कोरोनाभाइरसको कारण बिचैमा विशेष राहत प्याकेजहरू घोषणा नगरिएको भए, मङ्गलवार साँझ ट्रेजरर जस फ्राडेनबर्गको आगामी आर्थिक वर्षका लागि बजेट भाषण सुनाउने पूर्व निर्धारित कार्यक्रम थियो।
तर, संसारले कहिल्यै नदेखेको स्वास्थ्य एवं आर्थिक धक्का कोरोनाभाइरसले सुरु गरेको भन्दै फ्राडेनबर्गले मङ्गलवार संसद्को बैठकलाई सम्बोधन गरेका हुन्।
“कडा र निर्णायक कदमहरूका कारण अस्ट्रेलियाले अरू राष्ट्रको पुगेको अवस्थाबाट टाढै रहेको छ,” उनले भने।

आफूद्वारा घोषित राहत प्याकेजका कारण २५ अर्व मानिसहरूको हात-हातमा पुगी सकेको र थप ३० अर्व आउँदा दिनहरूमा पुग्ने बताउँदै ट्रेजररले आफ्नो उक्त राहत प्याकेज सम्बन्धी कार्यलाई अस्ट्रेलियाको इतिहास कै सबैभन्दा बृहत् आर्थिक सहायता रहेको बताएका छन्।
तर पनि आर्थिक सूचकाङ्कहरू अझै सोचे अनुरूपको नदेखिएको पनि फ्राडेनबर्गले टिप्पणी गरे।
थप रोजगारी गुम्न सक्ने र कुल ग्राहस्थ उत्पादनमा ह्रास आउने बारे चर्चा गर्दै गर्दा उनको घाँटी पनि अवरुद्ध भएको थियो।
“शायद भाषण लामै भएछ कि क्या हो,” उनले सँगै रहेको गिलासबाट पानी खाँदै भने।

मार्च महिनामा आफूद्वारा चालिएको राहत सम्बन्धी कार्यका कारण २२.४ अर्व डलरले उक्त महिनामा मात्र अन्तर्निहित नगद घाटा भएको बताउँदै ट्रेजरर फ्राईडेनबर्गले उक्त अङ्क सोचे भन्दा करिब १० अर्व डलर बढी रहेको पनि संसद्लाई बताए।
कोभिड-१९ का कारण कूल सरकारी घाटा ५६० अर्वबाट बढेर ६१८ अर्व पुगेको बताइएको छ र फ्राईडेनबर्गका अनुसार उक्त ऋण चुक्ता गर्न बर्षौ लाग्नेछ।
“अस्ट्रेलियालीहरू थाहा छ कि हामीसँग पैसा उमार्ने कुनै रुख छैन र आज लिएको ऋण भोलि तिर्नै पर्छ,” उनले अगाडी भने।
ट्रेजररका अनुसार कोरोना सङ्कट पश्चात् चालिने आर्थिक सुधारका कार्यक्रमहरू लिबरल-नेशनल गठबन्धनको सिद्धान्तमा आधारित हुनेछन्।
“अर्थतन्त्रलाई बलियो बनाउन बढी कर लगाउने होइन बरु उत्पादकता वृद्धि गर्ने सुधारका कार्यक्रमहरू लागू गर्नुपर्छ,” उनले भने।
फ्राईडेनबर्गका अनुसार सरकारले व्यवहारिक उपायहरूमा ध्यान दिँदै कार्य बलको क्षमता अभिवृद्धि गर्ने, उनीहरूलाई पुनर् तालिम दिने लगायत १०० अर्व भन्दा बढी पूर्वाधार निर्माणमा खर्च गरिने एवं कर कटौती गर्नेछ।
उनले आफ्नो भाषणलाई बिट मार्ने क्रममा शुक्रवार प्रधानमन्त्री स्कट मरिसनद्वारा घोषित तीन चरण गरेर प्रतिबन्धहरू खुकुलो पार्दै लैजाने योजनाका कारण प्रति महिना करिब ८५०,००० रोजगारी थपिने तथा ९.४ अर्वका दरले कुल ग्राहस्थ उत्पादन अभिवृद्धि हुने पनि बताए।
तर, पुनः व्यापार व्यवसाय बन्द गर्नु परेको खण्डमा चाहिँ न्यु साउथ वेल्सले प्रति महिना झन्डै डेढ अर्व डलर अनि भिक्टोरियाले चाहिँ एक अर्व डलर घाटा सहनुपर्ने पनि उनले चिन्ता व्यक्त गरे।

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।
कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।
यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।
नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि:

