छोटो कपालले आधि अनुहार ढाकेको एक किशोरीले गिटारको धुनमा गाएको 'म धेरै माया गर्छु' बोलको गीत आज भन्दा एक दशकभन्दा अगाडीको समयदेखि नै धेरै युवा पुस्ताको मोबाइलमा सुरक्षित राखेको पाइन्थ्यो।
युट्युब र सामाजिक सञ्जाल प्रयोगको चलन नभएको समयमा सो गीत मोबाइलको ब्लुटूथबाट साटासाट गर्दा गर्दै भाइरल बनेकी ती किशोरी थिइन् नट्टु शाह।

"कम्प्युटरको हेडसेटबाट आफ्नो गीत रेकर्ड गरेर एमपी थ्री फाइल फर्स्ट टाइम मैले बनाएर फोनमा राख्दा मेरो साथीहरूलाई एकदम मन परेको भएर मैले त्यति बेलामा ब्लुटूथ ट्रान्सफर गरेको थिएँ।"
'नट्टुज सङ्ग' नामको त्यो गीतको बारेमा शाहले बिर्सिएको भए पनि ब्लुटूथबाटै साटासाट गरेर धेरैको मोबाइलमा भने सुरक्षित भइसकेको थियो।
आफ्नो गीत नेपालमा मात्र नभएर विदेशमा रहेका नेपालीहरू माझ पनि चिरपरिचित बनेको कुरा उनले बेलायत गए पछि मात्र थाहा पाएकी थिइन्।
त्यस बेला सम्झिँदै उनी भन्छिन्, "मेरो एउटा कजन थियो पहिलो पटक भेटेको थिएँ।… मैले उसलाई मेरो एउटा गीत सुन्छौ भनेर सोधेँ हैन अनि हुन्छ भन्यो अनि मैले गीत बजाएँ अनि पछि त गीत गाउन थाल्छ ऊ पनि।"
उसैले त्यो गीत आफ्नो हो भनेर दाबी गर्न युट्युबको बारेमा बताएको शाहको भनाइ छ।
नट्टु शाह पहिलो नेपाली युट्युबर?
त्यति बेला नेपालमा युट्युबमा भिडियो राख्ने त परको कुरा युट्युब हेर्ने चलन नै नभएको शाह सम्झन्छिन्।
त्यसैले त कहीँ कतै शाहलाई नेपालको पहिलो युट्युबर पनि भन्ने गरिन्छ।
विश्वभर मै सबैभन्दा पहिले सन् २००५ मा जावेद नामको अकाउन्टबाट 'मी एट द जू' नामको भिडियो युट्युबमा राखिए पनि यो माध्यममा जोडिने नेपालीहरूमा नट्टु शाहको नाम अगाडी नै आउँछ।
र्यापर तथा भ्लगर गिरीश खतिवडा युट्युबमा सन् २००६ मा जोडिएको देखिन्छ भने त्यस पछाडिका चर्चित नामहरूमा नट्टु शाहले सन् २००८ मा आफ्नो अकाउन्ट बनाएको पाइन्छ।
र त्यसको २४ दिनपछि चर्चित युट्युबर सिसन बानिया यो माध्यमसँग जोडिएको देखिन्छ।
युट्युबमा भिडियो सहित गिटार बजाउँदै गाएको त्यो गीतले त्यसपछि अनुहार पायो र नट्टु शाहले पहिचान।

बेलायतमा फिल्म र संगित पढेर नेपाल फर्किए पछि नट्टुले आफ्नो साङ्गीतिक प्रस्तुतिहरूका लागी निकै राम्रो प्रतिक्रिया पाइन्।
उनलाई गीत लेख्ने गाउने भनेको ठुलो भीडका लागी भन्दा पनि आफ्नो भावना राख्ने किसिमका बनाउन मन लाग्छ।
मलाई त्यो आफूलाई फील नहुने तर नाच्ने मात्र गीत बनाउन पनि मन लाग्दैन,आफूले लेखेको आफूले फील गरेको भावनाहरू हुन्छ नि त्यसको बारेमा (बनाउन मन लाग्छ)नट्टु शाह
गीत सङ्गीत गरिरहँदा उनी विभिन्न टेलिभिजनहरूबाट प्रस्तोताका रूपमा समेत देखा परेकी थिइन्।
हिमालय टेलिभिजनबाट प्रसारण हुने हिमालयन रोडिज र कान्तिपुर टेलिभिजनको चर्चित कार्यक्रम कल कान्तिपुर कार्यक्रम सञ्चालन गरेपछि उनको नामको पछाडि कार्यक्रम प्रस्तोताको पनि परिचय थपियो।

नक्कली नानी, घरी घरी, आँखा भरि र जेमिसन बोतल लगायतका दर्जनौँ गीतहरू पस्किएकी शाहले पछिल्लो समयमा आफ्नो साङ्गीतिक कोसेलीहरू निकै छोटो समयको अन्तरालमा नै सार्वजनिक गर्दै आएकी छिन्।
टिकटकमा कमेडी भिडियोहरू बनाएर बालापनका कुराहरू व्यङ्ग्यात्मक हिसाबले पस्कन पनि माहिर छिन् नट्टु शाह।
अरूले भनेका धेरै कुराहरूले जानिँदो नजानिँदो तरिकाले असर पार्ने र त्यसलाई ठट्टाको संज्ञा दिएर पन्छन खोज्ने प्रवृत्ति प्रति पनि उनले आफ्ना भिडियोहरूमा कटाक्ष गर्ने गर्दछिन्।

"मलाई लाग्छ नेपालमा चाहिँ प्राय मान्छेहरूले के जिस्केर हार्ष कुराहरू भनिन्छ के जुन चाहिँ निकै गलत कुरा हो।" उनी भन्छिन्।
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूको आवाज
उनले आफ्ना धेरै अन्तर्वार्ताहरूमा आफू समलिङ्गी भएको कुरा बाहिर ल्याउन आफ्नो अत्यन्त नजिकको साथी निलु डोमा शेर्पाले धेरै साथ र समर्थन दिएको सम्झने गर्छिन्।
चलचित्र निर्देशक शेर्पाको हृदय घातका कारण सन् २०१७ मा निधन भएको थियो।
शाहलाई सुरुवातमा समलिङ्गी भएको कुरा खुलेर भन्न अप्ठ्यारो लाग्दा शेर्पाले नै उनलाई प्रोत्साहन दिएको बताउने गरेकी छिन्।
शेर्पा आफैँ पनि समलिङ्गी भएको कारण उनले आफूलाई राम्रोसँग बुझेको शाहले बताउँदै आएकी छिन्।
नट्टु शाहलाई आफू समलिङ्गी भएको भोगाइ परिवार बुझ्ने भएका कारण त्यति तितो नरहे पनि समाजले यस समुदाय प्रति राख्ने धारणाले भने चिन्तित बनाउँछ।
पहिले सार्वजनिक रूपमा आफ्नो व्यक्तिगत जीवन र आफ्नो लैङ्गिकताका बारेमा खुलेर बोल्न मन नलाग्ने गरेको उनको भनाइ छ।

परिवारको समर्थनले गर्दा आफ्नो अनुभव राम्रो भएकोले आफूले भनेको कुराले समुदायमा के प्रभाव पार्ला र भन्ने पनि उनको सोचाइ थियो।
आफूले यस समुदायका मानिसहरूलाई आफ्नै परिवारहरूले घरबाट निकाल्दिने, कुट्ने, पिट्ने र मृत्यु सम्मको घटनाको बारेमा सुन्ने गरेकोमा आफूले उनीहरूको समस्यालाई कसरी प्रतिनिधित्व गर्न सक्छु भन्ने आशङ्का रहेको शाहले बताइन।
"मलाई चाहिँ ला मेरो पेरेन्ट्सले मलाई एक्सेप्ट गरिदियो अनि मेरो त सजिलो छ मैले त के बोल्ने होला? त्यस्तो सोच्थेँ।"
तर सकारात्मक भोगाइले पनि मानिसहरूलाई प्रेरित गर्न सक्छ भनेर एलजीबीटीआइक्यु प्लस समुदायको अधिकारका लागी आवाज उठाउने मितिनी नेपालकी संस्थापक अध्यक्ष लक्ष्मी घलानले नट्टु शाहलाई यो अभियानमा जोडिन प्रेरित गरेको उनले बताइन्।
२१ औँ शताब्दीमा रहेर पनि सोचाई १६ औँ शताब्दीको रहेकोले जात र सामाजिक प्रतिष्ठाका कारण मानिसहरूलाई आफ्नो प्रेम सम्बन्ध जोगाउन गाह्रो हुने नेपाली परिवेसमा तेस्रो लिङ्गी नेपालीहरूले भोग्नु परेका पिडा निकै मार्मिक भएको शाह बताउँछिन्।
उनी अनुमान गर्छिन्, "मेरो जेनेरेसनकै कति जना छ होला अहिले पनि जो बाहिर आएनन्, जसले सम्भवतः विवाह गरेर गए र उनीहरूले आफ्नो लैङ्गिकता बिर्सिए होला।"
"समाजमा मुख देखाउन लायक हुन्छ भन्दैमा उनीहरूले आफ्नो फेमिलीको लागी र सोसाइटीको लागी अर्कै जीवन जिइराखेको पनि हुन सक्छ।"

तर अहिले भने इन्टरनेटको माध्यमबाट यस समुदायका मानिसहरू बाहिर आउन र आफू एक्लो रहेन छु भन्ने बुझाइ पाइने गरेको उनको भनाइ छ।
"(इन्टरनेटको माध्यमबाट) एउटा ग्रुप, एउटा कम्युनिटी भेट्टाइन्छ जसले यसकै बारेमा कुरा गरि'रा हुन्छ र यसले गर्दा तपाइलाई आफू एक्लो रहेन छु भन्ने अनुभव हुन्छ।"
यसले गर्दा उनीहरूलाई आफ्नो लैङ्गिकतालाई लिएर खुलेर बाहिर आउन पनि आत्मविश्वास दिलाएको उनको बुझाइ छ।
अस्ट्रेलिया बसाइ र पढाइ
अहिले नट्टु शाह साउन्ड इञ्जिनियरिङ्गको अध्ययनको सिलसिलामा अस्ट्रेलियामा रहेकी छिन्।
यस अघि लन्डनबाट सङ्गीत र फिल्मिङ अध्ययन गरेकी उनको पहिलो रोजाइ भने अस्ट्रेलिया थिएन।

उनी भन्छिन्, "इमान्दार भएर भन्नु पर्दा अस्ट्रेलिया चाहिँ मेरो लिस्टमा नै थिएन। म कि त सिंगापुर, अमेरिका कि लन्डन नै भनेर सोचिरा'को थिएँ।"
अस्ट्रेलियाको मिडिया उद्योग अमेरिका, बेलायतको तुलनामा सानो नै रहे पनि यहाँको पढाइको गुणस्तरबाट भने आफू निकै सन्तुष्ट रहेको शाह बताउँछिन्।
उनका अनुसार अस्ट्रेलियामा आफ्नो पढाइ निकै राम्रो भएको परीक्षाको नतिजामा पनि अब्बल नम्बर आएको देख्दा उनलाई आश्चर्य लाग्ने गरेको छ।
मैले मेरो लाइफ भरि सधैँ के सोच्थेँ भने म एउटा कमजोर विद्यार्थी हो। मलाई कहिले पनि अरू सब्जेक्टहरू पचेन, अनि म जहिले पनि त्यो रिजल्ट आउँदा खेरि पनि तलबाट हेर्न थाल्नु पर्थ्यो के.… नाम कहाँ छ भनेर।
अब केही समय अस्ट्रेलियामा आफूले अध्ययन गरेकै क्षेत्रमा केही अनुभव लिएर नेपाल फर्कने उनको सोचाइ रहेको छ।
तर नेपाल फर्किए पछि उनलाई अस्ट्रेलियामा पाएको स्वतन्त्रता भने निकै याद आउने अनुमान गर्छिन्।
साथी भाइहरू आफ्नो जीवनको निकै महत्त्वपूर्ण हिस्सा भएको बताउने शाहलाई नेपालमा साथीहरूले नबोलाई भेट्न आउने र धेरै जस्तो समयमा आफ्नो एक्लोपन बाट छुटकारा पाउने गरेको अनुभव छ।

साथीभाइ र परिवारको साथमा आफूले निकै सहज महसुस गर्ने गरे पनि स्वतन्त्रता भने विदेशमा रहेको उनी बताउँछिन्।
नेपालमा चाहिँ फ्रीडम छैन कम्फर्ट छ, विदेशहरूमा चाहिँ कम्फर्ट छैन तर फ्रीडम छ।
अस्ट्रेलियामा नै पनि धेरै साथीहरू रहे पनि उनीहरूसँग नभेट्दाको समयमा सबै आ-आफ्नै संसारमा हुनाले कसैलाई अरूको जीवनको वास्ता नहुने गरेको उनले पाएकी छिन्।
यो स्वतन्त्रता उनलाई निकै प्यारो भए पनि सम्पूर्ण कुराको जिम्मेवारी आफैँले लिनुपर्ने भएकोले जीवन सहज भने नभएको शाहले बताएकी छिन्।








