SKIP TO MAIN CONTENT

किन खुम्चदैछ चीनको जनसङ्ख्या?

CHINA BEIJING POPULATION
As the world's population hits eight billion, China's population growth loses momentum Source: AP / jhphoto

संयुक्त राष्ट्रसङ्घका अनुसार नोभेम्बर १५ तारिखबाट विश्व जनसङ्ख्या ८ अर्ब पुगेको छ।


Published

Updated

By Marcus Megalokonomos

Presented by Krishna Pokhrel

Source: SBS



Skip to podcast episode content

संयुक्त राष्ट्रसङ्घका अनुसार नोभेम्बर १५ तारिखबाट विश्व जनसङ्ख्या ८ अर्ब पुगेको छ।


नोभेम्बर १५ तारिखबाट विश्व जनसङ्ख्या ८ अर्ब पुगेको संयुक्त राष्ट्रसङ्घले बताएको छ।

तर विश्वमा सबैभन्दा बढी जनसङ्ख्या भएको मुलुक चीन भने खुम्चदै गइरहेको विज्ञहरुको भनाई छ।।

केही वर्षमा चीनलाई उछिनेर विश्वमा सबैभन्दा बढी जनसङ्ख्या भएको मुलुकमा भारत अगाडी आउने बताइँदै गर्दा, चीनमा जनसङ्ख्या खुम्चनुको प्रमुख कारण के हो त?

किन घट्दैछ चीनको जनसङ्ख्या?

चीनमा सफ्टवेयर विकासको क्षेत्रमा काम गर्ने ट्याङ्ग ह्वाजान आफ्ना दुई बर्सिया सन्तानसँग समय बिताउन मन पराउँछन् तर अर्को सन्तान बनाउने बारेमा भने त्यति इच्छुक नरहेको उनले बताए।

“एक त धेरैका बुवा आमा कि त टाढा छन् या त बुढा बुढी भइसके, बच्चा पाएपछि हुर्काउनका लागि हेरचाह कर्ता खोज्नु पर्छ र त्यो निकै महँगो छ, अर्को कुरा हामी ढिला विहा गर्छौ जसका कारण गर्भ बस्न पनि मुस्किल हुन्छ,” उनले भने।

नोभेम्बर १५ देखि विश्व जनसङ्ख्या ८ अर्ब पुगेको संयुक्त राष्ट्रसङ्घले बताउँदै गर्दा, ट्याङ्ग जस्तै थुप्रै अभिभावकहरूको निर्णयका कारण चीनको जनसङ्ख्या कतातिर गइरहेको छ भनेर हामी अनुमान लगाउन सक्छौ।

उनका अनुसार उनका थुप्रै साथीहरूले दोस्रो बच्चा जन्माउनका लागि इच्छा देखाएका छैनन्।

“युवाहरू त विवाह गर्ने कुरामै निश्चित छैनन्, बालबच्चा पाउने त अलग कुरा,” उनले भने।

बाल हेरचाह केन्द्रहरू निकै मंहगो पर्ने र सन्तानको रेखदेखका लागि आफ्ना आफन्तहरू पनि टाढा रहने भएकाले पनि चीनमा धेरैका लागि बच्चा पाउन इच्छा नदेखाउने कारण बनेको छ।

चीनले सन् १९८० देखि २०१५ सम्म एक सन्तान नीति अपनाएको थियो।

ट्याङ्ग र उनकी पत्नी एङ्ग रान पनि उनका आमाबाबुका एक्ला सन्तान हुन्।

एङ्ग रान दोस्रो बच्चा पाउने बारेमा त्यति धेरै नसोचेको बताउँछिन्।

“हामीले दोस्रो बच्चा पाउँदा आफ्नो परिवारका लागि ठिक हुन्छ वा हुँदैन भनेर मात्र सोच्यौ, मलाई लाग्दैन की देशको जनसङ्ख्या कम हुदैछ भनेर मैले दोस्रो बच्चा पाउनु पर्छ,” रानले भनिन्।

World population
World population day 2018 Source: SBS / SBS Tamil

यता हजुरबुवा ट्याङ्ग ट्यानपिन भने आफ्नो पालाको कुरा सम्झँदै, त्यति बेला सरकारी नीतिमै एक सन्तान रहेकाले आफूहरूले दोस्रो बच्चाका बारेमा नसोचेको बताउँछन्।

ट्यानपिन र उनकी श्रीमती लियाङ्ग जिमीनले आफ्ना छोराछोरी काममा व्यस्त हुँदा आफ्नो नातिको ख्याल राख्ने काम गर्छन्।

“हामी सरकार र पार्टीको नीतिलाई मान्छौ, त्यति बेला हामी दुई जना नै जागिरे थियौ, त्यसैले हामीले सरकारको कुरालाई सहजै स्विकायौ तर अहिले परिवर्तन आएको छ, त्यसैले सबैले सन्तानका बारेमा योजना र व्यवस्था मिलाउनु पर्छ,” लियाङ्गले भनिन्।

संयुक्त राष्ट्र सङ्घको अनुमानका अनुसार चीनको जनसङ्ख्या आगामी वर्षदेखि खुम्चँदै जानेछ, जसका कारण भारत विश्वको धेरै जनसङ्ख्या भएको मुलुकमा पर्न जानेछ।

सन् २०२१ मा चीनको प्रजनन दर १.१६ रहेकोमा, विश्व जनसङ्ख्यालाई स्थायी बनाउन चाहीने २.१ को दर भन्दा यो निकै कम रहेको आर्थिक सहजीकरण र विकास सम्बन्धी संस्थाले जनाएको छ।

पछिल्लो समय विश्वले भोगेको कोरोनाभाइरस महामारीको पिडा र चीन सरकारले जारी गरेका बलिया प्रतिबन्धहरूका कारण पनि मानिसहरूमा सन्तान प्राप्तिको इच्छालाई कम गरेको हङ्गकङ्गमा रहेको विश्वविद्यालयका जनसङ्ख्या विषयका प्राध्यापक सेन जिन्फा बताउँछन्।

“चीनको जनसङ्ख्या अहिले निकै ठुलो मोडमा छ, जनसङ्ख्या स्थिर छ भने बृद्धीदर रोकिएको छ, बृद्धहरुको सङ्ख्या निकै चाडै बढ्ने देखिएको छ,” उनले भने।

यस वर्ष चीनमा नयाँ बालबालिका जन्मने दर पनि हालसम्मकै न्यून हुने अनुमान गरिएको छ।

गत वर्ष १ करोड ६ लाख जन्मदर्ता भएकोमा यस पटक यो एक करोड भन्दा कम रहने अनुमान छ।

यसै गरी ६५ वर्ष माथिको मानिसले देशको कुल जनसङ्ख्याको १३ प्रतिशत प्रतिनिधित्व गरिरहेका छन्, जुन आउने दिनमा तीव्र रूपमा बढ्ने देखिएको छ।

चीनले जोडीहरूलाई बच्चा पाउन प्रोत्साहन गर्नका लागि कर छुट, भत्ता, सुत्केरी बिदा, स्वास्थ्य बिमा र सस्तो वासस्थानका विकल्पहरू प्रदान गरेको भए पनि विज्ञहरू भने मंहगो शिक्षा, कम आम्दानी, कामको तनाव, कोभिड–१९ र मुलुकको आर्थिक स्थितिका कारण सरकारी उपायहरूले काम नगरेको बताउँछन्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now