न मुलुकमा अलपत्र परेका छन् भने यहाँका नागरिक र स्थानीय बासिन्दा समेत मुलुक बाहिर जान पाएका छैनन्।
केही हप्ता अघि मात्रै आफ्नी आमाको मृत्युको दुखद खबर सुनेका सिड्नी निवासी विनोद मानन्धर* र उनका एक दाई सीमा बन्द भएका कारण काजक्रियाका लागि नेपाल जान सकेनन्।
मलेसियामा रहेका उनका एक दाइ मात्र स्वदेश फर्किए।
“हामीले चाही अर्को वर्ष आमाको काजक्रिया गर्ने निधो गरेका छौँ,” उनले एसबीएस नेपालीसँग भने ।
अन्तर्राष्ट्रिय सीमा बन्दका कारण मानन्धर जस्ता थुप्रै अस्थायी भिसाधारीहरू अत्यन्तै जरुरी कामका लागि समेत अस्ट्रेलिया बाहिर जान सकेका छैनन्।

केही दिन अघिसम्म पनि स्पष्ट सरकारी नीतिको अभावमा उनीहरूले अस्ट्रेलिया छाडेर जाने स्वीकृति पाइहाले पनि कहिले फर्कन पाउने अवसरको निश्चितता नहुँदा, मानन्धर जस्ता कयौं अस्थायी आप्रवासीहरू यही बस्न बाध्य भएका हुन्।
तर कोभिड-१९ खोपको पुरा मात्रा लगाउने योग्य बासिन्दाहरूको सङ्ख्याले ८० प्रतिशत नाघे पछि भने क्रमिक रूपमा अन्तर्राष्ट्रिय सीमा खोलिने प्रधानमन्त्री स्कट मोरिसनले अघिल्लो हप्ता स्पष्ट पारेपछि भने मानिसहरूलाई राहत मिलेको थियो।
यसको मतलब अस्ट्रेलियाका नागरिक एवम् स्थायी बासिन्दाले पारिवारिक पुनर्मिलनको सपना पुरा गर्न सक्नेछन्।
अभिवावकलाई अस्ट्रेलिया आउन दिने सरकारी निर्णय पछि पारिवारिक पुनर्मिलनको बाटो खुल्यो
अस्ट्रेलियाली नागरिक तथा पीआर वाहकका विदेशी अभिभावकहरूले अब अस्ट्रेलिया आउन निवेदन दिन सक्ने भएका छन्।
अघिल्लो साता अभिभावकहरूलाई अत्यन्त निकट सम्बन्धीका रूपमा परिभाषित गरिएको प्रधानमन्त्री मोरिसनले जानकारी दिएका थिए।

सङ्घीय सरकारको कोभिड-१९ सम्बन्धी यात्रा व्यवस्था अनुसार नागरिक तथा स्थायी बासिन्दाहरूका सबैभन्दा नजिकका नातामा पर्ने व्यक्तिहरूले मात्र अस्ट्रेलिया प्रवेश गर्न पाउने नियम हाल लागू छ।
यसअघि अभिभावकहरू सो श्रेणीमा समावेश गरिएका थिएनन्।
अस्थायी भिसा वाहक अझै अन्योलमा
अर्को तर्फ अस्थायी भिसामा रहेकाहरू भने आफूहरूले लामो समय पर्खनु पर्ने र टिकट बुक गरे नियम परिवर्तनका कारण रद्द पो गर्नु पर्ने हो कि भन्ने कारणले चिन्तामा छन्।
सरकारी भनाइ अनुसार नोभेम्बर महिनासम्ममा अस्ट्रेलियाली नागरिक र स्थायी बासिन्दाहरूले विदेश भ्रमण गर्न र आफन्त भेट्न पाउने निश्चित प्राय: भएता पनि अस्थायी भिसावाहकहरूका निम्ति सीमा सम्बन्धी अन्यौलता कायमै छ।
यात्रा सम्बन्धी नियमहरू लगातार रूपमा परिवर्तन भइरहेका कारण अस्थायी बासिन्दाहरूलाई टिकट काट्न पनि समस्या भएको हो।

हाल अस्ट्रेलियामा झन्डै १६ लाखको हाराहारीमा अस्थायी आप्रवासीहरू फसेको अनुमान छ।
छुट प्राप्त भएको अवस्थामा बाहेक फर्कनलाई समस्या हुने भएका कारण आफ्नो मुलुक फर्कन उनीहरूलाई गाह्रो भएको हो।
बेलायतकी एमा रीड यस्तै एक अस्थायी भिसामा रहेकी अस्ट्रेलियाकी बासिन्दा हुन्।
उनलाई “यो कहिल्यै नटुङ्गिने खेल” जस्तै लाग्न थालेको छ।

करिब साढे दुई वर्ष अघि आफ्ना श्रीमान् र बच्चाहरूसँगै अस्ट्रेलिया आएकी एमा बेलायतमा रहेका आफ्ना आफन्त भेट्न लालायित छिन्।
“मेरा सौतेनी बुवाको स्थिति राम्रो छैन,” उनले भनिन्।
“यस्तो अवस्थामा आमालाई एक्लै छाड्नुपर्दा मन खिन्न छ र बुबालाई पनि हेर्न जान मन छ।”
के आउँदो नोभेम्बरमा अस्ट्रेलियाको सीमा पुरै खुल्ने हो त?
असी प्रतिशत बासिन्दाहरूले खोपको दुवै मात्रा लगाएपछि सङ्घीय सरकारको अस्ट्रेलियालाई पुनः खोल्ने योजना तेस्रो चरणमा प्रवेश गर्नेछ र नागरिक एवं पीआर भएकाहरूले बिना अवरोध यात्रा गर्न बाटो खुल्ने छ।
खोपको पूर्ण मात्रा लगाएकाहरूले क्वारेन्टिन लगायतका प्रक्रियामा छुट पाउने बताइएको छ भने खोप नलगाएकाहरूको हकमा १४ दिने क्वारेनटिन को सर्त यथावतै रहने छ।
तर अस्थायी आप्रवासीहरूले भने फेज डी वा चौथो चरण लागू हुने बेलासम्मै कुर्नुपर्ने छ।
के म अहिले नै टिकट खरिद गरेर बस्न सक्छु ?

उपभोक्ताहरूलाई विविध विषयमा जानकारी दिँदै आएको संस्था चोइसले यात्रामा जानु अघि टिकटका सर्त तथा नियमहरू पढेर मात्रै निर्णय लिन सुझाव दिएको छ।
उक्त संस्थाकी यात्रा सम्बन्धी एक विशेषज्ञ जोडी बर्ड यात्रुहरूलाई आफ्नो पासपोर्ट र भिसाको म्याद कतै गुज्रिसकेको त छैन भनेर हेर्न सल्लाह दिन्छिन्।
यसै गरी आफूमाथि लागू हुने यात्रा सम्बन्धी सबै खाले प्रतिबन्धहरू बारे जानकारीहरू लिनुपर्ने पनि उनको भनाई छ।
“हामीले सावधानी अपनाउनै पर्छ,” बर्डले भनिन्।
“यदि अस्थायी भिसामा हुनुहुन्छ र यात्रा गर्ने सोच बनाइराख्नुभएको भए टिकट बुक गर्दा कुनै पनि कारणले गर्दा सो रद्द गर्नुपरे पैसा फिर्ता हुने नहुने बारे पनि ध्यान दिनुहोस्।”
उनका अनुसार यात्रा बिमा योजना लिँदा पनि आफू जाने ठाउँमा उक्त योजनाले कोभिड सम्बन्धी अफ्ठेराहरूलाई सम्बोधन गर्छ कि गर्दैन हेर्न निकै जरुरी छ।
उता, अस्ट्रेलियाको ट्राभल एजेन्टहरूको संस्था अस्ट्रेलियन फेडेरेसन अफ ट्राभल एजेन्ट (आफ्टा)का कार्यकारी निर्देशक टम म्यानवारीङ्ग डिसेम्बरसम्ममा यसबारे ठोस निर्णयहरू हुने आसा राख्छन्।

“हामी सबै पक्का जानकारीका लागि कुरिरहेका छौँ,” उनले भने।
“भविष्यवाणी गर्न सक्ने भए त गजबै हुन्थ्यो।”
अर्कोतर्फ भने कतिपय यात्रुहरूले सीमा खुलेपछि मात्रै टिकट बुक गर्दा, टिकटको मूल्य बढी पर्न सक्ने चिन्ता व्यक्त गरिरहेका छन्।
एभलन प्यासिफिक एभीएसन कन्सल्टिङका म्याथ्यु फिन्डले भन्छन् “माग धेरै भएको खण्डमा दाम पनि बढ्छ नै।”
*गोपनियताका कारण नाम परिवर्तन गरिएको छ।
क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी
क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्।
- न्यु साउथ वेल्स: यात्रा, पारवाहन र क्वारेन्टिन
- भिक्टोरिया: यात्रा अनुमति, विदेशबाट आउने यात्रु र क्वारेन्टिन
- एसीटी: यात्रा र क्वारेन्टिन
- नर्दर्न टेरिटरी: यात्रा र क्वारेन्टिन
- क्वीन्सल्यान्ड: यात्रा र क्वारेन्टिन
- साउथ अस्ट्रेलिया: यात्रा र क्वारेन्टिन
- टास्मेनिया: यात्रा र क्वारेन्टिन
- वेस्टर्न अस्ट्रेलिया: यात्रा र क्वारेन्टिन
यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्।
अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।
कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ।
तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्स, भिक्टोरिया, क्वीन्सल्यान्ड, वेस्टर्न अस्ट्रेलिया, साउथ अस्ट्रेलिया, नर्दर्न टेरिटरी, एसीटी, टास्मेनिया ।
नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ।
न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप
प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू
- न्यु साउथ वेल्स
- भिक्टोरिया
- एसीटी
- नर्दर्न टेरिटरी
- क्वीन्सल्यान्ड
- साउथ अस्ट्रेलिया
- टास्मेनिया
- वेस्टर्न अस्ट्रेलिया
महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी
कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।
यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।
