न्यु साउथ वेल्सको पारामाटा स्थित एक कलेजमा कर्मसियल कुकरी पढिरहेका विवेक दवाडी महामारी सुरु भए पछि नेपाल के पुगेका थिए, उतै फसे।
विगत १९/२० महिनादेखि नेपाल अड्केका दवाडी बेला बेलामा अस्ट्रेलियाली सरकारले अन्तर्राष्ट्रिय विद्यार्थी फिर्ता ल्याउँछ भन्ने हल्ला सुन्ने गरेता पनि ठोस कार्यक्रम घोषणा नहुँदा निराश छन्।
तर, पछिल्लो समयमा भने न्यु साउथ वेल्सको अग्रसरतामा अन्तर्राष्ट्रिय विद्यार्थी ल्याउने योजना बढ्दै जाँदा, उनी जस्ता हजारौँको मन पुलकित हुन थालेको छ।
यद्यपि दवाडी अझै सशङ्कित देखिन्छन् र प्रश्न गर्छन्, “यस पटक पनि ललिपप देखाए जस्तो हुने हो कि?”
यस पटक चाहिँ आशा निराशामा नबद्लियोस् भन्ने उनको चाहना छ।
यता, अस्ट्रेलियामा पनि बिस्तारै विद्यार्थीहरू फर्काउने योजनाले मूर्तरूप लिइरहेको देखिन थालेको छ।
न्यु साउथ वेल्स
Image
न्यु साउथ वेल्स सरकारको पहिलो चरणमा ५०० विद्यार्थी ल्याउने परीक्षण योजनालाई सङ्घीय सरकारबाट स्वीकृति प्राप्त भइसकेको छ।
सङ्घीय सरकारले अस्ट्रेलियाका राज्य तथा प्रादेशिक सरकारहरू र विश्वविद्यालयहरूले विद्यार्थीहरूलाई फिर्ता ल्याउँदा पालना गर्नुपर्ने नियमहरू पनि बनाएको छ।
सो प्रोटोकल अनुसार क्वारेन्टिन पनि एक महत्त्वपूर्ण हिस्सा हो।
सोही नियम अनुसार न्यु साउथ वेल्सले सुरुवाती चरणमा पाक्षिक रूपमा बढीमा २५० विद्यार्थीहरूसम्म फिर्ता ल्याउन सक्ने गरी सरकारद्वारा अनुमति जारी गरेको छ।

त्यसै गरी अस्ट्रेलियन कम्पिटिसन एन्ड कन्ज्युमर कमिसन (एसीसीसी) भनिने अस्ट्रेलियाली उपभोक्ताको हक हित हेर्ने राष्ट्रिय संस्थाले पनि अस्ट्रेलियन क्यापिटल टेरिटरी (एसीटी) र न्यु साउथ वेल्स स्थित विभिन्न विश्वविद्यालयहरूलाई, अन्तर्राष्ट्रिय विद्यार्थीहरूको यात्रा व्यवस्थापन संयुक्त रूपमा गर्न अनुमति दिएको छ।
एसीसीसीको निर्णय पछि, योजनामा सहभागी विश्वविद्यालयहरूले अन्तर्राष्ट्रिय विद्यार्थी फिर्ता ल्याउन एककृत प्रणाली निर्माण गर्न बाटो खुलेको छ।
आगामी १५ महिनासम्मका लागि भन्दै उसले १४ विश्वविद्यालयहरूलाई संयुक्त रूपमा काम गर्न अनुमति दिएको हो।
प्रचलित कानुन अनुसार सम्भावित सार्वजनिक लाभ कुनै पनि सम्भावित सार्वजनिक हानि भन्दा बढी हुने देखिएमा एसीसीसीले यस्ता अनुमतिहरू जारी गर्न सक्छ।
यसरी विद्यार्थीलाई फिर्ता ल्याउन उनीहरूको यात्रा मिलीजुली रूपमा सहजीकरणको लागि हाल अनुमति पाउने विश्वविद्यालयहरू यस प्रकार रहेका छन्:
- अस्ट्रेलियन क्याथोलिक युनिभर्सिटी
- अस्ट्रेलियन नेश्नल युनिभर्सिटी
- चार्ल्स स्टुवर्ट युनिभर्सिटी
- सदर्न क्रस युनिभर्सिटी
- मक्वारी युनिभर्सिटी
- युनिभर्सिटी अफ क्यानबेरा
- युनिभर्सिटी अफ न्यु इङ्ल्याण्ड
- युनिभर्सिटी आफ न्युकासल
- युनिभर्सिटी अफ न्यु साउथ वेल्स
- युनिभर्सिटी अफ नोट्रे डेम
- दी युनिभर्सिटी अफ सिड्नी
- युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नी
- वेस्टर्न सिड्नी युनिभर्सिटी र
- युनिभर्सिटी अफ वलङगङ।
यी विश्वविद्यालयहरूले विद्यार्थीहरू फिर्ता ल्याउने हवाई सेवा प्रदायक संयुक्त रूपमा छान्नेदेखि लिएर उनीहरू यात्रा सम्बन्धी सबै व्यवस्थापन मिलेर गर्न पाउने छन्।
एसीसीसीका कमिस्नर स्टिभन रिजवे भन्छन् कि अन्तर्राष्ट्रिय विद्यार्थी फिर्ता ल्याउन अस्ट्रेलियाको प्रतिस्पर्धी कानूनबाट विश्वविद्यालयहरूलाई छूट दिँदा सबै सरोकारवालाहरूलाई सजिलो भएको छ।

“उदाहरणका लागि एउटै यात्रा सेवा प्रदायक प्रयोग गर्दा विश्वविद्यालय, छात्रछात्रा र सरकारी नियोगहरू सबैलाई आगमन तथा क्वारेन्टिन बारे व्यवस्थापन गर्न सहज हुन्छ”, उनले एक विज्ञप्ति मार्फत भने।
“अनि, यात्रा सेवा प्रदायकलाई पनि एकै चोटि थुप्रै टिकट किन्दा विद्यार्थीहरूले अलग-अलग रूपमा खरिद गर्दा भन्दा सस्तो पर्छ।”
भिक्टोरिया पनि तयार हुँदै
न्यु साउथ वेल्सले अन्तर्राष्ट्रिय विद्यार्थी भित्र्याउन अनुमति पाइसकेता पनि भिक्टोरियाले भने यो समाचार तयार पारुन्जेल मोरिसन सरकारबाट अनुमति पाइसकेको छैन।
भिक्टोरियाली सरकारले हरेक हप्ता १२० जनाको दरले अन्तर्राष्ट्रिय विद्यार्थी भित्र्याउने गरी सङ्घीय सरकार समक्ष आफ्नो प्रस्ताव पठाएको छ।
जनसङ्ख्याको आधारमा अस्ट्रेलियाको दोस्रो ठुलो राज्यले अनुमति पाए यो वर्षको अन्त्यसम्ममा विद्यार्थीहरू आउने आसा राखेको बताइएको छ।

राज्यद्वारा सङ्घीय सरकार कहाँ अनुमोदनका लागि पठाइएको प्रस्तावमा अन्तर्राष्ट्रिय यात्रु सङ्ख्या (घर फर्किने अस्ट्रेलियाली) र विद्यार्थी सङ्ख्यालाई अलग-अलग राखिनुपर्ने माग छ।
भिक्टोरियाली सरकारका अनुसार यसो गर्दा घर फर्किने अस्ट्रेलियालीले आफ्नो स्थान पनि गुमाउनु पर्दैन र विद्यार्थीहरू पनि सहज रूपमा भित्रन सक्नेछन्।
“भिक्टोरियाली विश्वविद्यालय, टेफ र कलेजहरूमा भर्ती भएका विद्यार्थीहरूलाई क्रमैसँग सुरक्षित रूपमा भिक्टोरिया फर्काउने यो सुझबुझपूर्ण योजना हो,” राज्यका व्यापार मन्त्री मार्टिन पकुलाले भने।
“क्रमैसँग उनीहरूलाई फिर्ता ल्याउँदा भिक्टोरियाली जनतालाई सुरक्षित राख्न पनि मद्दत पुग्छ र घर फर्किने अस्ट्रेलियालीहरूलाई पनि बाधा हुँदैन।”
भिक्टोरियाली योजनामा प्र्याकटिकल वर्क वा व्यावहारिक शिक्षा, आफ्नो डिग्री सकाउन लागेका र पोस्टग्राजुएट रिसर्चमा भर्ती छात्रछात्राहरूलाई प्राथमिकतामा राखिएका छन्।
क्वारेन्टिनको खर्च विश्वविद्यालयले उठाउने भएता पनि यात्राको खर्च भने फर्किन विद्यार्थी स्वयम्ले व्यहोर्नु पर्ने पनि बताइएको छ।
यसै गरी दोस्रो चरणमा भने टेफ, अङ्ग्रेजी भाषाका कोर्समा भर्ना भएका, निजी कलेज र माध्यमिक तहका स्कूलका विद्यार्थीहरू परेका छन्।
सरकारी आँकडाहरूका अनुसार भिक्टोरियाली शैक्षिक संस्थामा भर्ती करिब १०० देशका झन्डै ७५,००० अन्तर्राष्ट्रिय विद्यार्थीहरू मध्ये ४७,००० देश बाहिर नै फसेका छन्।
सङ्घीय सरकारको भनाई
केही दिन अघि न्यु साउथ वेल्स प्रिमियर डोमिनिक पेरोटेले नोभेम्बरदेखि सबैका लागि आफ्नो राज्य अन्तर्राष्ट्रिय यात्रीका लागि खुल्ने घोषणा गरेता पनि प्रधानमन्त्री स्कट मोरिसनले भने तत्काल सबैका लागि सीमा नखुल्ने बताएका छन्।
उनले पहिलो चरणमा अस्ट्रेलियाली नागरिक, पीआर वाहक लगायत उनीहरूका अत्यन्त निकट सम्बन्धीहरूलाई अस्ट्रेलिया प्रवेशमा प्राथमिकता दिइने बताएका छन्।
त्यसपछि दक्ष कामदार, विद्यार्थी र पर्यटकहरूका लागि अस्ट्रेलियाले आफ्नो ढोका क्रमैसँग खोल्ने पनि उनले बताए।
