फेस मास्क, स्यानिटाइजर र ह्यान्ड वाशहरू सबैको प्यारो बनेको समयमा म्यामोग्राम, प्याप स्मियर र कोलोनोस्कोपहरूको कम चर्चा हुन थालेको छ। यी सबै क्यान्सरका लक्षण पत्ता लगाउने उपकरणहरू हुन्।

देशभर कोभिड-१९ का कारण व्यापक तनाव र वित्तीय अनिश्चितता रहेको समयमा यी उपकरणहरूको प्रयोगमा अझै कमी आउने चिन्ता क्यान्सर काउन्सिलले व्यक्त गरेको छ। मानिसहरूले नियमित रूपमा क्यान्सरको परीक्षण समेत गर्न नपाउँदा यसले ठुलो मात्रामा नकारात्मक प्रभावहरू निम्त्याउने अनुसन्धानकर्ताहरूले बताएका छन्।
क्यान्सरसँगै आउने आर्थिक भारका कारण थुप्रै अस्ट्रेलियालीहरू परीक्षण गर्नबाट पछि हट्ने गरेको क्यान्सर काउन्सिलकी प्रमुख कार्यकारी अधिकृत सान्चिया अरान्डाको भनाइ छ।
क्यान्सर अस्ट्रेलियाले प्रकाशित गरेको एक नयाँ रिपोर्टले गत मार्च र अप्रिलको महिनामा ब्रेस्ट इमेजिंग अर्थात् स्तन क्यान्सरको परीक्षणमा एक तिहाइभन्दा बढीले कमी आएको बताएको छ।
त्यस्तै, पेटमा हुने कोलोरेक्टल क्यान्सरको जाँचको सङ्ख्या मे महिनामा गत मार्चको तुलनामा आधा झरेको छ। आन्द्रामा हुने क्यान्सरको विषयमा भने प्राय: सबै बिरामीहरूको सफलतापूर्वक उपचार गर्न सकिने भए तापनि धेरै जनाले समयमा परीक्षण नगर्नाले ढिलो पत्ता लाग्ने गरेको बोवेल क्यान्सर विज्ञहरू बत्ताउँछन्।
पचास वर्ष भन्दा माथिका मानिसहरूको लागि नि:शुल्क आन्द्राको क्यान्सरको परीक्षण गर्ने सुविधा छ।

छालामा हुने क्यान्सरको सन्दर्भमा भने आफ्नो छालामा असामान्य किसिमको चिलाउने, रगत आउने भएमा या कोठीहरू बढेको देखिएमा आफ्नो नजिकैको स्वास्थ्य चिकित्सक या छाला क्यान्सर विशेषज्ञलाई तुरुन्तै जँचाउन जानु पर्छ।
मेलोनामा इन्स्टिच्युट अनुसार मेलोनामा अर्थात् छालामा देखिने क्यान्सरका कारण हरेक पाँच घण्टामा एक जना अस्ट्रेलियालीको मृत्यु हुन्छ।
कोभिड-१९ का कारण छाला परीक्षणहरूमा ढिलाइ भइरहेको मेलोनामा इन्स्टिच्युट अस्ट्रेलियाका अनुसन्धानकर्ता प्राध्यापक रिचार्ड स्कोल्यरले बताए।
कुनै पनि किसिमको क्यान्सरका लक्षण सक्दो छिटो पत्ता लगाउनु नै सबै भन्दा महत्त्वपूर्ण रहेको बोवेल क्यान्सर अस्ट्रेलियाका प्रमुख कार्यकारी अधिकृत जुलियन विग्गीन्सले बताए।
क्यान्सरका लक्षणको परीक्षण क-कसले गर्न जरुरी छ?
यस विषयमा हामीले सिड्नीकी डाक्टर सिर्जना शर्मासँग कुराकानी गरेका थियौँ।
सिड्नीमा क्यान्सरको लक्षण जँचाउनका लागि आउने मानिसहरूको सङ्ख्या निकै नै कम रहेको र यसका बारेमा नेपाली समुदायमा जागरूकता फैलाउन जरुरी भएको एस बी एस नेपालीसँगको कुराकानीमा उनले भनिन्।

५० वर्ष देखि ७४ वर्षका महिलाहरूले प्रत्येक दुई वर्षमा स्तन क्यान्सरको परीक्षण गर्न आवश्यक हुन्छ। २५ वर्ष भन्दा माथिका महिलाहरूले भने ग्रीवा क्यान्सरका लक्षणको लागि जँचाउनु पर्छ। यदि तपाईँ नियमित रूपमा शारीरिक सम्पर्क राख्ने गर्नु भएको छ भने यो परीक्षण गराउन झनै जरुरी हुन्छ।
त्यस्तै, ४५ वर्ष भन्दा या त्यो भन्दा माथिका महिला र पुरुष दुवैले प्रत्येक दुई वर्षको अवधिमा आन्द्रामा हुने बोवेल क्यान्सरको लक्षण जाँच्न लागि स्टुल परीक्षण गराउँदा उचित हुन्छ। त्यसका लागि सरकारले घरमै आफैले निःशुल्क जाँच गर्न मिल्ने बोवेल टेस्टिंग किटको प्रबन्ध मिलाएको छ।
छालामा हुने क्यान्सरको सन्दर्भमा भने आफ्नो छालामा असामान्य किसिमको चिलाउने, रगत आउने भएमा या कोठीहरू बढेको देखिएमा आफ्नो नजिकैको स्वास्थ्य चिकित्सक या छाला क्यान्सर विशेषज्ञलाई तुरुन्तै जँचाउन जानु पर्छ।
मेलोनामा इन्स्टिच्युट अनुसार मेलोनामा अर्थात् छालामा देखिने क्यान्सरका कारण हरेक पाँच घण्टामा एक जना अस्ट्रेलियालीको मृत्यु हुन्छ।
कोभिड-१९ का कारण छाला परीक्षणहरूमा ढिलाइ भइरहेको मेलोनामा इन्स्टिच्युट अस्ट्रेलियाका अनुसन्धानकर्ता प्राध्यापक रिचार्ड स्कोल्यरले बताए।
क्यान्सर परीक्षण गर्दा के-कत्ति खर्च लाग्छ?
मेडिकेयर भएका मानिसहरूले स्तन क्यान्सरको लक्षण परीक्षणका लागि गरिने स्क्रीनिंगहरू निःशुल्क गर्न पाउने डाक्टर शर्माले बताइन्।
ग्रीवा क्यान्सर पत्ता लगाउन गरिने प्याप स्मियरको खर्च भने आफू गएको क्लिनिकमा भर पर्दछ।
बल्क बिलिङ्ग गर्ने सुविधा भएको स्वास्थ्य सेवाहरूमा लाग्ने परामर्श खर्च मेडिकेयरले बेहोर्छ, तर निजी क्लिनिकमा गएमा भने त्यो आफैले तिर्न पर्न सक्छ। परामर्शको शुल्क बाहेक मुख्य परीक्षणको लागि कुनै पनि खर्च लाग्दैन।

मेडिकेयर नभएका मानिसहरूले भने परामर्श खर्च आफैले तिर्नु पर्छ, र परीक्षण शुल्क भने धेरै जसो निजी स्वास्थ्य बीमाले बेहोर्छ।
यद्यपि, यसका बारेमा जाँच गराउनु अघि स्वास्थ्य चिकित्सक सँग र आफ्नो निजी बीमाकर्तालाई सोध्नु उचित हुन्छ।
सङ्घीय सरकारले क्यान्सर स्क्रीनिंग सेभिङ्ग लाइभ्स क्याम्पेनका लागि २० लाख अस्ट्रेलियाली डलर लगानी गरेको छ।
क्यान्सरका बारेमा केही जिज्ञासाहरू छन् भने तालिम प्राप्त चिकित्सकसँग सम्पर्कका लागि क्यान्सर काउन्सिलको नि:शुल्क टेलिफोन सेवा १३ ११ २० मा फोन गर्न सक्नु हुन्छ। यो सेवा अस्ट्रेलियाभर सबै राज्य र टेरिटोरीहरूमा छ र तपाइको पहिचान गोप्य राखिने छ।








