सूर्यको दैनिक चालपछिको त्यो रातको समयमा आकाशमा हेर्दा हामी चन्द्रमाको निरन्तर परिवर्तन हुने चरणहरूमा चम्किरहेका ताराहरूको सुन्दर छटा देख्छौँ।
'एस्ट्रोनोमी' वा खगोल विज्ञान खगोलीय वस्तुहरू र घटनाहरूको अध्ययन हो।
आदिवासी खगोल विज्ञानमा जमिनमा भएका सबै कुरा आकाशमा प्रतिबिम्बित हुन्छ भन्ने बुझाइ हुनाले ताराहरूको गहिरो ज्ञान र तिनीहरूको भूमिसँगको सम्बन्धलाई प्रस्ट्याउँछ।
एबोरिजिनल र टोरेस स्ट्रेट द्विपका मानिसहरूका लागि आकाशले सांस्कृतिक अभ्यासका बारेमा सूचित गर्छ।
यो बुझाइ हजारौँ पुस्तादेखि मौखिक परम्पराहरू जस्तै कथा, गीत, समारोह र कलाको माध्यमबाट एक पुस्ताबाट अर्कोमा हस्तान्तरण गरिएको हुन्छ।

आन्टी जोआन सेल्फ गाडिगल महिला हुन् जसको जन्म सिड्नीमा भयो र मिल्की वे वा आकाश गङ्गाका बारेमा सिक्दै उनी हुर्किएकी हुन्।
यसबारे उनले सिकेका कथाहरू उनलाई उनकी आमा, अन्य एल्डरहरू र यसबारे ज्ञान राख्ने समुदायका सदस्यहरूले सुनाएका थिए।
६०, ०००० वर्ष अगाडी देखि फर्स्ट नेसन्स मानिसले तारा, ग्रह, सूर्य र चन्द्रमालाई हेरेर आफू वरपरको संसार बुझ्ने गरेको उनी बताउँछिन्।
र यसले नै आदिवासी अस्ट्रेलियनहरूलाई मौसम पूर्वानुमान गर्नदेखि, खाना सङ्कलन गर्ने, सिकार गर्ने वा कुनै उत्सव मनाउने बारे निर्णय लिन मदत गर्ने गरेको थियो।
"माथि हेर्ने र आकाशको अध्ययन गर्ने कार्य देशलाई बुझ्ने, अन्तरक्रिया गर्ने र यससँगको सम्बन्ध विकास गर्ने, साथै ब्रह्माण्डमा हाम्रो स्थान बारे जान्नको लागि महत्त्वपूर्ण तरिका थियो र अझै पनि छ।"
आन्टी जोआनले बताएझैँ, आदिवासीहरूमा रहेको तारा ज्ञान फर्स्ट नेसन्सका मानिसहरूका लागि उनीहरू बस्ने संसार र यसमा उनीहरूका भूमिका र जिम्मेवारीहरू बुझ्ने एउटा माध्यम हो।
"हाम्रोमा एउटा भनाइ छ कि जति पनि कुरा माथि हुन्छ तल पनि हुन्छ। त्यसैले त तपाईँले आफ्नो समुदाय, गीतका हरफहरूमा, महत्त्वपूर्ण औपचारिक साइटहरू र अन्य तरिकाले ताराहरूको प्रयोग त्यो बिन्दु पत्ता लगाएको पाउनु हुन्छ।"
डुआएन हामाकार युनिभर्सिटी अफ मेलबर्नको स्कुल अफ फिजिक्समा कल्चरल एस्ट्रोनोमीका असोसिएट प्रोफेसर हुन्। र उनले एबोरिजिनल र टोरेस स्ट्रेट आइल्यान्डर समुदायसँग मिलेर उनीहरूको परम्परागत ज्ञानलाई कागजमा उतार्ने काम गर्छन्।
ताराहरूले पाठ्यपुस्तक, नक्सा, कानूनको किताब, एक सामाजिक नियमहरूको पुस्तकको रूपमा काम गर्न सक्छन्।डुआएन हामाकार, युनिभर्सिटी अफ मेलबर्न
"तिनीहरूले समय र सम्झना राख्ने ठाउँका रूपमा पनि काम गर्न सक्छन् - ताराहरूको उपयोग गरेर तपाईँले आफूसँग रहेका जानकारीलाई सम्झनामा राख्न सक्नुहुन्छ।"
आकाशमा भएका सबै कुराको अर्थ र उद्देश्य हुन्छ। र सूर्य, चन्द्रमा र ताराहरूको चालहरू वातावरणमा हुने परिवर्तनहरू जस्तै कि सिजनहरू, मौसमी ढाँचा, र बोटबिरुवा र जनावरहरूको व्यवहारको भविष्यवाणी गर्न प्रयोग गरिन्छ।
ताराहरूलाई लिएर रहेको आदिवासी ज्ञान बारे बुझ्दै गर्दा आफू वरपरका सम्पूर्ण चिजहरूलाई पनि ध्यान दिनुपर्ने हुन्छ।
"के मौसम परिवर्तन हुँदै छ, के पानी पर्दै छ, जनावरहरूको आनीबानी कस्तो हुन्छ, कहिले खाद्यान्न तथा बगैँचा कहिले रोप्ने र कहिले काट्ने, यी सबै कुराहरू बारे थाहा पाउन चाहनु हुन्छ भने तपाईँले ताराहरू हेर्न सक्षम हुनुपर्छ। तर यसले कसरी काम गरिरहेको छ भनेर बुझ्न तपाईँले आफ्नो वरपरका सबै कुराहरू पनि हेर्न आवश्यक हुन्छ।"
हाम्रो वरपरको संसारलाई हेर्ने यो समग्र तरिका आदिवासी र टोरेस स्ट्रेट आइल्यान्डर संस्कृतिको केन्द्रबिन्दु भएको हामाकारको भनाइ छ।
टोरेस स्ट्रेटका एल्डरहरूका अनुसार ताराहरू कसरी चम्किएका छन् भन्ने कुरा राम्रोसँग हेर्न सकियो भने र यसमा भएका स-साना परिवर्तन ठम्याउन सकियो भने वातावरणका बारेमा त्यसले धेरै कुरा बताउँछ।
हामाकार भन्छन्, "तिनीहरूले तपाईँलाई वायुमण्डलको बारेमा केही बताउनेछन्, तिनीहरूले तपाईँलाई आँधी आउँदै गरेको वा मौसमहरू परिवर्तन हुँदै गरेको बारे बताउन सक्छन्।”
हरेक रात, ताराहरू पूर्वी आकाशमा अघिल्लो रातको तुलनामा चार मिनेट छिटो झुल्किन्छन्।
र एक वर्ष भरिमा पृथ्वीले सुर्यको वरिपरि घुम्दा ताराहरूले पनि एक चक्कर पूरा गर्छन्।
आकासिए परिवर्तनको यो चक्र जमिनमा हुने परिवर्तनसँग मेल खान्छ।
आन्टी जोआन वर्णन गर्छिन् 'इमु इन द स्काई' वा 'डार्क इमु', मिल्की वेका अँध्यारो क्षेत्रहरूद्वारा रेखाङ्कित गरिएको चिरपरिचित नक्षत्र हो।
"आकाशमा रहेको इमुको मलाई मन पर्ने पक्ष भनेको यसले देखाउँछ कि फर्स्ट नेसन्स पीपल्सले अँध्यारा धब्बाहरूलाई पनि ताराहरूलाई प्रयोग गरेको जस्तै गरि प्रयोग गर्छन्।"
"साथै यसले जमिनमा रहेको इमुको व्यवहारलाई प्रतिबिम्बित गर्छ, त्यसैले हामीले जमिनमा इमुले जे गरिरहेको देख्छौँ, त्यो जानकारी आकाशमा पनि समानान्तर हुन्छ।"

उदाहरणको लागि डुआएन हामाकार भन्छन् जब डार्क इमु अप्रिल र मेमा सूर्यास्तपछि दक्षिण-पूर्वी आकाशमा उदाउन थाल्छ यो जमिनमा इमुको प्रजनन हुने समयसँग मिल्छ।
"त्यस्तै जुन र जुलाईमा यो अँध्यारो तारा मण्डल उच्च हुन्छ, त्यो बेला इमुहरू आफ्ना अण्डाहरूमाथि बसिरहेका हुन्छन् - र जब यो वरिपरि घुम्छ र दक्षिण पश्चिम क्षितिजमा सीधा हुन्छ, त्यो यस्तो समय हो जब इमुले चल्लालाई हुर्काउँछन्।"
फर्स्ट नेसन्सका मानिसहरूद्वारा एक पुस्ताबाट अर्को पुस्तालाई सुनाइने पारम्परिक कथाहरूमा खगोलीय इमुलाई उल्लेख गरिएको हुन्छ, जसले महत्त्वपूर्ण वैज्ञानिक जानकारी पनि राखेको हुन्छ।
केही परम्परामा चन्द्रमालाई इमुको सिकार गर्ने व्यक्तिको रूपमा प्रस्तुत गरिने हामाकार बताउँछन्, "...जब चन्द्रमा वरिपरि आउँछ इमु गायब हुन्छ, चन्द्रमाबाट लुक्न किनकि ऊ सिकारी हो, उसबाट जोगिन खोज्छ - यसले पनि चन्द्रमाले सिर्जना गर्ने प्रकाश प्रदूषणको बारेमा कुरा गरिरहेको छ र हामीलाई चन्द्रमा उदाउँदा मिल्की वे देख्न गाह्रो हुने यसले देखाउँछ।"
रातमा आकाशमा देखिने क्षणिक घटनाहरू, जस्तै उल्काको पनि आदिवासी संस्कृतिहरूमा अर्थ छ।

एल्डरहरूले जीवन, मृत्यु र पहिचान बुझ्नको लागि यी घटनाहरू कसरी महत्त्वपूर्ण छन् भनेर सिकाउने डुआएन हामाकार बताउँछन्।
अस्ट्रेलियाका अधिकांश ठाउँमा चम्किला उल्काहरूलाई दुष्ट आत्मा वा मृत्युको रूपमा हेरिन्छ।
"उदाहरणका लागि टोरेस स्ट्रेटमा साँच्चै उज्यालो उल्काहरूलाई माइएर भनिन्छ, तिनीहरूलाई भर्खरै मृत्यु भएका वा मृत्यु हुन लागेका मानिसहरूको आत्माको रूपमा हेरिन्छन्।"
एबोरिजिनल र टोरेस स्ट्रेट द्वीपका मानिसहरू र ताराहरू बिचको सम्बन्धले पहिचान र सम्बन्धको भावनालाई समेटेको छ। प्राकृतिक संसारमा यसले तिनीहरूको अस्तित्वको भावना र संस्कृतिलाई समेट्छ।
फर्स्ट नेसन्सको खगोल विज्ञानमा, ब्रह्माण्डको उत्पत्ति निकै पुरानो भएकोबारे आन्टी जोआन भन्छिन्,
"हामीसँग एउटा अवधारणा छ - र यसलाई 'एभ्रीव्हेन' वा जहिले पनि भनिन्छ, र जसरी मानिसको आत्मा पृथ्वीमा घुमेर पहाड, नदी, आकाश र हामीले आफ्नो वरिपरि देख्ने सबै आकासिए वस्तुहरू बनाएका थिए, यसबाट तपाईँलाई बुझ्न सजिलो हुन्छ कि हामी वास्तवमा हामी बस्ने ब्रह्माण्डको सह-सृष्टिकर्ता हौँ -जसले अवलोकन गर्छन् र जसलाई अवलोकन गरिन्छ ती एकै हुन्।"
यसरी, आदिवासीहरूको तारा ज्ञान भूत, वर्तमान र भविष्यलाई ज्ञानको समग्र प्रणालीमा जोड्ने अभिन्न अङ्ग हो, जुन फर्स्ट नेसन्स संस्कृतिको केन्द्रबिन्दु हो।
थप जानकारीका लागि Australian Indigenous Astronomy वा The First Astronomers मा जानुहोस्।
तपाईंका केही प्रश्न वा विषय वस्तु छनौटलाई लिएर कुनै सोच छन् ? हामीलाई australiaexplained@sbs.com.au मा इमेल पठाउनु होस्।







