अस्ट्रेलियामा बढ्दै गएको भनिएको मानसिक स्वास्थ्य र आत्महत्याको दरलाई घटाउन सङ्घीय सरकारले एक राष्ट्रिय स्वास्थ्य योजनाको घोषणा गरेको छ।
सङ्घीय सरकारले सार्वजनिक गरेको राष्ट्रिय स्वास्थ्य योजनाले अस्ट्रेलियाली स्वास्थ्य सेवालाई विश्वकै सबै भन्दा राम्रो बनाउने आसा राखेको छ।
सङ्घीय स्वास्थ्य मन्त्री ग्रेग हन्टले उक्त राष्ट्रिय योजना सार्वजनिक गर्ने क्रममा सन् २०३० सम्मका लागि खर्च र कार्यक्रमहरूको खाका तयार गरिसकिएको जानकारी दिए।
अस्ट्रेलियामा बिरामीहरूको सफल उपचारको दर राम्रो रहेता पनि त्यसमा थप सुधार गर्न सकिने मन्त्री हन्टको भनाइ रहेको छ।
सरकारले उक्त योजनालाई प्राथमिक स्वास्थ्य स्याहार, देशभरिका अस्पतालहरू र निजी स्वास्थ्य सेवा प्रणाली, रोकथाम र मानसिक स्वास्थ्य अनि चिकित्सकीय अनुसन्धान गरेर कूल चार भागमा बाँडेको गरेको छ।

अस्ट्रेलियाको निःशुल्क स्वास्थ्य प्रणाली - मेडीकेयर - उपयुक्त रूपमा सञ्चालन भएको सुनिश्चित गर्न सरकारको ध्यान केन्द्रित रहने हन्टको भनाइ छ।
विशेष गरी मेडिकेयरका लागि लगानी कायम राख्ने, ग्रामीण स्वास्थ्य स्याहारमा सुधार गर्ने र थप औषधिहरूलाई सहुलियतमा उपलब्ध गराउने आफ्नो योजना रहेको उनले बताए।
साथै, आदिवासी अस्ट्रेलियालीहरूको स्वास्थ्य सुधारका लागि पनि सरकारले नयाँ योजना तयार गर्ने सङ्घीय स्वास्थ्य मन्त्रीको भनाइ थियो।
“देश भरी छरिएर रहेका सरकारी र निजी अस्पतालहरू बिचको सहकार्यमा सुधार ल्याउन पनि यो सरकारले काम गर्नेछ,” मन्त्री हन्टले नेशनल प्रेस क्लबको एक साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा भने।
तर यसो गर्दा, ती दुई व्यवस्था बिच सही सन्तुलन रहेको सुनिश्चित गर्न पनि जरुरी रहेको उनको ठम्याई छ।
बिरामी हुनबाट मानिसहरूलाई जोगाउने र मानसिक स्वास्थ्यको विषय - सरकारी योजनाको तेस्रो भागको रूपमा प्रस्तुत गरिएको छ।
सर्भिकल क्यान्सरको रोकथामका लागि - जाँच प्रक्रिया बढाइने देखि पाँच वर्ष उमेरसम्मका झन्डै पन्चानब्बे प्रतिशत बाल बालिकाहरूलाई खोप लगाइएको र धूम्रपानको मात्रा कुल जनसङ्ख्या मध्ये खालि तेह्र प्रतिशतमा पुगेको बताइन्छ।
बिमारी रोकथामका यस्ता योजनाहरूमा थप सुधार ल्याउन सकिने ग्रेग हन्टको बिचार रहेको छ।
“सन् २०२५ सम्ममा खोप लगाइएका पाँच वर्ष उमेरका बाल बालिकाहरूको सङ्ख्या ९५ प्रतिशत र धूम्रपान सङ्ख्या १० प्रतिशत भन्दा कममा ल्याउने सरकारी लक्ष्य रहेको छ,” सङ्घीय मन्त्री हन्टले भने।
हाल अस्ट्रेलियामा रहेका प्रत्येक ४ जना मध्ये एक जनाले मानसिक स्वास्थ्य समस्याको सामना गरिरहेको तथ्याङ्क रहेको छ।
ग्रेग हन्टका अनुसार यो विषय अहिले एक राष्ट्रिय चुनौतीको रूपमा रहेको छ।
अनि, त्यसरी मानसिक समस्या सामना गर्नुपर्नेहरुमा अर्श्दीप चीमा पनि रहेकी छिन्।
भारतीय पृष्ठभूमिकी चीमाले स्कुल सक्काएको केही वर्षसम्म आफ्नो समस्यालाई लुकाएर राखेको बताउँदै भनिन्, “नयाँ स्वास्थ्य योजनाले आप्रवासी समुदायका मानिसहरूलाई मानसिक स्वास्थ्य बारे सचेतनाका कार्यक्रमहरू लाग्न सजिलो वातावरण निर्माण गरिदिने आसा लिएकी छु।”
“गत वर्ष ३,००० भन्दा बढी अस्ट्रेलियालीहरूले आत्महत्या गरे। यसले मानसिक स्वास्थ्य हाम्रो देशका लागि कति गम्भीर छ भन्ने प्रस्ट पारेको छ,” स्वास्थ्य मन्त्रीले मानसिक स्वास्थ्यका समस्या बारे थप प्रकाश पार्दै भने।
मानसिक स्वास्थ्य सम्बन्धी रहेका नकारात्मक धारणाहरू अन्त्य गर्न सन् २०२० सम्ममा एक मानसिक स्वास्थ्य रणनीति तयार पार्ने लक्ष्य पनि सरकारले राखेको छ जानकारी उनले दिए।
“यसका साथै बालबालिकाको मानसिक स्वास्थ्य सम्बन्धी रणनीति तयार गर्न पनि सरकार कटिबद्ध रहेको जानकारी गराउन चाहन्छु,” मन्त्री हन्टले बताए।

उता, शाही बाल अस्पतालमा बाल रोग विशेषज्ञ रहेकी प्राध्यापक ह्यारीएट हिस्ककका अनुसार भने बालबालिकामा रहेका मानसिक स्वास्थ्य समस्यालाई प्राय ध्यान दिइन्न।
“निकै स-साना बालबालिकाहरूमा मानसिक स्वास्थ्य समस्या हामीले देखेका छौँ र उनीहरू यसका कारण धेरै नै पीडित पनि छन्,” उनले भनिन्।
साथै, आफ्नो योजनाको चौथो खम्बामा सङ्घीय सरकारले स्वास्थ्य अध्ययन र अनुसन्धानका लागि थप एक करोड डलर लगानी गर्ने बताएको छ।





