मुख्य बुँदा
- अस्ट्रेलियामा भर्खरै बच्चा पाएका वा एडप्ट गरेका केही योग्य आमा बुबालाई कामबाट बिदा बस्दा २२ हप्तासम्मको भुक्तानी प्रदान गरिन्छ।
- यो भुक्तानीको लागि योग्य हुन काम, आय र अस्ट्रेलियामा बसाइ सम्बन्धी कडा मापदण्ड पूरा गर्न आवश्यक हुन्छ।
- जुलाई सन् २०२५ देखि, 'पेड पेरेन्टल लीभ' को समयावधि बढेर २४ हप्ता पुग्नेछ भने यसमा सुपरएनुएसन योगदान पनि समावेश हुनेछ। जुलाई सन् २०२६ देखि यो २६ हप्ता हुनेछ।
बच्चा पाउने प्रतीक्षाको समय विशेष र निकै रोमाञ्चक हुन्छ, तर यससँगै आर्थिक भार पनि थपिन्छ।
अस्ट्रेलियामा सरकार र रोजगारदाताहरूबाट 'पेरेन्टल लीभ' भुक्तानी पाइन्छ जसबाट आमा बुबाले आफ्नो बच्चाको हेरचाह गर्न घरमै बसेर आय प्राप्त गर्न सक्छन्।
र यसले आर्थिक तनाव कम गर्न मद्दत गर्न सक्छ।
अस्ट्रेलियाको पेरेन्टल लीभ योजना के हो?
आमा बुबालाई दिइने पेरेन्टल लीभ पेमेन्ट भनेको अस्ट्रेलियन सरकारले दुई वर्ष मुनिका नवजात शिशु वा भर्खर 'एडप्ट' गरेको धर्म सन्तानको हेरचाह गर्न परिवारहरूलाई कामबाट समय निकाल्न मद्दत गर्ने भुक्तानी हो।
डा एडेल मर्डुलो मल्टिकल्चरल सेन्टर फर वुमेन्स हेल्थकी प्रमुख कार्यकारी अधिकृत हुन्। र उनी परिवारहरूलाई पेरेन्टल लीभ निकै महत्त्वपूर्ण हुने भनाइ राख्छिन्।
अस्ट्रेलिया सरकारको पेरेन्टल लीभको भुक्तानी योजना व्यवस्थापन गर्ने जिम्मा सर्भिसेस अस्ट्रेलियाको हुन्छ।
र यसका महाप्रबन्धक ह्याङ्क योङ्गेन पेरेन्टल लोभ पेमा के कस्ता लचकता छन् साथै आगामी समयमा कस्ता परिवर्तन आउँदै छन् त भन्ने बारे यस्तो बताउँछन्।
"यहाँ अस्ट्रेलियामा व्यवस्थाहरू धेरै लचिलो छन् किनभने भुक्तानी अभिभावकहरू बिच बाँड्न सकिन्छ। यसमा २२ हप्तासम्मको अवधिको लागि भुक्तान गरिन्छ। र त्यो सन् २०२५ को १ जुलाईदेखि बढेर २४ हप्ता पुग्छ। त्यसै गरि सन् २०२६ को १ जुलाई पछि २६ हप्ता पुग्नेछ।"
त्यति मात्र नभएर सन् २०२५ को जुलाईदेखि यस भुक्तानीबाट सुपरएन्नुएसनमा पनि रकम पठाइनेछ।
राष्ट्रिय न्यूनतम पारिश्रमिकलाई आधार मान्दै हप्तामा पाँच दिन कार्य गरेको हिसाबले ९१५. ८० डलर दिइन्छ।

के म यो भुक्तानीको लागि योग्य छु त?
यो पेमेन्टका लागि योग्य हुन, तपाईँ बच्चाको प्राथमिक हेरचाहकर्ता हुनुपर्छ। साथै तपाईँले काम र आय सम्बन्धी एक जाँच पनि पूरा गर्नुपर्छ।
साथै ह्याङ्क योङ्गेन तपाईँ अस्ट्रेलियाको बासिन्दा हुनु वा निश्चित भिसा आवश्यकताहरू पूरा गर्न आवश्यक रहेको बताउँछन्।
"जब तपाईँको बच्चाको जन्म हुन्छ वा एडप्ट गर्नु हुन्छ त्यति बेला तपाईँ अस्ट्रेलियामा नै बसेको हुनुपर्छ। र तपाईँसँग अस्ट्रेलियाको नागरिकता, स्थायी भिसा, विशेष श्रेणीको भिसा वा निश्चित अस्थायी भिसा, उदाहरणका लागि अस्थायी सुरक्षा भिसा हुनु आवश्यक छ।"
बच्चाको जन्म वा एडप्ट गर्नु अघि तपाईँ दुई वर्ष अस्ट्रेलियामा बसेको हुनुपर्छ।
विदेशमा बिताएको समय यस अवधिमा जोडिँदैन। पेरेन्टल लीभ पे मृत जन्म वा शिशुको मृत्यु भएको अवस्थामा पनि उपलब्ध हुन्छ।
साथै योङ्गेन पेरेन्टल लीभ पे योग्यता पुगेका बच्चाका आमा बुबाबिच बाँड्न सकिने भनाइ राख्छन्।
यो बिदा भुक्तानीको सबैभन्दा राम्रो कुरा भनेको यसले आमा र बुबा दुवैको अभिभावकत्वको महत्त्वलाई समान मान्यता दिनु भएको एडेल मर्डुलो बताउँछिन्।
यो पेमेन्ट एकै पटक वा अलि अलि गर्दै ब्लकमा पनि लिन सकिन्छ तर तपाईँले भुक्तानी प्राप्त गरेको दिनमा काम गर्न भने नपाउने योङ्गेनको भनाइ छ।
र यदि पहिले बिदा बस्छु भनेर भुक्तानी लिएको दिन काम गर्नु पर्ने भयो भने आफूहरूलाई सम्पर्क गर्न उनले सुझाव दिएका छन्।

पेरेन्टल लीभ पे कसरी दाबि गर्ने?
तपाईँ यो भुक्तानीका लागि योग्य हुनुहुन्छ वा छैन भनी जाँच गर्न सर्भिसेस अस्ट्रेलियाको वेबसाइट, servicesaustralia.gov.au मा जान सक्नुहुन्छ।
त्यसपछि तपाईँले अनलाइनमा अप्लाइ गर्न सक्नुहुन्छ।
योङ्गेन सम्पूर्ण जानकारी एकै ठाउँमा पाइने भएकोले तपाईँको माइ गभ अकाउन्टमा रहेको सेन्टरलिङ्क मार्फत यसका लागि अप्लाइ गर्न सुझाउँछन्।
थप समर्थनको लागि, सेवाहरू अष्ट्रेलिया वेबसाइटमा ७५ भन्दा बढी भाषाहरूमा जानकारी उपलब्ध छ, र सेन्टरलिङ्कको बहुभाषिक कल सेन्टर १३१ २०२ मा सम्पर्क गर्न सकिन्छ।
काम गर्ने ठाउँबाट पनि यो भुक्तानी पाइन्छ?
केही रोजगारदाताहरूले छुट्टै पेरेन्टल लीभ भुक्तानीहरू पनि दिन्छन्।
यसका लागि योग्य हुन र यस सम्बन्धित नियमहरू काम गर्ने ठाउँ अनुसार भिन्न हुन्छन्, त्यसैले तपाईँको मानव संसाधन विभाग वा सम्बन्धित विभागकहाँ गएर साथै आफ्नो इन्टरप्राइजे अग्रीमेन्ट हेरेर यसबारे जानकारी लिन सक्नुहुन्छ।
अफ्नान मलिक साढे दुई वर्षका बच्चाका बुबा हुन्।
उनी सरकार र आफ्नो रोजगारदाता दुवै मार्फत यो बिदा भुक्तानी पाउनका लागि योग्य थिए।
तर पाउने भन्दा बढी दाबी गरेर पछि तिर्नु पर्ने हो कि भन्ने डरले उनले आफूले पाउने अधिकार जत्ति पनि दाबी गरेनन्।
यदि त्यो अवस्था अहिले आउने हो भने उनी आफ्नो रोजगारदाता कहाँ गएर थप प्रश्नहरू सोध्ने थिएँ भन्छन्।
काममा तपाईँका हकहरू के छन् भनेर थप जाँच गर्न जबवाच जस्ता संस्थासँग परामर्श गर्न पनि मर्डुलोको सुझाव छ।
एउटा रोजगारदाताको लागि कम्तीमा १२ महिना काम गरेका कर्मचारीहरू बेतलबी सुत्केरी बिदाको हकदार हुन्छन्।
आमा बुबाका लागि दिइने यो बिदा भुक्तानी एकदमै राम्रो समर्थन भए पनि मर्डुलो यसका लागि थप व्यक्तिहरू योग्य हुनु पर्ने चाहना राख्छिन्।

तपाईंका केही प्रश्न वा विषय वस्तु छनौटलाई लिएर कुनै सोच छन् ? हामीलाई australiaexplained@sbs.com.au मा इमेल पठाउनु होस्।







