मुख्य बुँदाहरू
- सांस्कृतिक रूपमा आगो लगाउने, एक आदिवासी अभ्यास, आज बढ्दो रूपमा जङ्गली आगो न्यूनीकरण र देशको स्वास्थ्यलाई प्रवर्द्धन गर्न "परीक्षण" गरिएको विधिको रूपमा देखिन थालेको छ।
- मौलिक नामहरूले आदिवासी समुदायहरूलाई उनीहरूले बुझेको तरिकाले परम्परागत योजनाबद्ध आगो लगाउने अभ्यासलाई पुनर्जीवित गर्ने अनुमति दिन्छ, र प्रमाणहरूले यो प्रभावकारी भएको पनि देखाएको छ।
- परम्परागत आगो लगाउने कार्यले विनाशकारी डढेलोको जोखिम न्यूनीकरण र थप फाइदाहरू समावेश हुन्छन्।
अस्ट्रेलिया जस्तो डढेलोको उच्च सम्भावना रहने वातावरणमा रहेका हामी मध्ये धेरैलाई आगोलाई खतरा बाहेक अन्य रूपमा देख्न गाह्रो हुन्छ।
यद्यपि, हजारौँ वर्षदेखि आगोले अस्ट्रेलिया महादेशलाई आकार दिनुमा साथै यहाँका अधिकांश पर्यावरणमा रहेका बोटबिरुवा र जनावरहरू लगायतको जनसंख्या सन्तुलनमा महत्त्वपूर्ण भूमिका खेलेको छ।
जानाजानी आगो लगाउने संस्कृति वा कल्चरल बर्निङ भूमि व्यवस्थापनको एउटा विधि हो जुन अस्ट्रेलियाका आदिवासीहरूले हजारौँ वर्षदेखि प्रयोग गर्दै आएका छन्।
प्रमाणहरूले पनि के देखाउँछ भने यसले पारिस्थितिक प्रणालीको संरक्षण, र जङ्गली आगलागी रोकथाममा महत्त्वपूर्ण भूमिका खेलेको छ।
यो अभ्यासमा धेरै तहहरू हुने भए पनि मुख्य रूपमा भने समयसँगै जमिनमा बढेको घाँस र सञ्चित इन्धन हटाउन योजनाबद्ध आगो लगाउने काम पर्छ।
औपनिवेशिकता पछिका धेरै पुस्ता जमिन विहीन हुनु र आदिवासीहरूले आफ्नो पहिचान नै गुमाउने अवस्था आएका कारणले ठुलो मात्रामा आगो लगाउने यो चलन अवरुद्ध भएको थियो।

हाल अस्ट्रेलियामा यस परम्पराको मुख्य अभिभारा लिनेहरूमध्ये वुनाम्बल गाम्बेरा एबोरिजिनल कर्पोरेसनकी अध्यक्ष क्याथरिन गून्याक पनि हुन्।
आफ्नो बुबाले पनि यसरी आगो लगाउनु पर्ने बताउने गरेको सम्झिँदै उनी भन्छिन्, “देशलाई स्वस्थ राख्नको लागि जलाउनु महत्त्वपूर्ण छ भनेर बुढापाकालाई थाहा छ।"
खोजकर्ताहरूले ब्रिटिस उपनिवेश बनेपछि अस्ट्रेलियामा विनाशकारी जङ्गली डढेलोको जोखिम पनि बढेको पाएका छन्।
औपनिवेशिक शासन अन्तर्गत सांस्कृतिक रूपमा आगो लगाउन नदिनु यसको पछाडिको एक कारक भए पनि यसमा जलवायु परिवर्तनको प्रभाव पनि मिसिनुले थप जोखिम बढाएको हो।
तर सही समयको मूल्याङ्कन गर्ने र सही तरिकाले आगो लगाउने ज्ञान र सीपहरू परम्परागत मालिकहरूको पुस्ताहरूबाट हस्तान्तरण हुँदै आजसम्म बाँचेका छन्।
हालैका वर्षहरूमा, शिक्षाविद्हरू र अग्नि व्यवस्थापनको क्षेत्रमा काम गर्नेहरूले फर्स्ट नेसन्सका एल्डर र समुदायहरूले बाँडेका परम्परागत आगो लगाउने ज्ञानमा चासो देखाउने क्रम बढेको छ।
वेस्टर्न अस्ट्रेलियाको दुर्गम उत्तरी किम्बर्लीमा परम्परागत आगो लगाउने चलनलाई पुन: अभ्यास गर्न थालिए पछि डढेलोको अवस्थामा कसरी सुधार भयो भनेर दस्तावेजीकरण गर्ने एक अध्ययन भएको छ।
जसको सह लेखिका रहेकी गून्याक पछिल्लो १० वर्षदेखि यसको प्रयोगबाट जङ्गली डढेलो कसरी रोकिन्छ भनेर निगरानी गरिरहेको बताउँछिन्।

यदि यो विधिले काम गर्छ भने किन देशभर यो लागू नगरिएको?
अध्ययनका अनुसार चार परम्परागत मालिकका समूहहरूले सफलतापूर्वक उत्तरी किम्बरलीको गर्मी र आर्द्रता भएका समथर भू-भागमा धेरै हुने गरेका गम्भीर प्रकारका डढेलो न्यूनीकरण गर्न सफल भएका थिए।
गून्याकका सहकर्मी टम भिजिलान्टि किम्बर्लीमा देखिएको सकारात्मक परिवर्तन बारे गरिएको अध्ययनका मुख्य लेखक हुन्।
र उनी सांस्कृतिक आगो लगाउने यो चलन देशभर भिन्न प्रकारको हुने बताउँछन्।
"अस्ट्रेलिया धेरै ठुलो महादेश हो, र हामीसँग धेरै फरक जलवायु क्षेत्रहरू र वनस्पतिका प्रकारहरू छन्। त्यसैले, तपाईँसँग वास्तवमै स्थानीय समाधानहरू हुन आवश्यक छ।"
किम्बर्ली क्षेत्र अस्ट्रेलियाका केही यस्ता ठाउँहरू मध्ये पर्छ जहाँ सांस्कृतिक आगो लगाउने कार्यक्रमहरूसँगै आधुनिक प्रिस्क्राइब्ड बर्निङ एकसाथ सञ्चालन गरिएको छ।
परम्परागत मालिकहरूलाई जग्गाको हक फिर्ता गरेपछि यो सम्भव भएको हो।
"त्यो मौलिक नाम प्राप्त गर्नु महत्त्वपूर्ण रह्यो किनभने त्यसको मतलब मानिसहरूले आफूले चाहेअनुसार जमिन व्यवस्थापन गर्ने अधिकारहरू पाएका थिए," भिजिलान्टि भन्छन्।
ट्रेभर हावर्ड अस्ट्रेलियसियन फायर एन्ड इमर्जेन्सी सर्भिस अथोरिटी काउन्सिल (एएफएसी) मा प्रिस्क्राइब्ड बर्निङका लागि नेसनल म्यानेजर हुन्।
'प्रिस्क्राइब्ड बर्निङ', 'ब्याक-बर्निङ, कन्ट्रोल्ड बर्निङ', वा जोखिम न्यूनीकरण गर्न आगो लगाइने भनेर पनि चिनिने यो अभ्यास एक आगो व्यवस्थापनको आधुनिक विधि हो जहाँ सुरक्षा र वातावरणीय लाभहरू प्राप्त गर्न विशेष परिस्थितिहरूमा जानाजानी आगो लगाउने गरिन्छ।
र उत्तरी किम्बर्लीमा देखिएको सकारात्मक परिवर्तन बारे हावर्ड उक्त ठाउँ विगत २० वर्षमा एकदमै तीव्र, धेरै ठुलो क्षेत्रफल ओगट्ने डढेलो लाग्ने ठाउँबाट निकै व्यवस्थित र साना डढेलो लाग्ने ठाउँका रूपमा रूपान्तरण भएको भनाइ राख्छन्।

प्रिस्क्राइब्ड बर्निङका लागि नेसनल म्यानेजरका रूपमा ट्रेभर हावर्डले अस्ट्रेलियाभरिका डढेलो, विपत्, र भूमि सेवाहरूसँग उत्कृष्ट अभ्यास र आगलागी व्यवस्थापनमा निरन्तर सुधारका लागि सम्पर्क राख्ने गर्छन्।
उनी सांस्कृतिक रूपमा आगो लगाउने चलनलाई फिर्ता ल्याउने काम विकासको चरणमा रहेको बताउँछन्।
र यसबाट प्रत्येक राज्य र क्षेत्रलाई कति फाइदा हुन्छ भन्ने कुरा परम्परागत संरक्षकहरूलाई यो प्रक्रियामा संलग्न गर्ने कुरामा भर पर्ने हवार्डको भनाइ छ।
कसरी आगोले भूमिको स्वास्थ्य बढाउँछ?
ग्यारेथ क्याट, आदिवासी मरुभूमि गठबन्धन वा इन्डिजिनस डेजर्ट अलायन्सका डेजर्ट पार्टनरसिप म्यानेजर हुन्। र उनले सन् २०१२ देखि नदर्न टेरिट्री, वेस्टर्न अस्ट्रेलिया र साउथ अस्ट्रेलियामा फर्स्ट नेसन्स रेन्जरहरूसँग काम गर्दै आएका छन्।
उनले गर्ने काम भनेको परम्परागत सांस्कृतिक आगो लगाउने अभ्यासलाई आधुनिक विधिमा एकीकृत गर्नमा केन्द्रित हुन्छ। क्याटले सांस्कृतिक रूपमा आगो लगाउने यो चलनलाई भौगोलिक अवस्था र आवश्यकतालाई प्राथमिकतामा राखेर प्रयोग गर्न सकियो भने जङ्गली डढेलोको लागि सफल कदम बन्न सक्छ।
उनी भन्छन् कि जङ्गली डढेलो न्यूनीकरण बारे परम्परागत ज्ञानमा पछिल्लो समयमा चासो बढेको छ।

सन् २०२४ मा गरिएको एक अनुसन्धानमा सरकारी एजेन्सीहरूले जानाजानी आगो लगाउँदा र सांस्कृतिक आगो लगाउने अभ्यासहरूले माटोको स्वास्थ्यमा पार्ने प्रभावहरूको तुलना गरिएको थियो।
उक्त अध्ययनका अनुसन्धानकर्ताहरूमध्येका एक प्रोफेसर एन्थोनी डोसेटोले भौगोलिक अवस्थासँग मिलाएर आगो लगाइयो भने यसले बालिलाई पनि बढाउने बताएका छन्।
यो अध्ययन युनिभर्सिटी अफ वलङगङका शिक्षाविद्हरू र अल्लाडल्ला लोकल एबोरिजिनल ल्यान्ड काउन्सिलका सदस्यहरूद्वारा संयुक्त रूपमा गरिएको थियो।
अध्ययनले माटोमा आर्द्रता बढाएर र घनत्व घटाएर दुवै तरिकाले सकारात्मक प्रभाव पारेको पाएको थियो।
तर सांस्कृतिक रूपमा आगो लगाउने चलनमा थप फाइदाहरू पाइएको डोसेटोको भनाइ छ।
उनी यो अनुसन्धान प्रिस्क्राइब्ड बर्निङ विरुद्ध आगो लगाउने परम्परागत चलनलाई राखेर हेर्ने बारेमा नभएको स्पष्ट पार्छन्।
यो त डढेलो न्यूनीकरण र इकोसिस्टमको स्वास्थ्यमा परम्परागत आगो लगाउने चलनले खेल्ने भूमिकामा प्रमाणहरू साझा गर्नमा केन्द्रित रहेको छ।
जसको भूमिका आदिवासी अस्ट्रेलियन समुदायले हजारौँ वर्षदेखि बुझ्दै आएका छन्।
थप पढ्नुहोस्

अस्ट्रेलिया बुझ्नुहोस्: एबोरिजिनल उपचार पद्धति
तपाईंका केही प्रश्न वा विषय वस्तु छनौटलाई लिएर कुनै सोच छन् ? हामीलाई australiaexplained@sbs.com.au
मा इमेल पठाउनु होस्।






