गाई संरक्षणका नाममा गरिएको हत्यालाई लिएर परिवार न्यायको पर्खाइमा

Relatives of a  sacred cow murder victim want those responsible held to account (SBS).jpg

दुई मुसलमान समुदायका मानिसहरूको गत महिना भारतको हरियाणा राज्यमा हत्या भए पश्चात् हिन्दु अतिवादीहरूद्वारा गाई संरक्षणका लागि निगरानी गर्ने विषय फेरी चर्चामा आएको छ। दुई पुरुषको हत्यामा देशको गाई संरक्षण सम्बन्धी कानुन हिंसात्मक रूपमा लागू गराउन खोज्ने हिन्दु अतिवादीहरूको हात रहेको आरोप लगाइएको छ।


भारतको राजस्थान राज्यमा पर्ने नू जिल्लामा रहेको एक गाउँका बासिन्दाहरू अहिले शोकमा छन् साथै आक्रोशित पनि।

३२ वर्षीय जुनै र २५ वर्षीय नासिरलाई अपहरण गरेर हत्या गरिएका कारण उनीहरू आक्रोशित भएका हुन्।

हिन्दु अतिवादीहरूले कथित अपहरण गरेको भनिएको एक दिन पछि अर्थात् गत फेब्रुअरी १६ मा उनीहरूको अवशेष एक आगो लागेको कारमा भेटिएको थियो।

जुनैद उनको परिवारका एक मात्र कमाइ गर्ने सदस्य थिए।

उनका आफन्त इस्माइल भन्छन् जुनैद बिना के गर्ने भनेर परिवार अन्योलमा रहेको छ।

दुई मुसलमान समुदायका पुरुषहरूले हिन्दुहरूको पवित्र जनावर गाईमाथि दुर्व्यवहार गरेको भन्ने आरोप लगाइएको थियो।

नासिरकी आफन्त शारदा भन्छिन् उनीहरू रहेको सवारीलाई उक्त गिरोहले रोके र क्रूरता पूर्वक पिटियो।

उनका अनुसार मानिसहरूले उनीहरूलाई छिमेकी राज्य हरियाणाको एक स्थानीय प्रहरी चौकीमा लगेका थिए।

तर त्यहाँको प्रहरीले यस घटनामा आफूहरू संलग्न नहुने बताए।

उनीहरूलाई नराम्रोसँग कुटिएको थियो, अलि अलि मात्र सास थियो अनि प्रहरीले उनीहरूलाई फर्काएर लैजान भने किनभने उनीहरू मरे भने प्रहरीलाई त्यसको दोष लाग्थ्यो।
शारदा

घटनाको एक महिना पछि हत्याको आरोपमा एक जना मात्र पक्राउ परे।

शारदा आफ्नो परिवारले न्याय चाहेको बताउँछिन्।

"हामी के चाहन्छौँ भने हाम्रा दाजु भाइलाई जलाएर मार्नेहरूलाई न्यायको कठघरामा ल्याउनु पर्छ। त्यस्ता अपराधीहरूलाई जतिसक्दो छिटो पक्रिनु पर्छ र मृत्यु दण्ड दिइनु पर्छ।"

भारतका धेरै राज्यहरूमा गाईको वध गर्नु र गाईको मासु खानु गैर कानुनी छ।

Cow Tihar
Source: EPA

गाईको रक्षक वा गौ रक्षक भनेर चिनिने यस्ता समूहहरूलाई, देशको गाई संरक्षण सम्बन्धी कानुनको उल्लङ्घन गर्नेहरूलाई अपहरण गर्ने, कुटपिट गर्ने र कहिले काहीँ हत्या गर्ने समूहका रूपमा चिनिन्छ।

यस्ता समूहहरूबाट कति मानिसहरू मारिएका छन् भन्ने बारे भारत सरकारसँग कुनै तथ्याङ्क रहेको छैन।

तर यस्ता गाई संरक्षकहरू द्वारा पीडित धेरै जस्तो समयमा मुसलमान समुदायका मानिसहरू वा दलित समुदायका रहेका छन्।

हरियाणामा गाई संरक्षण सम्बन्धी कानुन त झन् एक कदम अगाडी रहेको छ, जसले सर्वसाधारणहरू मध्ये सरकारबाट अधिकार प्राप्त जो कोहीले उक्त कानुन लागू गराउन सक्ने व्यवस्था गरेको छ।

सन् २०२१ मा राज्यले स्थानीय स्तरको गाई संरक्षक कार्य बल बनाएको थियो जसले त्यस्ता समूह र प्रहरीबिचको सम्झौतालाई आधिकारिकता दिएको थियो।

हर्ष मान्देर लेखक र मानव अधिकारकर्मी हुन् जसले नू समुदायहरूसँग नजिक रहेर काम गरेका छन्।

र उनी भन्छन्, "अहिले यी प्रहरी र यस्ता समूहहरूले हिंसाका यस्ता घटनामा सहकार्य गरेको देखिन्छ।"

पछिल्ला वर्षहरूमा त्यस्ता समुहहरूले सामाजिक सञ्जालमा आक्रमण गरेका दृश्यहरू पनि प्रत्यक्ष प्रसारण गर्न थालेका छन्।

भारतका कथित गाई रक्षक समुहका चिर परिचित एक सदस्य मोनु मनेसारको नाम नासिर र जुनैदको हत्याका सन्दिग्धका रूपमा आएको थियो।

त्यसको विरोधमा उनका सयौँ समर्थकहरूले प्रदर्शन गर्नुका साथै प्रहरी माथि आक्रमण गर्ने समेत धम्की दिएका छन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

कुलभुषण भारद्वाज आफूले आफैँलाई गाई रक्षकका रूपमा चिनाउँछन्, र उनी उक्त विरोध प्रदर्शनमा सहभागी भएकाहरू मध्ये एक हुन्।

भारद्वाज भन्छन्, "हिन्दु भएकोले हामीलाई गाई प्रति आस्था छ। उनी हाम्री आमा हुन्। यदि कसैले हाम्रो आमामाथि छुरा प्रयोग गर्छ, यदि उनीहरूले उनलाई काट्न खोज्छ, उनको रक्षाको लागि यदि कसैको ज्यान जान्छ भने पनि हामीलाई मतलब छैन र हुने पनि छैन।"

यसैबिच नासिर र जुनैदको हत्याको अनुसन्धानको जिम्मेवारी हरियाणा प्रहरीको नभएर छिमेकी राजस्थान प्रहरीको भागमा परेको छ।

गौरव श्रीवास्तव राजस्थान प्रहरीका इन्स्पेक्टर हुन्।

श्रीवास्तव भन्छन्, "पीडितहरू मुसलमान समुदायका हुन्। र आरोपित व्यक्ति हिन्दु समुदायका, यसका कारणले पनि सामुदायिक तनाव यसको सम्भावित कारण हुने सम्भावना उच्च रहेको छ। "

तर विस्तृतमा उक्त घटनाको अनुसन्धान नभई कुनै कदम चाल्न नसकिने उनको भनाइ छ।

पुरा समुदाय आफ्ना दुई सदस्य गुमाएकोमा शोकाकुल रहेको छ भने न्यायको प्रतीक्षामा रहेको छ।

एसबीएस न्युजले हरियाणा प्रहरीबाट प्रतिक्रिया मागे पनि कुनै प्रतिक्रिया प्राप्त भएको छैन।

 


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now