मुख्य बुँदाहरू:
- बोटानिक गार्डेन बाहेक अधिकांश सिटी पार्कहरूको व्यवस्थापन गर्ने जिम्मेवारी सिटी काउन्सिलको हुने गर्छ।
- पार्कमा व्यावसायिक गतिविधि गर्दा वा मार्केट राख्दा पूर्व स्वीकृति लिनु पर्छ कतिपयमा त शुल्क पनि तिर्नुपर्ने हुन्छ ।
- पार्कमा रहेका अन्य मानिस र समुदायका आवश्यकताहरूको बारेमा ध्यान दिनु सामान्य रूपमा शिष्ट र सम्मानजनक व्यवहार गर्नुपर्दछ ।
तपाईँलाई थाहा छ, अस्ट्रेलियाका सहरी क्षेत्रमा करिब ५०,००० पार्कहरू छन्।
सिड्नीमा मात्रै ४०० भन्दा बढी पार्क छन्, जसमा स–साना स्थानीय पार्कदेखि, सम्पदाको सुचीमा परेका 'हेरिटेज गार्डेन' र 'रिजर्भ पार्क'हरू पर्छन्।
सिटी अफ सिड्नी काउन्सिलमा ग्रिनिङ एन्ड लिजर म्यानेजर रहेका जोयल जोन्सनका अनुसार सामान्यतया यस्ता सार्वजनिक हरियालीयुक्त स्थानको व्यवस्थापन गर्ने जिम्मेवारी सिटी काउन्सिलको हुने गर्छ।
कुनै-कुनै अवस्थामा भने राज्य सरकार, ट्रस्ट र अन्य निकायहरू मिलेर पनि यस्ता स्थानको व्यवस्थापन गर्छन्।
जोन्सन, पार्कहरूका नियम फरक पर्न सक्ने भएकाले आफू जान लागेको क्षेत्रमा रहेका नियमहरूका बारेमा जान्नु पर्ने बताउँछन्।
“स्थानीय काउन्सिल र लोकल गभर्मेन्ट एरिया (एलजीए) पिच्छे नियमहरू फरक हुन सक्छन्,” उनले भने।
”सामान्यतया नियमहरू एकै खालका हुने भए पनि, आफू पुगेको स्थानमा रहेका सुविधा र त्यहाँको परिस्थितिले नियमहरू फरक पार्न सक्छ, त्यसैले पनि स्थानीय काउन्सिलबाट नियमका बारेमा बुझ्नु निकै महत्त्वपूर्ण हुन्छ,” जोन्सन भन्छन्।

सहरी क्षेत्रका पार्कहरूमा सर्वसाधारणको सुरक्षा सँगसँगै, त्यसलाई प्रयोग गर्ने मानिसहरू बिचको सद्भाव कायम गर्न पनि विशेष ध्यान दिइन्छ।
कुनै विशेष निर्देशन बाहेक, भित्री सहरका पार्कहरूमा एउटै किसिमका नियमहरू लागू हुन्छन्।
जोन्सनका अनुसार, कुनै विशेष कारणले सहरी क्षेत्रका पार्कमा क्याम्पिङ गर्न वा अन्य कुनै खाले गतिविधिमा रोक भने लगाउन सकिन्छ।
“हाम्रा पार्क मानिसहरूले ‘ब्याक यार्ड‘ जस्तै प्रयोग गर्न सक्छन्। त्यसैले हामीले उपलब्ध गराएको यस्ता स्थानको सामूहिक प्रयोग सम्मानजनक ढङ्गले गर्न प्रोत्साहित गर्ने सन्देशहरू राखेका छौँ,” जोन्सनले भने।
“हाम्रा पार्कहरूमा क्याम्पिङ गर्न र गाडी पार्क गर्न चाहिँ पाइँदैन, यस्तै रक्सी पिउन पाउने वा नपाउने भन्ने पनि क्षेत्र अनुसार फरक फरक नियम छ, त्यसैले पनि नियमका बारेमा राखिएका जानकारी वा सङ्केतहरू हेर्न जरुरी हुन्छ।”

मि डोबिन्सन 'माम्मा नोज मेलबर्न' नाम गरेको एक वेबसाइटकी सह–निर्देशक हुन्।
उनको वेबसाइटले केटाकेटी र परिवारलाई बाहिरी गतिविधिका लागि कुन स्थान उपयुक्त हुन्छ भन्ने बारेमा सुझावहरू दिने गर्छ।
धेरै पार्कहरूले केटाकेटीका लागि खेल्न वा पारिवारिक गतिविधि गर्न रोक नलगाउने उनी बताउँछिन्।
उनका अनुसार ठुला पार्कहरूमा भने खेल गतिविधि गर्नका लागि नियमहरू फरक हुन सक्छन्।
“जस्तो कि बोटानिकल गार्डेनहरूमा बच्चाहरूले बल खेल्न वा सामूहिक गतिविधि गर्न रोक लगाइन् सक्छ।” डोबिन्सन भन्छिन्।
धेरै कुराहरू भने सही व्यवहार वा 'कमन सेन्स'मा निर्भर गर्ने डोबिन्सनको बुझाई छ।
जस्तो कि फोहर सही ठाउँमा फ्याँक्ने, साना बच्चाहरू खेल्ने ठाउँमा ठुला बच्चाहरू खेल्न नदिने इत्यादि।
यसै गरी स्थानीय पार्कहरूमा बच्चाको बर्थडे पार्टी वा अन्य यस्तै किसिमका गतिविधि गर्दा अन्य मानिसका बारेमा पनि सोच्नु पर्ने डोबिन्सनको भनाइ छ।
“मलाई लाग्छ कि हल्ला गर्दा वा ठुलो स्वरमा गीत बजाउँदा, अलि विचार गर्नुपर्छ....केटाकेटीलाई धेरै दौडन नदिने वा पार्टी गरिसकेपछि सबै सामान उठाएर घर लिएर जाने, मेरो विचारमा यस्तै कुराहरू हुन्।”
के मैले पार्कमा कुनै कार्यक्रम लागि अनुमति लिन आवश्यक छ?
सामान्यतया मानिसहरू भेला भएर बार्बिक्यू गर्दा जो पहिले आयो उसैले यस्ता सुविधाहरू प्रयोग गर्न पाउँछ।
तर पार्टी, विवाह वा नयाँ वर्ष सम्बन्धी कार्यक्रम जस्ता ठुला भेलाहरूमा भने पहिल्यै बुकिङ गर्दा सजिलो हुन्छ।
सिटी अफ सिड्नीका जोन्सन कस्तो अवस्थामा बुकिङ लिनु पर्छ भन्ने बारेमा यस्तो बताउँछन्।
कुनै-कुनै स्थानहरू विवाहका लागि निकै प्रख्यात हुन्छन् जस्तै अब्जर्भेटरि हिल पार्क, त्यहाँ विवाह कार्यक्रम गर्दा बुकिङ गर्नु पर्छ। यसै गरी पार्कमा ठुलो प्रभाव पार्ने खालका कर्न्सट, व्यावसायिक गतिविधि गर्दा वा मार्केट राख्दा, पूर्व स्वीकृति लिनु पर्छ। यसका बारेमा हाम्रो भेन्यु म्यानेज्मेन्ट टोलीले, स्वीकृति दिने वा नदिने विषयमा निर्णय गर्छ वा कुनै सर्तहरूमा स्थान उपलब्ध गराउँछ।जोयल जोन्सन
यस बाहेक बार्बिक्यू गर्दा पनि स्थानीय काउन्सिलको वेबसाइटमा नियमहरू हेर्नु पर्छ, त्यहाँको ‘फायर डेन्जर रेटिङ’का बारेमा पनि जानकारी राख्नुपर्छ।
यसै गरि व्यावसायिक रूपमा व्यायाम वा तालिम सञ्चालन गर्दा पनि काउन्सिलसँग अनुमति लिनु पर्छ भने कतिपय अवस्थामा शुल्क पनि तिर्नु पर्ने हुन्छ।
फिटनेस इन्ह्यान्स्मेन्ट नामक अस्ट्रेलियाका तीन राज्यमा व्यायाम सिकाउने संस्थाका सिइओ स्कट हन्ट ब्रिस्बेन सहरका पार्कहरूमा व्यायाम गराउने नियम कस्ता छन् भन्ने बारेमा यस्तो बताउँछन्।
“यदि एक पटकमा १० जना भन्दा कमलाई सिकाउने हो भने अनुमति लिनु पर्छ तर कुनै शुल्क तिर्नु पर्दैन, तर १० जना भन्दा बढीलाई सिकाउँदा भने अनुमति लिनु पर्छ र वर्षको १,२०० डलर तिर्नु पर्छ,” हन्टले भने।
व्यावसायिक गतिविधि नियमित गर्न ल्याइएका यस्ता नियमहरूले जनस्वास्थ्य र सुरक्षालाई कायम राख्न मद्दत गर्ने उनको भनाइ छ।
“पर्मिट चाहिन्छ भन्नुको कारण चाहिँ, ट्रेनरहरु तालिम दिन योग्य छन् कि छैनन् वा त्यहाँ कसले के गरिरहेको छ भनेर जान्नका लागि पनि हो,“ हन्ट भन्छन्। तर समूहमा भेला भएर व्यायाम गर्दा भने यी नियमहरू लागु हुँदैनन्।
हन्टका अनुसार व्यक्तिगत वा व्यावसायिक रूपमा पार्कका नियमहरू स्पष्ट छन्। नियमहरू नबुझ्दा वा के गर्ने भनेर थाहा नपाउँदाको अवस्थामा विनम्र व्यवहार सबैभन्दा उत्तम विकल्प हुने हन्ट बताउँछन्।
कसैले गुनासो गरे मात्र काउन्सिलले कारबाही गर्ने हो, तपाईँले अरू कसैलाई असर पुर्याउनु भएको छैन भने तपाईँलाई कुनै समस्या पर्दैन।स्कट हन्ट
“विचार गर्नुस्, सामान्य रूपमा शिष्ट र सम्मानजनक हुनुस्, यो पार्क तपाईँ एक्लैको होइन, यो सामुदायिक पार्क हो र यसको वातावरण नबिगार्न तपाइको पनि भूमिका छ।”
तपाईँको स्थानीय पार्कमा बार्बिक्यू क्षेत्र प्रयोग गर्दै हुनुहुन्छ?
पार्कको नियमहरू सामान्य ज्ञान र शिष्टाचार को सिद्धान्तहरू द्वारा निर्देशित हुन्छ । स्वतः आफैँले बुझेर पालना गर्नुपर्ने नियमहरू निम्नानुसार छन्:
- सुरक्षालाई प्राथमिकता दिनुहोस्: यदि तपाईँ आफ्नो 'पोर्टेबल बार्बिक्यू' ल्याउने योजना बनाउनुहुन्छ भने, तपाईँको क्षेत्रमा यो अनुमति छ कि छैन भनेर पहिले निश्चित गर्नु महत्त्वपूर्ण हुन्छ।
- सरसफाइ कायम राख्नुहोस्: काउन्सिलहरूले 'बार्बिक्यू प्लेट'हरूको नियमित सफाइ गर्छ । त्यस्तै तपाईँले पनि अर्को प्रयोगकर्तालाई विचार गर्दै आफू जाने बेलामा आफूले प्रयोग गरेको समयमा भन्दा झन् सफा बनाएर छोड्नु उत्कृष्ट आचरणमा पर्छ।
- साझेदारी नै हेरचाह हो: "पहिले आउनेलाई, पहिले सेवा" सिद्धान्त सामान्यतया सार्वजनिक स्थानहरूमा लागू हुन्छ, तर सबैका लागि पर्याप्त रूपमा उपलब्ध होस् भन्ने सुनिश्चित गर्न धेरैजसो पार्कहरूले छाया पर्ने स्थानहरू वा 'हटप्लेट'हरू धेरै नै बनाएका हुन्छन्।
तपाईँको राज्य वा क्षेत्रमा आगोको खतरा चेतावनी र प्रतिबन्धहरू बारे मौसम विज्ञान ब्युरो (बीओएम)का तल दिइएका लिङ्कहरू हेर्नुहोस्:
New South Wales Fire Danger Ratings
Queensland Fire Danger Ratings
Western Australia Fire Danger Ratings
South Australia Fire Danger Ratings







