संयुक्त राष्ट्र सङ्घको एक प्रतिवेदनले नेपालको कोरोना माहामारी फैलने दर संसारकै सबैभन्दा बढी रहेको उल्लेख गरेको छ। काठमान्डूबाट सम्वाददाता सेवा भट्टराईको रिपोर्ट।
पीसीआर टेस्टमा पनि यस साता नेपालमा परीक्षण गरेमध्ये लगभग आधा जति नै कोरोना पोजेटिभ भएको पाइएको छ।
नेपालमा कोभिड-१९ को कुल सङ्क्रमण ४ लाख ८० हजार भन्दा बढी पुगेको छ भने दिनहुँ आठ हजारभन्दा बढी मानिस यसबाट सङ्क्रमित भइरहेका छन् भने मृतकको सङ्ख्या दैनिक औसतमा २०० जना रहेको छ।
विश्व स्वास्थ्य सङ्गठनले समेत नेपाललाई पछिल्लो समयमा कोभिड-१९ विरुद्ध अल्पकालिन सहयोग चाहिएको बताएको छ।
देशभरका विभिन्न ठाउँमा गरिएको एक अध्ययनले भारतमा देखिएको कोरोना भाइरसको जोखिमपूर्ण ट्रिपल म्युट्यान्ट भेरिएन्ट पनि भेटिएको पुष्टि भएको छ।भाईरोलोजिस्ट वासुदेव पाण्डे भन्छन्, “यो भाइरसको ईन्फेक्टिभिटी अर्थात् सार्न सक्ने क्षमता; फेटल ईफेक्ट अर्थात् घातक असर र प्याथोजेनेसिटी पनि बढी भएको हुनाले, यसले मृत्यु दर बढाएको छ।”
खुला सिमाना भएको तर होल्डिङ सेन्टरको उचित सुविधा नभएकोले पनि यो नयाँ भ्यारिएन्ट सजिलै नेपालमा भारतबाट फैलिएको देखिन्छ।
भारतबाट नेपाल भित्रने मानिसका लागि होल्डिङ सेन्टर निर्माणका लागि जग्गा व्यवस्थापन गरिएता पनि बजेटको सुनिश्चितता नभएर नेपाली सेनाले निर्माण कार्य अझै सुरु गर्न सकेको छैन।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वीर अस्पताललाई कोभिड-१९ मा समर्पित अस्पताल बनाउने निर्णय गर्यो तर रेगुलेटर, अक्सिजन र भेन्टीलेटरको अभावले दिनहुँ बिरामीहरु उपचार बिना घर फर्कन बाध्य भईरहेका छन्।
देशका विभिन्न ठाउँमा घरैपिच्छे ज्वरो फैलिरहेको छ तर संक्रमितहरुले रुघा-खोकीको औषधीमात्र सेवन गर्ने, पिसिआर टेस्ट नगर्ने र आईसोलेसन केन्द्रमा जान नमान्ने हुनाले अवस्था निकै जोखिमपूर्ण रहेको छ भने स्वास्थ्यकर्मी आफू बिरामी भएर पनि संक्रमितहरुलाई मद्दत गर्न बाध्य छन्।
चरम अभावका बिच यस सोमबार नेपाली व्यापारीले १८ हजार अक्सिजन सिलिन्डर र स्वास्थ्य सामग्री तातोपानी नाका हुँदै चीनबाट नेपालमा भित्राएका छन्।

यसै गरी खाडी मुलुकमा रहेका नेपाली श्रमिकले आफ्नो कमाईको केही रकम छुट्याएर आफ्नो देशमा ५६० थान अक्सिजन सिलिण्डर पठाएका छन्। तर पनि नेपालना यसको अभाव कायम नै छ।
सरकारले चीन, रुस लगायत अन्य देशबाट खोप किन्ने प्रक्रिया अगाडी बढाएको छ।
नेपालमा अहिलेसम्म जम्मा २१ लाख भन्दा बढी मानिसले पहिलो र ४ लाख भन्दा बढी मानिसले दोस्रो चरणको कोभिड-१९ विरुद्धको खोप लगाइसकेका छन्, जुन नेपालको जनसङ्ख्याको १० प्रतिशत भन्दा पनि कम हो।
यसै गरी कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) को सल्लाह अनुरूप नेपाल सरकारले कोरोना भाइरसको दोस्रो लहरको नियन्त्रण गर्न उचित अध्यादेश ल्याउन तयारी सुरु गरेको छ।





