साउथ अस्ट्रेलियामा रहेको खोप अनुसन्धान तथा निर्माण कम्पनी भ्याक्सिनका वैज्ञानिक तथा अनुसन्धानकर्ताहरूले हाल कोभाक्स-१९ नामक खोप विकास गर्दै नेपाली अधिकारीहरूसँग उक्त खोपको तेस्रो चरणको परीक्षण सुरु गर्न काम गरिरहेका हुन्।
यदि अधिकारीहरूद्वारा अनुमोदित भएको खण्डमा, तेस्रो चरणको परीक्षण सन् २०२० को अन्तसम्ममा सुरु हुन सक्नेछ।
भर्खरै मोरिसन सरकारले अस्ट्रेलियाली कोभिड-१९ खोपको 'अनुसन्धान र विकास' लाई सहयोग पुर्याउने प्रयासको एक हिस्साको रूपमा, सो कम्पनीलाई १० लाख डलर अनुदान स्वरूप दिने घोषणा गरेको छ।
भ्याक्सिन कम्पनीका प्रमुख तथा अनुसन्धान निर्देशक प्रोफेसर निकोलाई पेट्रोभ्स्की कोभ्याक्स-१९ खोप बनाउने टोलीको नेतृत्वकर्ता समेत हुन्।

पेट्रोभ्स्की भन्छन् कोरोना सङ्क्रमण दर उच्च भएका देशहरूमा तेस्रो चरणको अध्ययन गर्नु जरुरी रहेको छ र यसै कारण हाल उनी एसिया, मध्य पूर्व अनि मध्य तथा दक्षिणी अमेरिकाका मुलुकहरूसँग परीक्षणको सम्भाव्यता बारे छलफल गरिरहेका छन्।
"त्यस्ता परीक्षणहरू गर्न धेरै प्रयास र प्रतिबद्धता चाहिन्छ, र नेपालका हाम्रा सहयोगीहरूले हाम्रो कोभाक्स-१९ खोपको बारेमा ठुलो उत्साह देखाएका छन्।"
"हाम्रो सफल परीक्षणको ठुलो अङ्ग नेपाललाई बनाउन उनीहरूले हामीलाई आफ्नो क्षमताको विश्वस्तता देखाएका छन्," फ्लिन्डर्स विश्वविद्यालय स्थित मेडिसिन तथा पब्लिक हेल्थ कलेजमा पनि काम गर्ने प्राध्यापकले नेपाली अधिकारीहरूको बारेमा भने।
नेपालको राष्ट्रिय स्वास्थ्य अनुसन्धान केन्द्रका डा. मेघनाथ धिमालले अस्ट्रेलियाली अनुसन्धानकर्तासँग वार्ता भइरहेको पुष्टि एसबीएस नेपालीसँग गरे।
"हामीले निकोलाई पेट्रोभ्स्कीसँग प्रारम्भिक चरणको वार्तालाप गरेका छौँ, र हामी आशावादी छौँ कि चाँडै नै परीक्षणको क्रममा प्रगति हुनेछ," उनले भने।

हाल विश्वभरका धेरै देशहरू सार्स-सीओभी-२ वा कोरोनाभाइरस विरुद्ध लड्न सक्ने पहिलो सुरक्षित र सफल खोप बनाउने दौडमा लागिरहँदा, नेपालजस्ता देशहरू भने ती खोपका का प्रमुख खोप विकासकर्तासँग वार्तामा छन्।
डा धिमाल स्पष्ट पार्दै भन्छन् कि उनीहरू कोरोनाभाइरस खोपको क्लिनिकल परीक्षणको लागि धेरै देशहरूसँग वार्ता गरिरहेका छन् र अस्ट्रेलिया तिनै मुलुकहरू मध्यको एक हो।
चीन, रसिया र बेलायतको अक्सफोर्ड विश्वविद्यालय सम्भावित खोपका केही अन्य विकासकर्ताहरू हुन् जोसँग नेपाली अधिकारीहरूले हाल छलफल गरिरहेका छन्।
यद्यपि नेपालले कुन विकासकर्तासँग अगाडि बढ्ने भनेर हालसम्म कुनै पुष्टि गरेको छैन।
"हामी उनीहरूबाट विस्तृत प्रस्तावको प्रतीक्षामा छौँ," मेघनाथ धिमालले भने।
यो रिपोर्ट अङ्गेजी संस्करणमा पनि उपलब्ध छ:

An Australian company preparing for human trials of COVID-19 vaccine in Nepal
नैतिक र सुरक्षित?
प्रोफेसर पेट्रोभ्स्की भन्छन् खोपका लागि उनको टोलीले गरेको अनुसन्धान र विकास "नैतिक" र बजारमा चर्चा भएका अन्य उत्पादनहरू भन्दा "फरक" छ।
उनका अनुसार केही ठुला बहुराष्ट्रिय कम्पनीहरू नाफाका लागि मुख्यतया धनी देशहरूबाट ठुलो खोप अर्डर लिनमा केन्द्रित छन्।
यसको विपरीत, डा निकोलाई पेट्रोभ्स्की दाबी गर्छन् कि उनी आफ्नो उत्पादन विश्वको सबैभन्दा वञ्चित देशहरूमा उपलब्ध गराउन इच्छुक छन्।
"विगतमा धेरै मानव खोपहरूको निर्माण प्रोटिनमा आधारित भएर भएको छ र यो सुरक्षित खोप निर्माणको विधिका रूपमा सर्वस्वीकार्य पनि छ," उनले भने।

तर उनले उत्पादन गर्ने खोपको प्रकार भनेको चिनीमा आधारित "एड्भ्याक्स" सहायक प्रविधिसँग जोडिएको "सिंथेटिक स्पाइक प्रोटिन" हो, जसलाई कम्पनीले "सँगै दिइने एन्टिजेन्सको विरुद्ध एन्टिबडी र टी-सेलको प्रतिक्रिया बढाउन" प्रयोग गरिने भनेको छ।
"यसको ठिक विपरीत, अक्सफोर्ड/एस्ट्रा जेनेका, मोडेना र फाइजर/बायोटेक र सबैले अत्यधिक प्रयोगात्मकको किसिमले खोप उत्पादन गर्न खोजिरहेका छन् जुन अप्रमाणित प्रविधिहरू हुन् र मानिसहरूमा त्यसको परीक्षण पहिले कहिल्यै पनि गरिएको थिएन," पेट्रोभ्स्कीले दाबी गरे।
"यसको मतलब उनीहरूको खोपको असफल हुने उच्च जोखिम छ किनकि तिनको प्रभावकारिता, दीर्घकालीन सुरक्षा र स्थायित्व अज्ञात छ।"
राष्ट्रिय स्वास्थ्य अनुसन्धान केन्द्रका भने नेपालले सबै अन्तर्राष्ट्रिय खोजकर्ताहरूको स्वागत गरेता पनि उनीहरू सबैले प्राविधिक तथा नैतिक आवश्यकताहरू र पहिलो एवं दोस्रो चरणका परीक्षणहरू पार गरेकै हुनुपर्ने बताउँछ।
यता, अस्ट्रेलियाली प्राध्यापक पेट्ररोभ्स्की भने आफूहरूले विकास गरेको कोरोनाभाइरस विरुद्धको खोपको तेस्रो चरणको परीक्षण सन् २०२० को अन्त्यसम्ममा सुरु भई सक्ने बारे आसावादी देखिन्छन्।
"अन्ततोगत्वा, प्रयोगको लागि खोप अनुमोदित हुन र हामी बिच केवल तेस्रो चरणको परीक्षण खडा छ र यो हामीले सामना गर्नुपर्ने एउटा महत्त्वपूर्ण अवरोध हो," उनी भन्छन्।

परीक्षण प्रकृया
क्लिनिकल परीक्षण भन्दा अगाडीका चरणहरू पार गरिसकेपछि, खोपहरूको धेरै चरणहरूमा क्लिनिकल परीक्षण गरिन्छ।
पहिलो चरण प्रायोजक स्वयमको देशमा थोरै स्वस्थ स्वयंसेवकहरू माझ सञ्चालन हुन्छ।
दोस्रो चरण व्यापक स्तरमा आयोजित हुन्छ, जसमा पनि स्वयंसेवकहरूको सहयोग लिइन्छ र लगभग १०,००० मानिस सहभागी रहने यो चरणको परीक्षण अन्तर्राष्ट्रिय स्तरमा पनि हुनसक्छ।

यी दुई चरणहरूले नियन्त्रणको स्थिति भित्र रहेर खोपको सुरक्षा र प्रभावकारिताको परीक्षण गर्दछ।
खोपको व्यापक प्रयोग हुनु अघि अनुमोदन आवश्यक हुन्छ जसका लागि तेस्रो चरणको परीक्षणमा ठुलो समूह सहभागी भएको हुनुपर्छ।
पहिलो दुई चरणहरू मार्फत सुरक्षा प्रमाणित भएपछि, तेस्रो चरणको परीक्षणले वास्तविक विश्व परिदृश्यहरूमा यसको प्रभावकारिताको खोजी गर्दछ।
नेपालमा केवल तेस्रो चरणको परीक्षण
"यस्ता परीक्षणका लागि नेपालको मापदण्ड एकदम कडा छ र अन्तर्राष्ट्रिय मापदण्डको बराबरी छ," राष्ट्रिय स्वास्थ्य अनुसन्धान केन्द्रको स्वतन्त्र नैतिक समीक्षा समितिको नेतृत्व गर्ने डा प्रकाश घिमिरेले भने।
नेपालमा परीक्षण गर्न चाहने अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताहरूले यस समितिमा आफ्ना प्रस्ताव पेस गर्नुपर्छ, जसले उनीहरूको प्रस्तावलाई अनुमोदन गर्नु अघि आफ्नो नियमानुसार जाँच गर्ने गर्दछ।
"प्रस्तावकले सबै प्राविधिक र नैतिक आवश्यकताहरू पूरा गर्नुपर्दछ, प्रतिकूल प्रभावहरूको सूची बनाउनुपर्दछ, प्रतिकूल प्रभाव परेको खण्डमा बीमा र चिकित्सा हेरचाहको बारेमा पूर्ण जानकारी दिनुपर्दछ र नेपालका प्रमुख अन्वेषकले सबै कुराको लागि प्राथमिक कानुनी जिम्मेवारी लिनुपर्दछ," उनी भन्छन्।
"परीक्षणका चरण १ र चरण २ दुवैको परिणामका प्रकाशनहरू समावेश गर्नुपर्दछ, र उनीहरूले प्रमाणित गर्नुपर्दछ कि प्रयोग गरिएको कुरा प्रभावकारी, हानी नगर्ने र स्वतन्त्र छ अनि परियोजनाले सहभागीको गोपनीयतालाई समर्थन पनि गर्नुपर्दछ।"
प्राध्यापक पेट्रोभ्स्कीले प्रस्ताव गरेको उक्त ट्रायलमा सहभागीको हुन्छन् भनेर केही पनि खुलाइएको छैन, तर नेपाली कानुन अनुसार सहभागीहरू स्वैच्छिक हुनेछन् र उनीहरूलाई क्षतिपूर्ति पनि दिइने छैन।
साथै, नाम मात्रको यातायात शुल्क बाहेक, नेपालको कानूनले त्यस्ता परीक्षणहरूको लागि क्षतिपूर्ति निषेध गरेको छ भने स्वैच्छिक सहभागिता लिखित र पूर्व सूचित सहमतिका आधारमा हुनेछ।

प्राध्यापक पेट्रोभ्स्की भन्छन् कि यो स्थानीय अधिकारीहरूमा निर्भर रहन्छ कि उनीहरूले सहभागीहरूको लागि के-कस्ता आवश्यक मापदण्डहरू तय गर्छन् र यो ती मानिसहरूले क्लिनिकल परीक्षणका लागि दिएको आवेदनको समीक्षाका बखत कार्यान्वयन हुन्छ।
"यद्यपि हामी परीक्षणलाई यथासम्भव व्यापक र समावेशी बनाउन चाहन्छौँ किनकि कोभाक्स-१९ भ्याक्सिनको ठुलो शक्ति यो हो कि हामीले यसलाई सबै जनमा प्रभावकारी र सुरक्षित हुने गरी डिजाइन गरेका छौँ," उनले एसबीएससँग भने।
उता, राष्ट्रिय स्वास्थ्य अनुसन्धान केन्द्रले भने अनुसन्धानकर्ताहरूले सहभागीलाई साइड इफेक्टको बारेमा पूर्ण जानकारी प्रदान गरिरहेको छ कि छैन भनेर अनुगमन गर्ने बताइएको छ र औपचारिकता पूरा भएपछि कोरोनाभाइरस खोपको परीक्षण सुरु गर्न मिल्ने पनि केन्द्रको भनाई छ।
तर प्रोफेसर पेट्रोभ्स्की र भ्याक्सिन टोलीले पार गर्नुपर्नेमा यस्ता प्रशासनिक व्यवधान मात्र छैनन्।
उनका अनुसार सबैभन्दा महत्त्वपूर्ण समस्या भनेको खोप विकासका लागि रकम जम्मा गर्नु हो।
पेट्रोभ्स्कीले भने, "तेस्रो चरणको ट्रायलका लागि आवश्यक रकमको खोजी गर्नु सबैभन्दा ठुलो अवरोध हो।"
"यसमा लाखौँ डलर खर्च हुन सक्दछ।"

तर पनि प्राध्यापक डाक्टर निकोलाई पेट्रोभ्स्की यो चुनौतीलाई पार गर्नेमा आशावादी देखिन्छन्।
"सबै खोपहरू चरण १ परीक्षण पार गरिसकेका छन् र सुरक्षा विश्लेषणले खोपलाई विकार युक्त नभएको र यसका कारण कुनै गम्भीर प्रतिकूल घटनाहरू नभएको देखाउँदछ," उनी भन्छन्।
"अब अर्को कदम भनेको महत्त्वपूर्ण रहेको तेस्रो चरणको परीक्षणमा प्रवेश गर्नु हो।"
अस्ट्रेलिया कोभ्याक्स समूहमा आबद्ध
जब कोभिड-१९ खोप उपलब्ध हुन्छन्, ग्लोबल कोभ्याक्स सुविधा मार्फत अस्ट्रेलिया तिनको खरिद गर्न अब योग्य भएको छ।
कोभ्याक्सको रूपमा परिचित कोभिड-१९ सुविधा मार्फत अस्ट्रेलियाले विश्वव्यापी खोप निर्माणकर्ताहरुको एक विस्तृत समूहसम्म पहुँच पाएको छ।

अस्ट्रेलियाले सो सुविधा संयन्त्रको हिस्सा हुन शुरुआती रूपमा १२ करोड ३२ लाख डलर प्रतिबद्धता देखाएको छ।
यसको मद्दतबाट कोरोनाभाइरसका खोपहरू उपलब्ध हुने बित्तिकै अस्ट्रेलियाले ती खोप खरिद गर्ने प्रस्ताव पेस गर्न सक्नेछ।





