मुख्य बुँदाहरू:
- हरेक वर्ष २६ डिसेम्बरमा मनाइने बक्सिङ डेलाई अस्ट्रेलिया कै शीर्ष किनमेल गर्ने उत्सवको रूपमा लिइन्छ।
- अस्ट्रेलियामा अधिकांश सामानहरू उपभोक्ता ग्यारेन्टीको साथ आउँछन्।
- 'हलिडे सिजन'को बिक्रीले २३ देखि २५ अर्ब डलर उत्पन्न गर्छ।
इसाई धर्मावलम्बीहरूको महान् चाड क्रिसमस पछि अस्ट्रेलियामा २६ डिसेम्बरको दिन बक्सिङ डेमा सार्वजनिक बिदा हुन्छ।
यो छुट्टी बेलायती इतिहाससँग जोडिएको छ, जब सेवा प्रदान गर्ने कर्मचारीहरूलाई यस दिनमा ‘क्रिसमस बक्स’ दिने चलन थियो।
मोनाश विश्वविद्यालयको धार्मिक अध्ययन केन्द्रका प्रोफेसर कन्स्टेन्ट म्युज बताउँछन् कि क्रिसमसको बक्स दिने परम्परा १६ औँ शताब्दीदेखि नै चलिआएको हो।
"यो अरूलाई सेवा दिने 'सर्भेन्ट' र व्यापारीहरूलाई उनीहरूको उदारताको लागि दिइने उपहार थियो। त्यसरी यो परम्परा १६ औँ र १७ औँ शताब्दीमा सुरु भएको थियो,” उनले बताए।
“यो आफ्नै परिवारका सदस्यहरूका लागि मात्र होइन, तर आइतवारको दिन बाहेक हप्ताको हरेक दिन काम गरिरहेका र अरूलाई मद्दत गरिरहेका मानिसहरूका लागि थियो। त्यसैले, यो सामाजिक विभाजनहरू हटाउने एक तरिका थियो। र अहिले समयसँगै अवश्य परिवर्तनहरू भएका छन्।”
प्रोफेसर म्युजका अनुसार १९ औँ शताब्दीको अन्त्य तिर र २० औँ शताब्दीको प्रारम्भमा अस्ट्रेलियामा यो दिन, आराम गर्ने, खेलकुद र प्रसिद्ध ‘बक्सिङ डे सेल्’ को रूपमा परिणत भयो।

'बक्सिङ डे सेल'
बक्सिङ डेमा लुगादेखि विद्युतीय उपकरणसम्म - धेरै सामानहरू सस्तोमा पाइन्छ।
त्यसैले यो दिनमा लाखौँ अस्ट्रेलियनहरूले आफ्नो लागि किनमेल गर्नुका साथै वा आफ्ना साथीभाइ र परिवारजनका लागि उपहारहरू किन्छन्।
ब्रायन वकर, रिटेल डक्टर्स ग्रुप नामक संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा संस्थापक हुन्।
देशभर थुप्रै पसलहरूमा सामानको भाउमा छुट हुँदा, यो दिन अस्ट्रेलियाको लागि महत्त्वपूर्ण मानिने उनको भनाइ छ।
"हरेक वर्ष २६ डिसेम्बरदेखि लगभग सात दिन सम्म चल्ने बक्सिङ डेको सेल सालकै सबैभन्दा ठुलो किनमेल गर्ने अवसर हो। यस अवधिमा अस्ट्रेलिया भर करिब २३ देखि २५ अर्ब डलरको बिक्री हुन्छ। केवल बक्सिङ डेमा मात्र लगभग तीन देखि चार अरब डलरको बिक्री हुन्छ,” वकरले बताए।
उनी बताउँछन् कि सन् १९८० को दशकदेखि नै बक्सिङ डे मनाउन थालिएको र ठुला डिपार्टमेन्ट स्टोरहरूको वृद्धसँगै यस दिनले पनि बढावा पाएको छ।
"त्यो बेलादेखि अस्ट्रेलिया र विश्वव्यापी खुद्रा बजार धेरै परिवर्तन भएको छ। अहिले विगतमा भन्दा धेरै प्रतिस्पर्धीहरू, धेरै मागहरू, र धेरै स्टकहरू छन्। त्यसैले विक्रेता र खरिददार, दुवैका लागि यो एक प्रतिस्पर्धी वातावरण हो जसमा राम्रो गर्नका लागि अनुसन्धान जरुरी छ।"
बक्सिङ डे विशेष गरी सस्तोमा र ‘डिस्काउन्ट’मा किनमेल गर्न खोज्नेहरूका लागि रमाइलो दिन हो।
मेलबर्नमा गत चार वर्षदेखि आतिथ्य क्षेत्रमा काम गर्दै आएकी दिपा खड्का, बक्सिङ डेमा महँगो सामान पनि किन्न सहज हुने बताउँछिन् ।
"कहिलेकाहीँ हामीलाई महँगो आइटमहरू पनि चाहिएको हुन्छ नि त, झन् स्टुडेन्ट लाइफमा आफूलाई मन परेको कुरा पनि किन्न सकिन्न। सो त्यस्तो बेलाको लागि बक्सिङ डेको अझै धेरै महत्त्व हुन्छ, यसले सजिलो बनाइदिन्छ। म पनि आफूलाई के मन पर्यो, ठ्याक्क लिन्छु,” खड्काले बताइन्।

किनमेल गर्दा के-के कुरामा ध्यान दिने?
अस्ट्रेलियन स्टाइल इन्स्टिच्युटका संस्थापक लरेन डि बार्टोलोका अनुसार बक्सिङ डे आउनु अघि अक्टोबरमा हुने क्लिक फ्रेन्जी, र नोभेम्बरको ब्ल्याक फ्राइडे र साइबर मन्डे जस्ता दिनहरू पनि छन्।
"फेसन र जीवनशैलीको परिप्रेक्ष्यमा, बक्सिङ डे भनेको केही समय देखि आफ्ना विश लिस्टमा भएका चीजहरूको मूल्य घटेको मौकामा किन्ने दिन हो। विक्रेताहरूले क्रिसमस र वर्षको त्यो समयका लागि धेरै सामान किनेका हुन्छन्, त्यसैले बक्सिङ डे वास्तवमा ती बढी सामानहरू बेचेर सकाउने दिन हो,” बार्टोलोले बताइन्।
यस्ता ठुला बिक्री हुने समय हरेक वर्ष नोभेम्बरको मध्यदेखि जनवरीको अन्त्यसम्म रहन्छ, जब लगभग ७० अर्ब डलरको अनुमानित खर्च हुने वकर बताउँछन्।
बक्सिङ डेको उपलक्ष्यमा अनलाइनमा पनि धेरै छुटहरू हुन्छन्। इन्टरनेट मार्फत सामान किन्नु अघि भने सावधान हुनु पर्ने उनको भनाइ छ।
आफ्नो बिक्रेतालाई चिन्नुहोस्, तिनीहरूको अनलाइन प्रक्रिया सुरक्षित छ भन्ने सुनिश्चित गर्नुहोस्, बैङ्किङ विवरणहरू जाँच गर्नुहोस्, सबै सुरक्षा एपहरू ठाउँमा छन् कि छैनन् भनी जाँच गर्नुहोस्।ब्रायन वकर
किनमेल गर्नु अघि सर सामाग्रीको मूल्य र बजारको अवस्था बारे अनुसन्धान गर्नु पर्ने डि बार्टोलो बताउँछिन्।
तर यदि तपाईँलाई यताउति बुझ र अनुसन्धान गर्नु मन छैन र सिधै पसलमा गएर किन्नु मन छ भने चाहिँ, आफ्नो बजेटलाई ध्यानमा राख्न उनले सल्लाह दिएकी छिन्।
“हाम्रो दिमागमा एउटा भाग हुन्छ, जसलाई रेटिक्युलेटिङ एक्टिभेटिङ सिस्टम भनिन्छ। त्यसको कारणले आफूसँग जे सामान छ, त्यही तिर मात्र हाम्रो ध्यान जान्छ,” डि बार्टोलोले बताइन्।
“त्यसैले आफ्नो दराजमा के-के लुगा छ एक पटक हेर्नुहोस्, र आफूलाई त्यस्तै अर्को लुगा चाहिँदैन भने दोहोराएर नकिन्नुहोस्।”
तपाईँको बजेट कति छ?
यसरी सस्तोमा किनमेल गर्न जान रमाइलो भए तापनि, आफूले कति पैसा खर्च सक्छु भनेर पहिले नै एउटा ‘बजेट’ तयार गर्नु पर्ने, मेलबर्न बिजनेस स्कुलकी वित्तीय विषयकी प्रोफेसर नादिया मसूद बताउँछिन्।
“सुरुमा आफूले कताबाट कति कमाउनु हुन्छ भनेर सूची बनाउनुहोस्। अनि आफूलाई चाहिने सामान र तिनको मूल्यको सूची बनाउनुहोस्,” प्रोफेसर नादियाले बताइन्।
“अनि त्यसबाट तपाईँलाई नभई नहुने सामानको खर्चलाई ‘फिक्स्ड एक्स्पेन्सेस’ भनिन्छ, अनि तुरुन्तै नचाहिनेलाई ‘डिस्क्रेसनरी’। यसरी आफ्नो खर्चमा नियन्त्रण गर्न सक्नुहुन्छ।”
उनी भन्छिन् कि, तपाईँको सामान्य रूपमा कुनै छुट बिना कुल खर्च हुन्थ्यो, त्यो खर्चलाई घटाउने मौकाको रूपमा बक्सिङ डेलाई लिनुहोस्।
उदाहरणको लागि, हुर्किरहेका बच्चाहरूको लागि लुगा, जुत्ता किन्दा बक्सिङ डेमा किन्न सक्नुहुन्छ।
तपाईँको उपभोक्ता अधिकार के हुन्?
तपाईँ अस्ट्रेलियामा एक उपभोक्ता भएको नातामा, उपभोक्ताका अधिकारहरूको बारेमा जान्न जरुरी छ, जसले तपाईँलाई धेरै समस्याहरूबाट जोगाउन सक्छ।
अस्ट्रेलियन उपभोक्ता कानुन अन्तर्गत, तपाईँले किन्नु भएको सामान असुरक्षित भएमा, किनेको समयमा नै बिग्रिएको भएमा वा विवरणसँग मेल नखाएमा, त्यसको पैसा फिर्ता अर्थात् ‘रिफन्ड’, मर्मत वा त्यसको सट्टामा नयाँ सामानको माग राख्ने अधिकार तपाईँसँग हुन्छ।
यस विषयमा न्यु साउथ वेल्स फेयर ट्रेडिङकी कमिस्नर नताशा म्यानले यसको बारेमा जानकारी दिएकी छिन्।
“तपाईँले अस्ट्रेलियामा किन्नु हुने धेरैजसो सामानहरू ‘कन्ज्युमर ग्यारेन्टी’का साथ आउँछन्। त्यसले त्यो सामानले आवश्यकता अनुसार काम गर्छ र राम्रो गुणस्तरको, सुरक्षित छ भनेर सुनिश्चित गरेको हुन्छ,” उनले बताइन्।

“तपाईँले अस्ट्रेलियामा किन्नु हुने धेरैजसो सामानहरू ‘कन्ज्युमर ग्यारेन्टी’का साथ आउँछन्। त्यसले त्यो सामानले आवश्यकता अनुसार काम गर्छ र राम्रो गुणस्तरको, सुरक्षित छ भनेर सुनिश्चित गरेको हुन्छ,” उनले बताइन्।
अनलाइनबाट वा आफैँ पसलमा गएर - जुन तरिकाबाट किने पनि तपाईँको समान अधिकार हुने म्यानको भनाइ छ।
तर विदेशी बिक्रेताबाट सामान किन्दा चाहिँ अलि झन्झटिलो हुन सक्ने र तपाईँ तुरुन्तै रिफन्डको लागि योग्य नहुन सक्ने उनी बताउँछिन्।
किनमेल गर्न जानु अस्ट्रेलियामा बक्सिङ डेको ठुलो पाटो हो। तर यो दिनले मानिसहरूलाई सँगै समय बिताउने र क्रिसमसको दिनबाट बचेका खानेकुराहरू खाँदै सामाजिक रूपमा नजिकिने मौका पनि दिने, डि बार्टोलो बताउँछिन्।
"बक्सिङ डेमा खर्च र किनमेल नै गर्नु पर्छ भन्ने पनि छैन। यो दिन धेरैका लागि क्रिसमसको भिड र हल्ला पछि आराम गर्ने दिन पनि हो,” बार्टोलोले बताइन्।







