नेपालमा रहेका अस्ट्रेलियाका नागरिकहरूले नोभेम्बरपछि मात्र आफ्नो मुलुक फर्कने हवाई उडान रहेको हुनाले सरकारी निर्णयका कारण तनाव भएको बताएका छन्।
भारत र इस्तानबुल भएर घर फर्कने हो भने उनीहरूले टिकट त पाउँछन्, तर फेरि ती देशहरू प्रवेश गर्दा खोप लगाएको प्रमाणपत्र अनिवार्य देखाउन पर्नसक्ने सम्भावनाले उनीहरूलाई चिन्तित बनाएको हो।
नेपाल सरकारको अध्यागमन विभागका प्रवक्ता झङ्कनाथ ढकालले उनीहरूको भिसा अवधि सकिएपछि के हुन्छ त भनेर प्रश्न गर्दा भने, “सरकारले यसमा निर्णय लिएर थप अवधि बढाएको छ भने वहाँहरूले त्यही अनुसार गर्नुपर्ने हुन्छ।”
“नभए वहाँहरूले आफ्नो टिकट लिएर आउनुभएको खण्डमा अध्यागमन कानुन अनुसारको प्रक्रियाहरू पुरा गरेर वहाँहरूलाई पठाउँछौँ, जसमा जरिमाना पनि लागू हुन सक्छ।”
नेपालबाट अस्ट्रेलिया जाने हवाई टिकट अहिले प्रति व्यक्ती कम्तीमा पनि १०,००० अमेरिकी डलर रहेको छ।
अस्ट्रेलिया आइपुगे पुगेपछि थप ३,००० अस्ट्रेलियन डलर तिरेर होटेलमा क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ।

नेपालमा रहेको अस्ट्रेलियाली दूतावासले उनीहरूलाई आफ्नो देश फर्कनु परेमा ऋणको पनि सुविधा दिने भएको छ, तर त्यो चुक्ता नभएसम्म उनीहरूको पासपोर्ट सरकारसँगै रहने बताएको छ।
यसरी यात्रा तय गर्नका लागि ती अस्ट्रेलियालीहरूले कम्तीमा पनि १४,००० डलर ऋण लिनुपर्ने हुनसक्छ।
साथै उक्त ऋण ६ महिनाभित्र चुक्ता गरिसक्नुपर्ने बताइएको उनीहरूको भनाई छ।
ढकाल र अडामेकको भनाई सहितको रिपोर्ट सुन्नुहोस्: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
यता, नेपालमा रहेका केही अस्ट्रेलियन नागरिकहरू भने आफ्नो देशमा महामारी र लकडाउनको समस्या समाधान नभएसम्म त्यहाँ फर्कन चाहँदैनन्।
यसै विषयमा नेपाल भ्रमण गरिसकेका र करिब ८,००० सदस्य रहेको नेपाली र विदेशीहरूलाई समेट्ने ‘पोखरा नोटिसबोर्ड’ नामको फेसबुक ग्रुप पनि सञ्चालन गर्ने अस्ट्रेलियाका ब्रेट अडामेकले एसबीएस नेपालीसँग कुरा गर्दै भने, “नेपालको सरकारले यदि त्यहाँ रहेका अस्ट्रेलियनहरूलाई अन्तर्राष्ट्रिय हवाई उडानको शुल्क कम नहुँदासम्म भिसाको सामान्य शुल्क मात्र लिएर सहुलियत दिन सक्ने हो भने एकदमै ठुलो सहयोग पुग्ने थियो।”

आफूलाई नेपालमै बस्न इच्छा रहेको कारण उनीहरूले स्थानीय सरकारलाई अन्य विदेशीसँग मिलेर केही समय अगाडी ज्ञापन पत्र समेत बुझाएका थिए।
गत वर्षको तथ्याङ्क अनुसार यसरी नेपालमा रहने अस्ट्रेलियनहरूको सङ्ख्या करिब १०० जना जति थियो।
अहिले नेपालमा बस्ने पर्यटकलाई आफू बसेको कति दिन भएको छ, त्यसको आधारमा दैनिक३ देखि ८ डलरसम्म भिसा शुल्क बुझाउनुपर्ने हुन्छ।
कोरोना महामारीअघि नेपालमा आउने विदेशी पर्यटकले बढीमा १५० दिनसम्म बस्न पाउँथे र त्यसपछि उनीहरूले थप बसेको पाइएमा जरिमाना तिर्नुपर्ने हुन्थ्यो या सोही अनुसारको शुल्क लाग्ने गर्थ्यो।
तर, त्यस अवधिभित्र नेपाल छाडेर पनि जानुपर्ने हुन्थ्यो।

अहिले कोरोना महामारीको कारण भने सरकारले यो अवधिलाई बढाएर २१० दिनसम्म पुर्याएको छ।
यसो गरेता पनि लकडाउनको कारण कतिपय अस्ट्रेलियन तथा अन्य मुलुकका व्यक्तिहरू बाध्यतावश गैर कानुनी रूपले नेपालमै बस्नुपर्यो।
त्यसपछि नेपाल सरकारले केही महिनायता उनीहरूको भिसा अवधि बारम्बार थप्दै आइरहेको छ।








