SKIP TO MAIN CONTENT

बुधवार अस्ट्रेलियामा थप ३२ जनामा सामुदायिक सङ्क्रमण पुष्टि

बुधवार अस्ट्रेलियामा थप थप ३२ जनामा कोरोनाभाइरसको सामुदायिक सङ्क्रमण पुष्टि भएको छ।

Queensland Health Minister Yvette DAth is seen during a press conference in Brisbane, Wednesday, June 30, 2021.
Queensland Health Minister Yvette DAth is seen during a press conference in Brisbane, Wednesday, June 30, 2021. Source: AAP

4 min read

Published

Updated



Skip to article content

न्यु साउथ वेल्सको २२, साउथ अस्ट्रेलियाको ५, क्विन्स्ल्यान्डको ३, भिक्टोरिया तथा वेस्टर्न अस्ट्रेलियाको १-१ जनामा गरी अस्ट्रेलियाभर कुल ३२ जनामा कोभिड-१९ को सामुदायिक सङ्क्रमण पुष्टि भएको हो।

न्यु साउथ वेल्स

मङ्गलवार राती आठ बजेसम्मको २४ घन्टे गणना अवधिमा न्यु साउथ वेल्समा २२ जनामा सामुदायिक सङ्क्रमण पुष्टि भएको छ।

६८,००० भन्दा बढी मानिसको परीक्षण गर्दा ती सङ्क्रमणका मामिला पुष्टि भएको हो।

राज्यकी प्रिमियर ग्लाडिस बेरिजिक्लियनले २२ मध्ये ११ जना सङ्क्रमितहरू उनीहरूको सङ्क्रमण अवधिभर आइसोलेसनमा रहेको बताएकी छिन्।

त्यसै गरी अन्य पाँच जना भने उनीहरूको सङ्क्रमण अवधिको केही समय मात्र आइसोलेसनमा बसेको पनि उनको भनाई छ।

न्यु साउथ वेल्सकी प्रमुख स्वास्थ्य अधिकारी डा केरी च्यान्टले भने राज्यमा हाल लागू लकडाउनको उद्देश्य पनि सङ्क्रमित मानिसहरूले सकेसम्म कम समय समुदायका अन्य सदस्यहरूका माझ बिताउन भन्ने रहेको बताइन्।

यसै बिच, आगामी जुलाई १२ तारिख सोमवारदेखि राज्यभरका कार्यस्थल, विद्यालय, खुद्रा व्यापार लगायतका स्थानहरूमा क्युआर कोड प्रणाली अनिवार्य हुनेछ।

क्विन्सल्यान्ड

क्विन्सल्यान्डको ठुलो क्षेत्र लकडाउनको पहिलो दिनमा रहँदै गर्दा, राज्यका स्वास्थ्य अधिकारीहरूले तीन नयाँ सामुदायिक सङ्क्रमणका मामिला पुष्टि बुधवार बिहान गरेका छन्।

यी तीनै मामिलाहरू पहिले जानकारीमा आइसकेका सङ्क्रमित मानिसहरूका निकट सम्बन्धीहरू हुन् जसमध्ये एक जना प्रिन्स चार्ल्स अस्पताल कर्मचारीका भाइ हुन् भने अर्का एक जना चाहिँ पुर्तुगाली रेस्टुरेन्ट क्लस्टरसँग जोडिएका व्यक्ति रहेको बताइएको छ।

बाँकी एक जना भने भर्जिन विमान सेवाको कर्मचारीका नजिकका व्यक्ति रहेको पनि अधिकारीहरूको भनाई छ।

प्रिमियर अनास्टेसिया पलाशेका अनुसार बुधवार घोषणा गरिएका तीन वटै मामिलाहरू कम जोखिमका रूपमा वर्गीकृत गरिएको छ।

उनले गएका २४ घण्टामा झन्डै १८,५०० क्विन्स्ल्यान्डवासी कोभिड-१९ परीक्षणका लागि अगाडी आएको पनि जानकारी दिइन्।

साउथ अस्ट्रेलिया

South Australian Premier Steven Marshall.
The death was announced by South Australian Premier Steven Marshall. Source: AAP

सामुदायिक कोरोनाभाइरस सङ्क्रमणबाट २११ दिन मुक्त रहन सफल साउथ अस्ट्रेलियाले पनि बुधवार पाँच जनामा कोभिड-१९ देखिएको पुष्टि गरेको छ।

सङ्क्रमण पुष्टि भएका मानिसहरूमा खानीमा काम गर्ने एक पुरुष, उनको श्रीमती लगायत तीन जना बच्चाहरू रहेको राज्यका प्रिमियर स्टिभन मार्सलले बताएका हुन्।

उनका अनुसार हाल ती पाँचै जना गत शनिवारदेखि आफ्नै घरमा आइसोलेसनमा रहेका छन्।

"हामी धेरै भाग्यमानी छौँ कि यो परिवारले सही काम गरे," उनले बुधवार एडिलेडमा आयोजित पत्रकार सम्मेलनका क्रममा भने।

"साउथ अस्ट्रेलिया स्वास्थ्य विभागको निर्देशन किन मान्नुपर्छ भन्ने बारे यो एक उत्तम नमुना हो।"

यो पछिल्लो विकसित घटनाक्रमका बाबजुद हाललाई साउथ अस्ट्रेलियामा लकडाउनको घोषणा गरिएको छैन।

मार्सल भन्छन् कि साउथ अस्ट्रेलियामा उनी लकडाउन भएको हेर्न चाहँदैनन्।

तर निजी आवासहरूमा १० जनाभन्दा बढी मानिस जम्मा हुन नपाउने प्रतिबन्धात्मक नियम भने उनले बुधवार घोषणा गरेका छन्।

यसका साथै भौतिक दूरी कायम गर्न नसकिने खुद्रा व्यापारिक केन्द्रहरू तथा पसलहरूमा भने मास्क लगाउन पनि सिफारिस गरिएको छ।

भिक्टोरिया

Victorian Minister for Health Martin Foley.
Victorian Minister for Health Martin Foley Source: AAP

भिक्टोरियामा भने लगातार तीन दिन कुनै सामुदायिक सङ्क्रमणका घटना दर्ता नभएकोमा बुधवार एक नयाँ मामिला पुष्टि भएको छ।

राज्यका अधिकारीहरूले बताए अनुसार ती सङ्क्रमण पुष्टि भएका मानिस पुरै सङ्क्रमित अवधिभर आइसोलेसनमा थिए।

केही दिन यता देशका अन्य भूभाग भन्दा कम सामुदायिक सङ्क्रमण पुष्टि भएको भिक्टोरियामा हाल जारी प्रतिबन्धहरू लम्बिने बताइएको छ।

बुधवार मेलबर्न पत्रकारहरूसँग कुरा गर्दै राज्यका स्वास्थ्य मन्त्री मार्टि‍न फोलीले यसबारे सङ्केत गरेका हुन्।

"राष्ट्रका रूपमा यो प्रस्ट छ कि हामी एकदमै नाजुक स्थितिमा छौँ," उनले भने।

वेस्टर्न अस्ट्रेलिया

लकडाउनको दोस्रो दिन वेस्टर्न अस्ट्रेलियामा एक सामुदायिक सङ्क्रमणको घटना पुष्टि भएको छ।

प्रिमियर मार्क मक्गावनले यसबारे जानकारी दिँदै भने कि पछिल्लो सङ्क्रमित मानिस एक ३७ वर्षीय पुरुष हुन् जसले पर्थको उत्तरी सर्बबमा रहेको एक जीम गएका थिए।

उक्त व्यायामशालामा यसभन्दा अघि देखा परेका दुई सङ्क्रमित पनि गएको उनको भनाई छ।

मक्गावनले ती व्यक्ति उनको सङ्क्रमणकालीन अवस्थामा आइसोलेसनमा रहेको पनि बताए।

उक्त जीम सङ्क्रमित स्थान भनेर पहिचान भए पछि ती पुरुषले कोभिड-१९ परीक्षण गराउँदा पहिले नेगेटिभ परिणाम आएता पनि पछि उनमा कोरोनाभाइरसको लक्षणहरू देखा परेको बताए छन्।

"यस कारण पनि तपाईँको नेगेटिभ नतिजा आए पनि लक्षणहरू देखिएका छन् भने पुनः परीक्षण गराउनुहोस्," उनले भने।

 

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now