मार्च १ देखि ३१ सम्ममा तिन चरणमा २८८ किलोमिटर दौडेर र हिँडेर पुरा गरेका किरण गुरुङले अन्तिम चरणको ९६ किलोमिटर एक दिनमा पुरा गरेर आफूले लिएको चुनौतीलाई सफल बनाएका छन्।
सोल्जर अन अस्ट्रेलियाको आयोजनामा भएको मार्च अन च्यालेन्जले पूर्व सैनिकहरूको मानसिक स्वास्थ्य क्षेत्रमा पहुँच बढाउने उद्देश्य राखेको छ।
अन्तिम चरणको १४ किलोमिटर दौडिएर र बाँकी भने केही आराम गर्दै पुरा गरेका उनलाई साथी भाइहरूले आफू सँगै केही किलोमिटर दौडिएर हौसला बढाएको बताए।
"वेदरले पनि साथ दियो। साथीहरू पनि आउनु भएको थियो, साथीहरूले साथ दिनु भयो। एक जना मसँगै पहिला काम गर्ने साथी झन्डै २१ किलोमिटर मसँगै कुद्नु भयो।"
एक महिनामा २८८ किलोमिटरको दुरी एस १० रेस्पीरेटर लगाएर पुरा गर्ने चुनौतीमा पहिलो दुई चरण दिनको केही घण्टा दौडिएर पुरा गरेका गुरुङलाई अन्तिम ९६ घण्टा एक दिनमा नै पुरा गर्नु पर्ने भएकोले केही चुनौतीपूर्ण थियो।
बुधवार ३० मार्च बिहान सबेरै ५ बजेदेखि सुरु भएको उनको यात्रा बुधवार मध्यरातमा सकिएको थियो।
यस अघि पहिलो चरणमा उनले आफू काममा भएकोले काम सकिए पछिको समयमा ट्रेड मिलमा दौडेर पुरा गरेका थिए।

सुरुको १७/१८ दिन चाहिँ कामले गर्दा खेरि हरेक दिन १२ घण्टाको सिफ्ट सकेर ट्रेड मिलमा कुद्न पर्यो।किरण गुरुङ
आफ्नो काम समुन्द्रमा भएकाले अरू तिर दौडन सम्भव नभएको उनको भनाइ छ।
तर दोस्रो चरणमा भने बिदामा घरमा भएकाले उनले आफू बस्ने क्षेत्रमा नै दौडेर ९६ किलोमिटर पुरा गरेका थिए।
सिंगापुरको गोर्खा टुकडीमा दश वर्ष काम गरेका किरण गुरुङले आफ्ना बेलायत र अन्य द्वन्द्व ग्रसित क्षेत्रमा गएका साथीहरूको जस्तो चुनौती नपाएकोमा कहिले काहीँ कमी महसुस हुने गरेको बताए।
"साढे दश वर्ष सिंगापुरको नोकरीमा भन्न लायक केही घटना पनि घटेन।…त्यही कारणले होला कहिले काहीँ अलिकति मिस हुन्छ।…ज्यान चिलाउँछ।"
तर किरण गुरुङले सामाजिक कार्यका लागि अभियानमा जोडिएको यो नै पहिलो पटक भने होइन।
यस अघि पनि उनले नेपालमा भूकम्प जाँदाको समयमा सहयोगार्थ रकम जुटाउन र विभिन्न स्वास्थ्य सम्बन्धी जनचेतना फैलाउने अभियानहरूमा सहभागिता जनाई सकेका छन्।
र हरेक पटक आफू पूर्व गोर्खा भएको कारण अलि फरक गर्न मन पराउने उनले बताए।
र यस पटक पनि केही फरक गर्दै चुनौती अझ थप्न उनले सैन्य ग्यास मास्क, एस टेन रेस्पिरेटर, लगाउने निर्णय गरेका थिए।

मेरो चाहिँ जहिले पनि एक्स्ट्रा हुन्छ। र साथीहरूले के भन्छ भने हामी गोर्खाली हो र हामी जस्तो कोही छैन भन्ने भनाइ छ त्यसैले अलिकति फरक त हुनु पर्यो नि गोर्खालीको नाताले।किरण गुरुङ
पूर्व सैनिकहरूको मानसिक स्वास्थ्यसँग जोडिएको यो अभियानमा जोडिने सोच कसरी आयो भन्ने प्रश्नमा गुरुङ भन्छन्,"मैले यो मार्च अन च्यालेन्ज देख्ने बित्तिकै मलाई चाहिँ कुनै सोच नै नआई कनै गर्छु भन्ने अटोमेटिकल्ली आयो।"
एक अस्ट्रेलियाली नागरिक पूर्व गोर्खा भएको कारण एनज्याक र गोर्खा सैनिकको सम्बन्ध ग्यालिपोलीको युद्धदेखि नै भएकोले यो अभियानमा जोडिएर पूर्व सैनिकहरूको सहयोगमा आफ्नो तर्फबाट थोरै नै भए पनि गर्ने सोच आएको उनको भनाइ छ।

उनि पूर्व सैनिकहरूको मानसिक स्वास्थ्यलाई लिएर विशेष ध्यान दिनु पर्ने बताउँछन्।
द्वन्द ग्रस्त क्षेत्रमा खटिएका सेनाहरूलाई ट्रमा हुने तर कति पयले उपलब्ध रहेका सेवाहरू पनि नलिने आफूले देखेका बताउँदै उनी यो अभियान केही सहयोगी हुन्छ कि भन्ने आशा व्यक्त गर्छन्।
"यस्तो हुँदै छ भन्ने (थाहा) भयो भने उनीहरूलाई त्यसबाट पनि प्रोत्साहन मिल्छ कि, त्यो सुविधा युज गर्नको लागी ? त्यो चाहिँ मेरो सोचाइ (हो)।"







