सन् १९८१ मा एक नयाँ र अज्ञात भाइरस संयुक्त राज्य अमेरिकामा देखिन थाल्यो।
थाहा थियो त केवल यति - त्यसले सङ्क्रमित भएका मानिसहरूको प्रतिरक्षा क्षमता अर्थात् immunodeficiency निकै नै गम्भीर रूपमा कम देखिन्थ्यो। पछि यसको नाम रहन गयो एड्स (AIDS) - Acquired immunodeficiency syndrome।

उक्त भाइरसलाई समुदायमा फैलन कत्ति पनि समय लागेन र यसले थुप्रैको ज्यान लिन थाल्यो।
सङ्क्रमण मात्र होइन, त्यससँग आएको डर र घृणा पनि छिट्टै फैलिएको डाक्टर रोबर्ट गालो सम्झन्छन् - 'त्यति बेला एउटा रहस्यको भावना थियो, डर थियो, पूर्वाग्रह थियो, बहिष्कार गर्ने मनोवृत्ति थियो।'
आज हामी सबैले आफ्ना नाङ्गो आँखाले कोभिड-१९ भाइरस कस्तो देखिन्छ भनेर तस्बिरहरूमा हेर्न मिल्छ। तर इतिहासको त्यो समयमा, सर्वसाधारणमा भाइरसको ज्ञान निकै सीमित रहेको डाक्टर गालो बताउँछन्।
सुरुवातमा थुप्रै बिरामीहरूमा एक प्रकारको क्यान्सर देखिन थाल्यो - कपोसिस सार्कोमा - जसले छालामा घाउहरू बनाउँदछ।
यो पनि पढ्नुहोस्:

ब्रिटेन फेरि लकडाउनमा, परिवर्तित कोरोनाभाइरसको तिव्र संक्रमण
यसलाई प्रारम्भिक चरणहरूमा समलिङ्गी व्यक्तिहरू प्रति घृणा जनाउँदै 'गे क्यान्सर' भनी चिनिन्थ्यो। तर बिस्तारै विषमलैंगिक मानिसहरूमा पनि त्यो क्यान्सर देखिन थाले पछि यो नामले बोलाउन कम भयो।
Human immunodeficiency virus अर्थात् एचआइभी (HIV) को आविष्कारका लागि सन् १९८३ मा फ्रान्सेली अन्वेषक फ्रानसोइस बार-सिनोसी र ल्युक मोनटागनियरलाई चिकित्साका लागि नोबेल पुरस्कार दिइएको थियो।
सन् १९८० मा एड्सको बारेमा जनचेतना फैलाउनका लागि बेलायती सरकारले 'टुम्बस्टोन' भनिने टिभी विज्ञापन जारी गरेको थियो, जसले दर्शकहरू माझ निकै डर उत्पन्न गरेको थियो।

रगत, वीर्य, लगायत शरीरबाट निस्कने अन्य तरल पदार्थहरूबाट सर्ने यो भाइरस छोटो समयमा विश्वभर महिला, पुरुष, बालबच्चा, यौनकर्मी, समलिङ्गी पुरुष, रगतको रोग भएका मानिसहरूमा र लागु पदार्थ प्रयोगकर्ताहरूमा फैलन थाल्यो।
एलेक्स स्प्यारोहक इंगल्याण्डको म्यानचेस्टरमा बस्छन्, र उनी एचआइभी भाइरससँग जुझिरहेका छन्। सन् १९८० मा रहेको घृणाको मनोवृत्ति अहिले नरहेको तर अझै पनि कतिपयमा यसको बारेमा गलत धारणा रहेको उनी बताउँछन्।
रक हडसन हलिवुडका निकै नै चर्चित र तन्दुरुस्त देखिने नायक थिए। तर, सन् १९८५ को जुलाई महिनामा आफूलाई एड्स भएको कुरा उनले बताए - र यसरी सार्वजनिक रूपमा आफ्नो रोगको खुलासा गर्ने उनी पहिलो कलाकार थिए।

उनले यसरी आफ्नो रोगको बारेमा सबैलाई भने पछि यसलाई समलिङ्गी र लागु पदार्थ सेवनकर्ताहरूको रोग भनेर घृणा गर्ने मानिसहरूको सोचमा केही हदसम्म परिवर्तन आएको कतिपयको विश्वास छ।
त्यही सालको अक्टोबर महिनामा भएको उनको निधनको विश्वभर फैलिएको थियो।
सन् १९८७ मा वेल्सकी राजकुमारी डायनाले एड्स सङ्क्रमितहरू रहेको अस्पतालको भ्रमण गरेकी थिइन् र उनले एक जना बिरामीलाई छोएको तस्बिर पनि सार्वजनिक भएको थियो। यसले पनि एड्सको विषयमा रहेको गलत धारणालाई तोड्न मद्दत पुरायो।
राजकुमारी डायनाले त्यस बेला गरेको एक भाषण, आजको कोभिड-१९ महामारीसँग पनि समय सान्दर्भिक छ।
यो पनि पढ्नुहोस्:

पर्यावरणको विनाशप्रति चिन्ता, थप प्रतिबध्दताको आह्वान
सन् १९८६ मा संघीय अधिकारीहरूले A-Z-T नामक औषधीले काम गर्न सक्ने, र हजारौँ सङ्क्रमितहरूलाई यो वितरण गरिने घोषणा गर्यो। एचआइभी विरुद्ध तयार पारिएको यो पहिलो औषधी थियो।
उक्त औषधी प्रभावकारी भने भएन, तर त्यसको मद्दतले एचआइभी, ट्युबरकुलोसिस र अन्य रोगहरूका केही उपचार भने विकास भए।
अहिले वर्तमान समयका आधुनिक उपचार विधिहरूले भने एचआइभी सँग जुझिरहेका मानिसहरूलाई स्वास्थ्य जीवन जिउन सहयोग गर्ने एलेक्स स्प्यारोहक बताउँछन्।
तर अहिले विश्वभर फैलिएको कोभिड-१९ महामारीका कारण एड्सको औषधीहरूको वितरणमा वाधा आएको छ। र यसले गर्दा यसको प्रयोग गर्ने २ करोड भन्दा बढी मानिसहरूको ज्यान जोखिममा पर्न पुगेको छ।
यो पनि पढ्नुहोस्:

ग्रेटर सिड्नीमा भवन भित्रका केही ठाउँहरूमा मास्क लगाउन अनिवार्य
जस्तै उदाहरणको लागि, साउथ अफ्रिकामा विश्वमै सबै भन्दा धेरै - ७७ लाख एचआइभी सङ्क्रमितहरू छन्। ती मध्य ६२ प्रतिशतले भाइरसलाई दबाउन र सङ्क्रमण रोक्नका लागि एन्टी-रेट्रोभाइरल औषधी लिने गरेका छन्।
उक्त देशमा कोभिड-१९ का कारण भएको लकडाउनले गर्दा ती औषधीहरूको उत्पादन ठप्प भएको छ, वितरणमा पनि अवरोध पुगेको छ।
सन् २०१९ को तथ्याङ्क अनुसार विश्वभर ३ करोड ८० लाख भन्दा बढी मानिसहरू एचआइभी सङ्क्रमणसँग बाँचिरहेका छन्।
यो पनि पढ्नुहोस्:

सन् २०२१ सँगै जबसीकर र जबकीपर भत्ता घट्यो: थुप्रै मानिस असमर्थ





