Key Points
- प्रत्यक्ष उपस्थित भएर वा अनलाइनमा तपाईँले ब्याङ्क अकाउन्ट खोल्न सक्नु हुन्छ।
- अनलाइन अकाउन्ट भएकाहरूले ग्राहकलाई दिइने सेवा कम पाए पनि ब्याजदर भने धेरै हुन्छ।
- तपाईँको अकाउन्टमा भएको २५०,००० डलरसम्मको सुरक्षाको ग्यारेन्टी सरकारले लिएको हुन्छ।
अस्ट्रेलियन ब्याङ्क खाताहरू भएका दुई करोड ग्राहकहरूमा सामेल हुनको लागि तपाईँसँग १०० भन्दा बढी वित्तीय संस्थाहरूको विकल्प हुन्छ।
तपाईँको पैसा भएकोले कुन चाहिँ अकाउन्ट तपाईँको लागि सबैभन्दा उपयुक्त छ भनेर तपाईँले सबै बुझेर निर्णय लिनु ठिक हुन्छ।
हामीले कुरा गरेको त 'ब्याङ्क' खाताहरूको बारेमा हो, तर हामी वास्तवमा ब्याङ्कहरू, क्रेडिट युनियनहरू र बिल्डिङ सोसाइटिज भनिने वित्तीय संस्थाहरूलाई पनि जोडिरहेका छौँ।
जहाँ क्रेडिट युनियन र बिल्डिङ सोसाइटिजको स्वामित्व यसका ग्राहकहरूको हुन्छ।
अस्ट्रेलियन सेक्युरिटिज एन्ड इन्भेस्टमेन्ट कमिसन (एसिक)को मनिस्मार्ट नामक वेबसाइटले उपभोक्ताहरूलाई आर्थिक र वित्तीय निर्णय लिन सहयोग गर्ने गरि शिक्षित गर्छ।
र उक्त मनिस्मार्टका एन्ड्रु ड्याड्स्वेलका अनुसार अस्ट्रेलियामा धेरै ब्याङ्क, क्रेडिट युनियन र बिल्डिङ सोसाइटिज भए पनि वित्तीय बजारमा केही सीमित ब्याङ्कहरूको मात्र दबदबा रहेको छ।
"यहाँ चार वटा ब्याङ्कहरू छन् जसको बजारमा दबदबा रहेको छ र उनीहरूलाई कहिलेकाहीँ 'ठुला चार' वा 'बिग फोर' भनेर चिनिन्छ। त्यसमा एएनजेड ब्याङ्क, कमनवेल्थ ब्याङ्क, नेसनल अस्ट्रेलिया ब्याङ्क र वेस्टप्याक रहेका छन्।"
यति धेरै विकल्पहरूका बिच तपाईँले सबै प्रकारका ब्याङ्क अकाउन्ट बारे बुझेर आफ्नो लागि सुहाउने किसिमको छान्नु उचित हुन्छ।
ब्याङ्क अकाउन्ट कसलाई चाहिन्छ?
यदि तपाईँ जागिर खानुहुन्छ, सरकारी लाभहरू लिनुहुन्छ वा बिलहरू सजिलै तिर्न चाहनुहुन्छ भने तपाईँलाई कम्तीमा एक ब्याङ्क खाता चाहिन्छ, र कहिले काहीँ त त्यो भन्दा बढी पनि चाहिन सक्छ।
अस्ट्रेलियन सरकारले फाइनेन्सियल क्लेम्स स्किम अन्तर्गत प्रत्येक अकाउन्टवालालाई २५०, ००० डलरसम्मको ग्यारेन्टी दिन्छ।
जसको अर्थ यदि तपाईँले पैसा राखेको वित्तीय संस्था सम्भावित घटनामा सञ्चालनमा नरहने भयो भने तपाईँको पैसा भने सुरक्षित हुन्छ।

ब्याङ्क अकाउन्ट खोल्न को योग्य हुन्छ?
सेरा मेगिन्सन समान सेवा तथा वस्तुको तुलना गर्ने फाइन्डर नामक वेबसाइटकी पर्सनल फाइनान्स एक्सपर्ट हुन्।
र उनी भन्छिन् ब्याङ्क अकाउन्ट खोल्नका लागि तपाईँ अस्ट्रेलियन नागरिक वा यहाँको बासिन्दा हुनु पर्छ।
"तर तपाईँ स्थायी बासिन्दा वा पर्मानेन्ट रेजिडेन्ट नै हुनु पर्छ भन्ने चाहिँ छैन। यदि तपाईँ अस्थायी भिसामा हुनुहुन्छ भने पनि तपाईँ ब्याङ्क खाता खोल्न योग्य हुनुहुन्छ किनभने ब्याङ्कहरूले तपाईँलाई यहाँ रहँदा, लेनदेन गर्न र तपाईँको तलब राख्न अकाउन्ट चाहिन्छ भन्ने कुरा बुझ्छन्।"
तर बस्न पाउने भिसा छैन खालि घुम्न आएको हो र पढ्न वा काम गर्न मिल्दैन भने ब्याङ्क अकाउन्ट खोल्न अलि गाह्रो हुन सक्ने उनको भनाइ छ।
अकाउन्ट खोल्न उमेर प्रतिबन्ध पनि छैन। यदि तपाईँ १८ वर्ष भन्दा कम उमेरको हुनुहुन्छ भने तपाईँले सह हस्ताक्षरकर्ताको रूपमा आफ्नो बुबा आमा वा अभिभावकलाई राखे पुग्छ।
अकाउन्टका प्रकारहरू
प्रचलनमा रहेकाहरूमा दुई प्रकारका अकाउन्टहरू प्रमुख गरि पाइन्छन् जुन अधिकांश वित्तीय संस्थाहरूमा उपलब्ध हुन्छन्। यसबारे मेगिन्सन बुझाउँछिन्।
"एउटा हुन्छ नियमित कारोबार हुने अकाउन्ट जसको नामले नै थाहा हुन्छ कि उक्त अकाउन्टबाट नै दैनिक कारोबार हुने गर्छ।"
"दोस्रो प्रकारको अकाउन्ट भनेको सेभिङ अकाउन्ट वा बचत खाता हो। र अहिले ब्याज दरहरू यति उच्च छन् कि तपाईँले बचत खातामा वास्तवमै राम्रो प्रतिफल पाउन सक्नुहुन्छ," मेगिन्सन भन्छिन्।
तपाईँले ट्रान्ज्याक्सन अकाउन्टमा कुनै ब्याज पाउनुहुने छैन, तर त्यसलाई तपाईँले क्रेडिट वा डेबिट कार्डसँग जोड्न सक्नुहुन्छ।

ब्याङ्कले दिने ब्याज
बचत खाताहरूमा विभिन्न ब्याज दरहरू प्रस्ताव गरिन्छ जुन समयसँगै परिवर्तन हुन सक्छ।
ट्रान्ज्याक्सन अकाउन्टमा भन्दा सेभिङ अकाउन्टमा नै तपाईँले धेरै ब्याजदर पाउन सक्नुहुन्छ।
त्यसैले केही रकम दैनिक कारोबार गर्ने अकाउन्टमा राखेर बाँकी रकम चाहिँ धेरै ब्याज पाइने सेभिङ अकाउन्टमा नै राख्दा ठिक हुने एन्ड्रु ड्याड्स्वेल बताउँछन्।
"यदि तपाईँसँग सेभिङ अकाउन्ट छ भने तपाईँले आफ्नो प्रारम्भिक बचत र तपाईँले पहिले नै कमाएको ब्याजको लागि ब्याज पाउनुहुनेछ, यसको अर्थ तपाईँले आफ्नो ब्याजमा ब्याज कमाउनु हुनेछ।"एन्ड्रु ड्याड्स्वेलका, मनिस्मार्ट (एसिक)
याद गर्नुहोस्, तपाईँले कमाउनु भएको कुनै पनि ब्याज कार लाग्ने आयको हिस्सा हुन्छ र तपाईँले यसलाई आफ्नो ट्याक्स रिटर्नमा उल्लेख गर्नुपर्छ।
कस्तो ब्याङ्क चाहिँ तपाईँको लागि ठिक होला त?
यदि तपाईँलाई ब्याङ्कमा जान सकिने वा शाखाहरू भएको ब्याङ्क ठिक लाग्छ भने परम्परागत 'बिग फोर' वा चिर परिचित ब्याङ्क नै तपाईँको लागि ठिक हुन्छ।
अनि तपाईँ अनलाइन व्यापार सञ्चालन गर्न रुचाउनु हुन्छ भने मेगिन्सनको सुझावमा 'नियो ब्याङ्क' वा डिजिटल ब्याङ्क आउँछन्।
"यसमा तपाईँले भ्रमण गर्नको लागि भवन परिसरहरू पाउनु हुने छैन। तिनीहरूले विभिन्न स्तरमा ग्राहकलाई सेवा दिन्छन्। तर अधिकांश यस्ता अनलाइन ब्याङ्कले उच्च ब्याजदर दिन्छन्।"
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
के तपाईंलाई स्मार्टफोनको सुविधा महत्त्वपूर्ण छ?
त्यस्तो हो भने तपाईँले आफ्नो ब्याङ्कसँग तपाईँको क्रेडिट कार्डलाई स्मार्ट वालेट, गुगल पे वा एप्पल पेसँग जोड्न सक्नु हुन्छ कि भनेर बुझ्नुहोस्।
अकाउन्ट खोल्ने तरिका
ब्याङ्क अकाउन्ट खोल्न या त तपाईँ आफूले रोजेको ब्याङ्कको शाखामा जान सक्नुहुन्छ वा तिनीहरूको वेबसाइटमा गएर त्यहाँ दिइने निर्देशन अनुसार अगाडी बढ्न सक्नुहुन्छ।
यसमा तपाईँको पहिचानलाई प्रमाणित गर्नु पर्ने कुराले अलि गाह्रो पार्ने मेगीन्सनको भनाइ छ।
"तपाईँ जो हुँ भन्नुहुन्छ त्यो साँच्चिकै हो भन्ने प्रमाणहरू उनीहरूले खोज्छन्। त्यो पासपोर्ट, जन्म दर्ताको प्रमाणपत्र, वा मेडिकेयर कार्ड हुन सक्छ। र सामान्यतया, तपाईँ को हुनुहुन्छ भनेर प्रमाणित गर्न ब्याङ्कमा नै जान पनि आवश्यक हुन्छ।"
एक पटक तपाईँ सिस्टममा दर्ता हुनु भयो र तपाईँले अनलाइन ब्याङ्किङ वा फोन ब्याङ्किङ एप राखिसक्नु भयो भने तपाईँले अन्य अकाउन्ट केही मिनेटमा नै बनाउन सक्नुहुन्छ।

भर्खर अस्ट्रेलिया आएकाहरूका लागि
मेरिएन्जिला स्टेगनिटिले आप्रवासीहरूलाई उनीहरूको ब्याङ्कसँग सम्बन्धित आवश्यकताहरूमा दशकौँदेखि सहायता प्रदान गर्दै आएकी छिन्।
र उनी भर्खर अस्ट्रेलिया आएका आप्रवासीहरूले आफ्नो पासपोर्ट र अस्ट्रेलिया प्रवेश गरेको मिति सहितको भिसाको फोटोकपी लिएर ब्याङ्कमा जानु पर्ने बताउँछिन्।
"तपाईँसँग वर्किङ होलिडे भिसामा आएको भन्ने कुरा पुष्टि गर्ने इमेल वा कागजात हुन्छ। र यति तपाईँ विद्यार्थी भिसामा हो भने तपाईँ स्टुडेन्ट ब्याङ्क अकाउन्ट बनाउन योग्य हुनुहुन्छ।"
यदि तपाईँ यहाँ छुट्टी मनाउन को लागि मात्र आउनु भएको हो भने तपाईँले ब्याङ्क खाता खोल्न सक्नु हुने छैन।
भर्खर अस्ट्रेलिया आएका र काम गर्ने अधिकार भएकाहरूले भने ट्याक्स फाइल नम्बरका लागि एटीओ भनिने अस्ट्रेलियन कर कार्यालयमा दर्ता हुनु पर्छ। र उक्त नम्बर यहाँ आएको ३० दिन भित्रमा ब्याङ्कलाई उपलब्ध गराउनु पर्छ।
विदेशको पैसा अस्ट्रेलियन ब्याङ्क काउन्टमा पठाउनु पर्ने हुँदा विभिन्न विनिमय दर वा एक्सचेन्ज रेट बारे बुझ्नु पर्ने स्टेगनिटिको सुझाव छ।
ट्रान्सफरको प्रकृति अनुसार विनिमय दर फरक हुने भएकोले यसबारे बुझ्न आवश्यक रहेको हुनाले यसबारे बुझ्नुपर्ने उनी बताउँछिन्।
"नगद नै निकाल्नको लागि एक विनिमय दर छ, र तपाईँले पैसा ट्रान्सफर गर्दा अर्को विनिमय दर हुन्छ।"
शुल्क तिर्नु पर्दैन नि!
यदि तपाईँले आफ्नो दैनिक कारोबार हुने अकाउन्टको लागि कुनै शुल्क तिर्नु पर्छ भने त्यो भन्दा राम्रो सम्झौता प्राप्त गर्न तपाईँले अन्य विकल्पहरूको बारेमा पनि खोजी गर्नु पर्छ।
कतिपय अकाउन्टले ब्याङ्क शुल्क नलिने भन्दै सेरा मेगिन्सन थप्छिन्, "त्यो शुल्क तिर्नु आवश्यक नै छैन। यदि त्यस्तो गरिरहनु भएको छ भने तपाईँले वास्तवमा ब्याङ्कको फाइदाको लागि दान गरिरहनु भएको छ।"
केही ब्याङ्कहरूले तपाईँलाई अस्ट्रेलिया आउनु अघि नै अकाउन्ट खोल्न अनुमति दिन सक्छन् र तपाईँ आइपुग्दा कुनै शाखामा गएर आफ्नो पहिचान प्रमाणित गर्न भन्न सक्छन्।
अस्ट्रेलिया सरकारले प्रत्येक अकाउन्टवालालाई २ लाख ५० हजारसम्मको ग्यारेन्टी दिन्छ। जसको अर्थ यदि तपाईँले पैसा राखेको वित्तीय संस्था सम्भावित घटनामा सञ्चालनमा नरहने भयो भने तपाईँको पैसा भने सुरक्षित हुन्छ।
तपाईंका केही प्रश्न वा विषय वस्तु छनौटलाई लिएर कुनै सोच छन् ? हामीलाई australiaexplained@sbs.com.au मा इमेल पठाउनु होस्।







