राज्यको होटेल क्वारेन्टिन कार्यक्रम पुन: सञ्चालनमा आउँदा, मेलबर्नको टुलामरिन विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भर्ने जहाजहरू बिहिबारदेखि अवतरण हुन थालेका हुन्।
गत फेब्रुअरी महिनामा केही होटेल क्वारेन्टिन कर्मचारीहरू युके प्रजातिको कोरोनाभाइरसबाट सङ्क्रमित भएपछि ड्यानिएल एन्ड्रुज सरकारले सो कार्यक्रम स्थगित गरेको थियो।
दुई साता अघि मेलबर्नमा आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै भिक्टोरियाका कार्यवाहक प्रिमियर जेम्स मेलिनोले अब फेरी सञ्चालनमा आउने होटेल क्वारेन्टिन कार्यक्रम थप कडा नियमहरूका साथ सुचारु गरिन लागेको जानकारी दिएका थिए।
मेलबर्नमा बिहिबार बिहानै श्रीलङ्काबाट ११ अस्ट्रेलियाली यात्रुहरू लिएर हवाइजहाज ओर्लिएको थियो।
एबीसी रेडियोसँग कुरा गर्दै भिक्टोरियाली मन्त्रीपरिषद्का एक सदश्य ड्यान्नी पियरसनले चार विभिन्न हवाईसेवाका विमानहरूबाट बिहिबार लगभग १०० जनाको हाराहारीमा यात्रुहरू मेलबर्न आउने बताए।
प्रति हप्ता ८०० यात्रुहरू भिक्टोरियामा ओर्लन सक्ने गरी कार्यक्रम निर्माण गरिएको पनि उनले बताए।
कार्यवाहक प्रिमियर भन्छन् कि होटेलहरूको क्षमता तथा वायु सञ्चार सम्बन्धी काम कति पुरा हुन्छ, त्यो सबै हेरेर उक्त सङ्ख्या प्रति हप्ता १,००० सम्म पुर्याइने छ।
मेलबर्नमा क्वारेन्टिनका लागि ६ होटेलहरू तयारी अवस्थामा रहेको बताइएको छ जसमध्ये बिहिबार आउने सबै यात्रुहरुलाई विमानस्थल नजिकैको होलिडे ईन तथा सहरको बिचमा अवस्थित् इन्टरकन्टिनेन्टलमा राखिने पनि कार्यवाहक प्रहरी मन्त्री पियरसनले बताए।
अघिल्लो वर्ष भिक्टोरियामा १८,००० भन्दा बढी सङ्क्रमितहरू, ८०० को हाराहारीमा मृत्यु र ११२ दिनसम्मको लगातार लकडाउनको कारण, होटेल क्वारेनटिनबाट नै चुहावट भएको कोरोनाभाइरसद्वारा सुरु भएको सङ्क्रमणको लहर थियो।
र, फेब्रुअरी महिनामा होटेल क्वारेन्टिन कार्यक्रम स्थगन पनि विदेशबाट फर्केर आएका सङ्क्रमित यात्रुहरूबाट होलिडे इन होटेलमा काम गर्ने कर्मचारीहरू र उनीहरूबाट समुदायमा फैलिएको पुष्टि भएपछि भएको थियो।
२४ जना मानिसहरूमा उक्त युके स्ट्रेन भनिने कोरोनाभाइरसको एक प्रजाती देखिएपछि मेलबर्न सहित पुरा भिक्टोरिया ५ दिनका लागि, राज्य सरकारले लकडाउनमा राखेको थियो।
जेम्स मेलिनो भन्छन् कि त्यस पछि, उक्त प्रजातिको कोरोनाभाइरस र होटेलहरूको वायु सञ्चार बारे थप बुझ्न गठन गरिएको एक छानबिन समितिले बुझाएको रिपोर्ट अनुसार नै, आफूहरूले आवश्यक परिमार्जन लागू गरेका छन्।
"भिक्टोरियावासीहरूलाई सुरक्षित राख्न हामीले आवश्यक कदमहरू चालेका छौँ," उनले भने।

छानबिन समितिका सुझावहरू
सेफर केयर भिक्टोरियाद्वारा गरिएको सो छानबिनका क्रममा उसले होटेल क्वारेन्टिन कर्मचारीहरू उचित रूपमा तालिम प्राप्त रहेको र नियमहरू उल्लङ्घन भए एक-अर्कालाई सतर्क गराउने गरेको पाएको थियो।
यद्धपी छानबिनले एन९५ मास्कहरूको प्रयोग बढाउन, कर्मचारीहरूको सिफ्ट परिवर्तन हुने बेलाको प्रक्रियामा सुधार र कर्मचारीहरू तथा तिनका घरमा बस्ने अन्य मानिसहरूको सम्बन्ध देखाउन सहज हुने एक नयाँ अनलाइन प्रणालीको निर्माण गर्नुपर्ने जस्ता सुझावहरू दिएको छ।
यसै गरी, सबै क्वारेन्टिन होटेलहरूको भेन्टिलेसन भनिने वायु सञ्चार प्रणाली बारे पनि जाँच गरिनुपर्ने र केही पुराना भवनहरूको स्तरोन्नतिका लागि पनि छानबिनले पहल गर्न सिफारिस गरेको छ।

विदेशबाट फर्किने यात्रुहरूको हकमा भने, छानबिन समितिले उनीहरू क्वारेन्टिनमा बस्दा ४ पटकसम्म कोभिड परीक्षण गर्न भनेको छ।
तथापि, राज्यका उप-प्रमुख स्वास्थ्य अधिकारी एलेन चेङ्गले भने होटेल क्वारेन्टिन कर्मचारीहरूलाई कोरोनाभाइरस विरुद्धको खोप दिने कार्य नै सङ्क्रमणलाई रोक्ने सबैभन्दा राम्रो उपाय भनेका छन्।
कार्यवाहक प्रिमियर मेलिनोका अनुसार हालसम्म ४,१५० भन्दा बढी क्वारेन्टिन कर्मचारीहरूलाई कोभिड-१९ खोपको पहिलो मात्रा दिइसकिइएको छ।

अस्ट्रेलियाको पछिल्लो समाचार तथा अन्य सामाग्री नेपाली भाषामा सुन्नको लागि यो लिङ्क हेर्नुहोस्: https://podfollow.com/sbs-nepali
