महामारीका कारण लगाइएको सामाजिक दुरी सम्बन्धी प्रतिबन्धहरू सहज पारिँदै गर्दा मेलबर्नको उत्तरमा पर्ने फक्नर स्थित एक म्याकडोनाल्ड्सका तीन कामदारहरूमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको हो।
ती तीन कर्मचारी बाहेक उनीहरूको सम्पर्कमा आएका अन्य तीन जनामा पनि कोभिड-१९ सङ्क्रमण देखिएको बताइएको छ।
हाल उक्त रेस्टुरेन्टलाई बृहत् रूपमा सरसफाइ गरिएपछि नजिकका अन्य म्याकडोनाल्ड्सबाट कामदारहरू ल्याएर पुनः सञ्चालनमा ल्याइएको बुझिन आएको छ।

योसँगै, आफ्ना ९२ कर्मचारीहरूको पनि परीक्षण हाल भइरहेको र त्यसको नतिजा पश्चात् कोभिड-१९ सङ्क्रमितको सङ्ख्या अझ बढ्न सक्ने बारे उक्त रेस्टुरेन्ट चेनले चेतावनी दिएको छ।
तर उक्त म्याकडोनाल्ड्सका एक कर्मचारीलाई गत मे ७ तारिखमा नै कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि हुँदा समेत बन्द गर्न राज्यका स्वास्थ्य अधिकारीहरू आदेश नदिएको भन्दै आलोचना भएको छ।
मे ८ मा अर्को जनालाई पनि कोभिड-१९ सङ्क्रमण पुष्टि गर्ने क्रममा फक्नर स्थित सोही रेस्टुरेन्ट स्रोतको रूपमा देखिए पछि भने अधिकारीहरूले आवश्यक कदम चालेका थिए।
“बृहत् रूपमा सरसफाइ गर्न म्याकडोनाल्ड्सले आफ्नो उक्त रेस्टुरेन्ट बन्द गरेको थियो। सङ्क्रमण पुष्टि भएका मानिसहरूका नजिकैका सम्बन्धीहरू सबैलाई विभागले सम्पर्क गरिसकेको छ र उनीहरूलाई १४ क्वारेन्टिनमा बस्न भनिएको छ,” भिक्टोरियाली स्वास्थ्य विभागद्वारा जारी एक विज्ञप्तिमा उल्लेख छ।
कुखुरा फ्याक्ट्रीमा पनि सङ्क्रमण
एक भिक्टोरियाली कुखुरा प्रशोधन कारखानामा कार्यरत एक कामदारमा पनि कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।
तर, राज्यको स्वास्थ्य विभागले उक्त मामिला पृथक् रहेको बताउँदै हाल आफूले कन्ट्याक्ट ट्रेसिङ्ग तथा परीक्षण गरिरहेको प्रस्ट पारेको छ।
नाम नखुलाइएको उक्त प्रशोधन केन्द्र कीटाणुरहित गर्ने गरी दैनिक रूपमा सरसफाइ हुँदै आएको र हप्तामा एक पटक बृहत् रूपमा स्वच्छ पारिने गरेको पनि बताइएको छ।

उता, सेडर मिट्स नामक एक वधशालामा फैलिएको सङ्क्रमणले हालसम्म ८८ जनालाई आफ्नो चपेटामा पारिसकेको पुष्टि गरिएको छ।
भिक्टोरिया भर पुष्टि भएका कुल मामिलाहरू मध्ये हाल ११० जना मात्रै अझ कोरोनाभाइरसद्वारा पीडित रहेको बताइएको छ जसमध्ये नौ जना अस्पतालमा भर्ती रहेका छन्। ती नौ जनामा ६ जनाको उपचार सघन रूपमा हुँदैछ।
यसै क्रममा भिक्टोरियाली रोजगारी मन्त्री मार्टिन पकुलाले जीवन पहिलेको जस्तै गरेर जिउन नमिल्ने बताएका छन्।
“सबै जनाले पहिलेको जस्तै रूपमा जीवन यापन गर्छु भनेर सोच्नु ठिक छैन, अहिलेको अवस्थामा,” उनले बुधवार पत्रकारहरूसँग बोल्ने क्रममा भने।

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।
कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।
यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।
नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि:

